क्यान्सरमाथि बिजय प्राप्त गरेका करिव ३० जना यही पुष २७ गते ‘ क्यान्सर सर्भाइभर र्याम्प शो’ मा सहभागी हुने भएका छन् । क्यान्सर निको हुने रोग हो । क्यान्सरको उपचारपछि सहज जिवनयापन गर्न सकिन्छ र क्यान्सरको उपचार नेपालमै संभव छ भन्ने सन्देश प्रभाव गर्न नेपालमा पहिलो पटक र्याम्प शोको आयोजना गर्न लागिएको हो । नेपाल क्यान्सर सर्भाइभर ग्रुपको आयोजनामा र ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरको सहयोगमा सानेपास्थित हेरिटेज गार्डेनमा पुस २७ अर्थात् ११ जनवरीमा ‘सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो’ हुन लागेको हो । यो कार्यक्रमको अवधारणा जन्माउनेदेखि आयोजनासम्मको जिम्मेवारी सम्हालीरेहकी छिन् क्यान्सर विरामी र प्रभावितको क्षेत्रमा सक्रिय र्याम्प शोकी कार्यक्रम संयोजक स्वरूपा श्रेष्ठ । र्याम्प शोका बिषयमा स्वरूपासँग हेल्थ टुडेले गरेको संक्षिप्त कुराकानी :
क्यान्सर सर्भाइभर र्याम्प शोको अवधारणा कसरी आयो ?
नेपाल क्यान्सर अस्पताल खोलेपछि मैले क्यान्सरका विरामीलाई नजिकबाट चिन्ने, बुझ्ने र उहाँहरुकालागि अझ केही गर्ने अवसर मिल्यो । क्यान्सरका विरामीमात्र नभएर उपचारपछि क्यान्सर निको भइसकेका समेत यो रोगका बिषयमा बोल्ने गरेको देखिएन । निको भएकाहरुले हामी त निको भयौ, तपाईहरु पनि उपचारपछि निको हुनुहुन्छ भन्ने कुरा अरुलाई भनिदिएको भए कति राम्रो हुन्थ्यो भन्ने मलाई लाग्दथ्यो । तर उहाँहरु समाजमा खुलेर बोल्न, फोटो खिच्न र घुलमिल हुन नमान्ने अवस्था थियो । यो देख्दा मेरो चित्त दुख्थ्यो । मेरो बिचारमा यो सबै जनचेतनाको अभावले भएको थियो । यस सम्बन्धी ठूलै चेतनामूलक अभियानको आवश्यकता छ जस्तो लाग्दथ्यो । बिस्तारै उपचारपछि निको भएकाहरुसँग यस विषयमा कुराकानी गर्दै गएँ । क्यान्सर प्रभावितहरुको सर्भाइभल ग्रुप पनि छ । उहाँहरुसँग पनि सल्लाह गरे । उहाँहरुले जनचेतनाका लागि क्यान्सर बिरुद्व ¥याम्प शो कार्यक्रम मिलेर गरौ भनेपछि अवधारणाले मूर्त रुप लियो । तिन वर्ष अगाडि मैले देखेको सपना केही दिनमै पूरा हुदैछ ।
किन र्याम्प शो नै आवश्यक भयो त ?
यो कार्यक्रमको एकमात्र उद्देश्य उपचार पछि क्यान्सर निको हुन्छ र यसको उपचार स्वदेशमै संभव छ भन्ने जनचेतना जगाउनु हो । क्यान्सरलाई जितेकाहरुले नै प्रत्यक्ष रुपमा र्याम्प शो सहित आफ्ना अनुभव आदान प्रदान गर्दा अरु विरामीको मनोवल बढ्छ । क्यान्सरको उपचार अहिले स्वदेशमै संभव छ । तर अहिले पनि अरुले थाहा पाउछन भनेर क्यान्सर भयो की उपचारका लागि ठूलो धनरासी बोकेर विदेश जाने प्रवृति छ । विदेशमा स्वदेशको भन्दा दोब्बर खर्च हुन्छ । यही बिषयमा सही जानकारी दिन र क्यान्सर विरामीलाई आत्मबल प्रदान गर्न यो कार्यक्रम गर्न लागेका हौ । उपचार पछि निको भएकाहरुले आफ्नो अनुभव आदानप्रदान गरेपछि यो रोगसँग जुधी रहेकाहरुलाई उत्प्रेरणा मिलोस भन्ने विश्वास लिएका छौ ।
कति जना र्याम्प शोमा सहभागि हुनेछन् ?
