डा. हिमेशचन्द्र साह,
गर्मी र बर्खाको मौषम सुरु भएको छ । यो बेला तराईमा बढी गरेर सर्पदंशको बिगबिगी हुन्छ । सर्पले कसैलाई हानि पु¥याउनमा मानिसको लापरबाही पनि उत्तिकै जिम्मेवार हुन्छ । सावधानी अपनाउन सके सर्पदंशबाट धेरै हदसम्म जोगिन सकिन्छ ।
बिहान सबेरै ३ बजेदेखि ६ बजेसम्म सर्पले सबैभन्दा बढी डस्ने गरेको पाइएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनी भन्छन्, चर्पी टाढा हुने, बाटो सफा नहुने र टर्च उपयोग नगर्ने बानीले झिसमिसेको यो तीन घन्टामा सर्पदंश बढी हुने गरेको छ । बिहानै चर्पी जाँदा आउँदा होसियारी अपनाउन सके तराईमा सर्पदंशको घटना दुई तिहाइले घट्न सक्छ ।
इपिडिमियोलजीको तथ्यांकअनुसार मुलुकमा बर्सेनि करिब १० हजार सर्पदंशको घटना हुने गरेको छ । सम्पूर्ण सर्पदंशमध्ये २५ देखि ३० प्रतिशत जति विषालु सर्पको टोकाइ हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानद्वारा प्रकाशित नेपालका विषालु सर्पहरू पुस्तकको अनुसार मुलुकमा सर्पदंश क्षेत्रमा बर्सेनि प्रतिलाख एक सय ६२ जनाले ज्यान गुमाउँछन् । सर्पदंश गर्मी क्षेत्रको ग्रामीण र गरिब जनसमुदायमा बेवास्ता गरिएको एउटा स्वास्थ्य संकट हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आंकलन अनुसार विश्वमा बर्सेनि ५० लाख व्यक्तिलाई सर्पले टोक्ने गरेको छ । यसमध्ये अधिकांश दक्षिणपूर्व एसिया र अफ्रिकाका छन् ।
सम्पूर्ण टोकाइमध्ये करिब २४ लाख विषालु सर्पको डसाइ हुन्छ । बर्सेनि विषालु सर्पको टोकाइले एक लाख २५ हजारसम्म मृत्यु हुन्छ भने करिब चार लाख व्यक्तिको अंग काट्नुपर्नेलगायत अन्य शारीरिक समस्या देखिने गरिएको डब्लूएचओले उल्लेख गरेको छ ।
डब्लूएचओका अनुसार करिब ६ सय प्रजातिका सर्प विषालु हुन्छन् भने यिनीहरूको ५० देखि ७० प्रतिशतसम्मको टोकाइ विषालु हुने गरेको छ । नेपालमा करिब ८९ प्रजातिका सर्प पाइएको तथ्यांक छ । यसमध्ये करिब १७ प्रतिशत सर्प खतरनाक मानिन्छ । डब्लूएचओका अनुसार विषालु सर्पले डसेपछि उपयुक्त एन्टिभेनमसँग तुरुन्त चिकित्सा सेवा आवश्यक हुन्छ ।
जुलाईदेखि सेप्टेम्बरसम्म सर्पको टोकाइ सबैभन्दा बढी हुन्छ । सर्पले टोकेपछि बिरामीलाई तुरुन्त एन्टिस्नेक भेनम उपलव्ध अस्पतालमा पु¥याएर उपचार गराउनुको कुनै विकल्प छैन । मुलुकमा सबैभन्दा बढी गोमन र करेतको टोकाइ हुने गरेको छ । करेतले धेरैजसो राति सुतेको बेला थाहै नहुने गरी डस्ने गर्छ भने गोमनले सामान्यतः दिउँसो कामको समय वा साँझ बिहान डस्ने गरेको छ । पूर्वी नेपालमा गोमन र पश्चिमी नेपालमा करेतको टोकाइ बढी देखिन्छ ।
गोमन र करेतजस्ता विषालु सर्पले टोक्दा हरेक पटक मान्छेलाई मार्न सक्ने मात्रामा विष छोड्न सक्दैन । ड्राई बाइट भनिने यस्तो टोकाइबाट प्रभावितमा विषको लक्षण देखिँदैन । मुलुकमा विषालु सर्पले टोकेकामध्ये करिब १० प्रतिशत जति मात्र ड्राई बाइट हुन्छ । सर्पको विष नलागे पनि वा विषहीन सर्पले टोके पनि पीडितको आत्तिएर समेत ज्यान जाने गरेको छ ।
विषालु सर्पको टोकाइले शरीरमा रासायनिक प्रभाव उत्पन्न हुने मात्रामा विष छोड्न सक्दैन । गोमन सर्पको ३० प्रतिशत टोकाइ, मलयन पिट भाइपर र रसेल्स भाइपरको ५० प्रतिशत टोकाइ र साउ स्केल्ड भाइपरको ५ देखि १० प्रतिशत टोकाइले शरीरमा कुनै पनि प्रकारको विषको लक्षण उत्पन्न हुँदैन । टोके पनि सर्पले आफूसँग संरक्षित राखेको विष शरीरमा हाल्न सक्दैन ।
सर्पको टोकाइमा विषले नभएर आत्तिएर समेत ज्यान जाने घटना प्रशस्त देखिने गरिएकोले बिरामीलाई सान्त्वना दिनु आवश्यक हुन्छ ।
विज्ञहरूको अनुसार सर्प विषलाई सामान्यतः चार वर्गमा बाँडिन्छ । पहिलो वर्ग अन्तर्गतको साइटोटाक्सिनले स्थानीय तन्तु (टिस्यु) लाई क्षतिग्रस्त पार्छ । यस्तै हिमोटाक्सिनले गर्दा आन्तरिक रक्तस्राव हुन्छ । विषमा रहेको न्युरोटाक्सिन स्नायु यन्त्रलाई क्षतिग्रस्त गर्छ र कार्डियोटक्सिनले सीधा मुटुमा असर गर्छ ।
Leave a Reply