हेल्थ टुडे,
काठमाडौं : नेपालमा पहिलो पटक गुणस्तर मापन प्रविधि भित्रिएका छ । खिलुङ कालिका सप्लायर्सले अमेरिकी कम्पनीले निर्माण गरेको हाइजिना नामक गुणस्तर मापन प्रविधि (मेसिन) नेपाल भित्र्याएको हो । यो प्रविधिको सहायताले पानी, दूध, औषधि लगायतका पेय पदार्थमा किटाणुको उपस्थिति एटिपी प्रणालीबाट लगभग १५ सेकेन्ड भित्र थाहा पाउन सकिन्छ । यो प्रविधिले पेय पदार्थका साथै अस्पताल, औषधि कम्पनी, होटेल लगायतका स्थानमा भएको टिकाणुको अवस्था पनि तत्काल पत्ता लगाउन सकिन्छ ।
स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले एक समारोहबिच शनिबार राजधानीमा उक्त गुणस्तर मापन मेसिन हाइजिनाको सार्वजनिक गरेर यो प्रविधि स्वास्थ्य क्षेत्रका लागि आवश्यक भएको बताइन् । विश्वमा प्रयोगमा आईसकेका नयाँ नयाँ प्रविधि प्रयोग गर्न ढिला गरेकाले हामीे स्वास्थ्यमा थुप्रै समस्यासंगै जुध्दै आइरहेको दावी गर्दै राज्यमन्त्री अर्यालले भनिन, ‘ विभिन्न पेय पदार्थ र अस्पताल, होटेल, औषधि कम्पनी लगायतका क्षेत्रमा किटाणुको उपस्थिति थाहा पाउन र बेलैमा सतर्क रहन यो प्रविधि सरल र सहज भएकोले यसलाई सरकारले बढावा दिनेछ । ’ तरकारी र फलफुलमा हालिने विषादीका कारण हरेक मानिसको स्वास्थ्य जोखिममा परिरहेको प्रष्ट पार्दै उनले विषादी मिसिएको वा नमिसिएको (अर्गानिक ) थाहा पाउने प्रविधि पनि नेपाल भित्रिनु पर्नेमा जोड दिइन ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले गुणस्तर निरिक्षण प्रविधिले समग्र स्वास्थ्य प्रणालीमा सुधार हुने आशा व्यक्त गरे । हाइजेनियाका प्रतिनिधि युगो गुन्जालो र सहिद अहमदले यो प्रविधि आफैले गुणस्तर सुधार गर्ने नभई गुणस्तरका लागि हुनु पर्ने शुद्घता भए नभएको पत्ता लगाउने बताए । बेलायतलगायत संसारमा सयभन्दा बढी देशमा यो प्रविधि प्रविधि प्रयोग भइरहेको उनले दिए । माइक्रोवाइलाजिस्ट डा. प्रकाश घिमिरेले गुणस्तर मापन गर्न हप्तौ दिन पर्खनु पर्न समस्या यसले समाधान गर्ने बताए । कार्यक्रमका अध्यक्ष खुमा अर्यालले गुणस्तर मापन सम्बन्धी प्रविधि पहिलो पटक नेपाल भित्रिनु खुशीको कुरा भएको बताउदै सरकारी र निजी क्षेत्रले यसको प्रयोगबाट लाभ लिनु पर्नेमा जोड दिए । खिलुङ कालिका सप्लायर्स एण्ड जनरल ट्रेडिङका सिईओ सालिकराम अर्यालले अनुगमन गर्न सजिलो र बैज्ञानिक भएकोले यो प्रविधिले सबैको मन जित्ने विश्वास व्यक्त गरे । अर्यालका अनुसार यो मेसिनको मुल्य दुई लाख १० हजार रुपैया रहेको छ ।
Leave a Reply