हामीले २५ जना छनौट गरेका छौ । जसमध्ये महिलाको संख्या बढी छ । एक जना विदेशी नागरिकले पनि भाग लिदैछन् । अहिले पनि हामी पनि सहभागी हुन्छौ भन्दै फोन आइरहेको छ । अन्तिमसम्ममा ३० जना सहभागी हुनेछन् ।
उहाँहरुलाई कसरी र्याम्पमा सहभागी गराउन सक्नु भयो ?
हो, यो काम त्यति सजिलो थिएन । उहाँहरुमध्ये धेरै जसो गृहिणी हुनुहुन्छ । यस बिषयमा उहाँहरुसँग पटक पटकको भेटघाट, छलफल र यसका विषयमा चेतना जगाएपछि एकएक गर्दै सहभागी गराउन सफल भयौ । उहाँहरु पनि जनचेतनाका लागि र्याम्प शोमा सहभागी हुन तयार हुनुभयो । यसमा प्रशिक्षक डल्ली गुरुङको ठूलो सहयोग रहेको छ । उहाँ आफै पनि प्रभावित हुनुहुन्छ । उहाँले नै मोक्षमा र्याम्प शोका सहभागीहरुलाई प्रशिक्षण दिइरहनु भएको छ ।
उपचारपछि पूर्णरुपमा निको भइसकेकाहरुमात्र सहभागी हुदैछन् की अरु पनि ?
उहाहरु सबै जना उपचारपछि क्यान्सर निको भइसकेका हुनुहुन्छ । उहाँहरुमध्ये कुनैले पनि क्यान्सरको औषधि खाइरहनु भएको छैन । उहाँहरु पूूर्ण रुपमा क्यान्सर विजेता हुनुहुन्छ । अरुलाई सहभागी गराइएको छैन ।
शहरमा हुने यस्ता र्याम्प शोले ग्रामिण क्षेत्रमा के प्रभाव पार्ला ?
शहरी क्षेत्रमा पनि जनचेतना आवश्यकता छ । शहरी क्षेत्रमा जनचेतना जागेपछि ग्रामिण क्षेत्रमा पनि चेतना फैलिन्छ । जनचेतना भन्ने कुरा एकजनाबाट दुई, दुईबाट चार, चारबाट आठ हुदै बढ्दै जाने हो । यो कार्यक्रममा प्रस्तुत हुने क्यान्सर बिजेताहरुको अनुभव आदान प्रदान र मनोवलको संन्देशले ग्रामिण क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने छ । हामीले भविश्यमा ग्रामिण क्षेत्रमा पनि यस्तै चेतनामूलक कार्यक्रम आयोजना गर्ने योजना बनाएका छौ ।
तपाईको बिचारमा क्यान्सरमाथि बिजय प्राप्त गरेकाहरु समेत समाजमा किन खुल्न चाहदैनन त ?
अहिले पनि समाजमा क्यान्सरका विरामीलाई हेर्ने नजर फरक छ । त्यसैले उहाँहरु घरभित्रै बस्न रुचाउनु हुन्छ । कसैले थाहा नपाओस भन्न चाहनुहुन्छ । धेरैले क्यान्सर भएको कुरा थाहा भयो भने छोराछोरीको विवाह नहोला की भन्ने पनि डर हुन्छ । समाजमा सकारात्मक भन्दा पनि नकारात्मक सोच्ने प्रवृति बढी भएकाले उहाँहरु खुल्न चाहनुहुन्न । पछिल्ला दिनमा बिस्तारै परिस्थिति परिवर्तन हुदै छ । अर्को कुरा क्यान्सर भयो की जिवन नै समाप्त भयो भन्ने सोचाई पनि छ । यो सरासर गलत हो । क्यान्सर पनि अरु रोग जस्तो निको हुने रोग हो ।
क्यान्सरका विरामी र उहाँहरुका आफन्तहरुलाई के सुझाव दिनु हुन्छ ?
अब स्वदेशमै क्यान्सरको उपचार संभव छ । विदेश धाइरहनु पर्दैन । विदेशको तुलनामा स्वदेशमा कम खर्चिलो हुन्छ । तर अझै पनि कसैलाई क्यान्सर भइहाल्यो की उपचारका लागि विदेश जाने सल्लाह दिन्छन । विदेश जाउ भन्ने सल्लाह दिन सजिलो छ । तर विदेश जादा लाग्ने खर्चको हेक्का कसैले राखेको पाइदैन । सल्लाह दिनेहरुको लहहलैमा विदेश जान्छन । त्यसको लागि घरखेत बेचिन्छ । विदेश जान सल्लाह दिनेहरुले उपचारका लागि लाग्ने खर्च म दिन्छु भन्न सक्दैनन । निःशुल्क सल्लाह दिनु सजिलो हुन्छ । कत्ति विरामी घरखेत बेचेको पैसाले समेत उपचार नपुगेर फर्कीरहेका छन् ।
Leave a Reply