हेल्थ टुडे,
काठमाडौं, ४ असार : वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको निधन भएको छ । पूर्व स्वास्थ्य मन्त्री समेत रहेका डा. देवकोटा बिगत आठ महिनादेखि पित्त नलीको क्यान्सरबाट पिडित थिए । पछिल्लो समय उनको दुबै मिर्गौला समेत फेल भएका थिए । न्यूरो अस्पतालले विज्ञप्ति जारी गर्दै डा. देवकोटाको सोमबार ५ बजेर ३५ मिनेटमा निधन भएको औपचारिक जानकारी गराएको छ ।
छ महिना बेलायतको किंग्स कलेज हस्पिटलमा उपचार गराउदा समेत निको नहुने अवस्था देखिएपछि बाकी उपचार आफ्नै देशमा गर्ने डा. देवकोटाको चाहना अनुसार गत महिना उनलाई स्वदेश ल्याइएको थियो । आफैले स्थापना गरेको बासवारीस्थित न्यूरो अस्पतालमा सघन उपचार कक्षमा उनको उपचार भइरहेको थियो । आफू जन्मेको ठाउँको धाराको पानी पिउने र घरको पिढीमा सुस्ताउने उनको अन्तिम चाहना अनुसार डा. देवकोटालाई परिवारले हेलिकोप्टरमा राखेर उनलाई गोरखा पुर्याएर फर्काएका थिए । करिव ३७ वर्ष चिकित्सा पेसामा संलग्न डा. देवकोटाले विशेषज्ञ चिकित्सक उत्पादन गर्न वीर अस्पतालमा चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान ( न्याम्स ) स्थापना गर्नुका साथै वीर अस्पतालमा सर्जरी विभाग स्थापनामा ठूलो भूमिका खेलेका थिए ।
न्यूरो सर्जरीमा एशियामै अब्बल मानिने देवकोटाले आफ्नो चिकित्सकिय जिवनमा ३४ हजार भन्दा बढी न्यूरो सर्जरी गरेका थिए । उनले साडे सात लाख भन्दा बढीको उपचार गरेका थिए । हक्की स्वभावका डा. देवकोटा एसएलसी बोर्डमा दोश्रो भएर युवा अवस्थाबाटै चर्चामा आएका थिए । डा. देवकोटाका तिन वटा छोरी र श्रीमती छन् । डा. देवकोटाको निधनमा चिकित्सक, स्वास्थ्यकर्मीमात्र नभएर अधिकांश सर्वसाधारणले समेत शोक व्यक्त गरेका छन् । समाजिक सञ्जालभरि देवकोटाको निधनमा दुख व्यक्त गरिएको छ ।
Leave a Reply