सन्ध्या केसी,
नेत्र रोग विशेषज्ञ बन्न डा. सन्दुक रुइतले जे जती मेहनत गरे त्यो भन्दा पनि बढी मेहनत प्रेमिकाका लागि गरे । प्रेमिका पट्याउन भने उनलाई हम्मे–हम्मे नै पर्यो । नन्दा श्रेष्ठ त्रिपुरेश्वर आँखा अस्पतालमा इन्चार्ज थिइन् । डा. रुइत पनि त्यही काम गर्दथे । अपरेसन थिएटरमासँगै काम गर्थे । रुइतलाई नन्दा मन पर्न थालिन् । आफूले मन पराएकीलाई गुमाउन नपरोस् भनेर उनले छिट्टै प्रेम प्रस्ताव पनि राखे तर पहिलो पटक स्वीकार भएन । काठमाडौंकी नेवार परिवारकी छोरी मागेर विजातमा बिहे हुने कुनै गुन्जायस नै थिएन । नन्दा मन परेपछि उनले आफ्नो घरमा भने । केटीका घरमा पनि भने तर दुवै घरमा अनुमति पाएनन् । दिनदिनै हुने भेटले उनीभित्र पलाएको मायाको संसार फैलँदो थियो । ‘म उनलाई बाहिर खाजा खान बोलाउँथे उनी ग्रिन सिग्नल दिँदै आउथिन, ’ प्रेमिल दिनका कुरा सम्झदै उनी भन्छन, ‘उनीसँग मैले सधै आफू प्रेममा परेको कुरा बताउथे ।’ नन्दा भने मान्दिनथिइन् ।
‘अहँ हुन्न, मेरो र तपाइँको जात मिल्दैन, समुदाय पनि मिल्दैन अनि परिवारले पनि स्वीकार्दैनन,’ नन्दा नकार्थिन, ‘परिवारको निर्णय विपरित म जान सक्दिनँ ।’ रुइतले भने पछ्याउन छाडेनन् । बिहे गर्न नमाने पनि नन्दा उनले बोलाएका ठाउँमा भने पुग्थिन् । समाजको डरले भित्र लुकेको प्रेम व्यक्त गर्न भने उनले सकिनन् ।
एक दिन हैन, दुई दिन हैन दुई वर्ष बित्यो रुइतलाई नन्दाको पछि लागेको तर नन्दाले हुन्छ भन्नै सकिनन् । रुइतले हत्ते गरेपछि उनको मायाले पगाल्यो एकदिन । खाजा खाने ठाउँमा एकदिन रुइतले भने, ‘म तिमीबिना बाँच्न सक्दिन तिमी हुन्छ भन बिहे गरौं । पछि बिस्तारै सबै ठीक हुन्छ ।’
यसरी अनेक गरेर उनले फकाएपछि बल्ल नन्दा बिहे गर्न राजी भइन् । परिवारको सदस्य बिना सन् १९८७ मा साथीभाइका माझ तीन हजारमा बिहे भोज गरेको मीठो याद मुटुमै छ उनको । बिहेपछि परिवारले स्वीकार्न निकै समय लगाए । छोरा जन्मेको केही वर्षपछि बल्ल घर भित्र्याए । छोरा सागर डाक्टर बने । छोरी सेराब्ला म्यानेजमेन्ट पढ्दैछिन् । कान्छी छोरी साटेन्ला पनि चिकित्सा नै पढ्दैछिन् ।
Leave a Reply