हेल्थ टुडे,
काठमाडौं, २४ साउन : चर्चित मुटु सल्यचिकित्सक डा. भगवान कोइरालाको आत्मकथा यही दसैं अगाडि नै पाठक समक्ष आउने भएको छ । आत्मकथा लेखन र सम्पादनको काम सकिएको छ । डा. कोइरालाले भने, ‘ सबैजसो काम सकिएको छ । आउदो दशैं अगाडि नै पुस्तक पाठक समक्ष आइसक्ने छ ।’ नेपालमा ओपन हार्ट सर्जरीको सुरुवात गरी त्यसको जग बसाल्न डा. कोइरालाको ठूलो योगदान छ । सहिद गंगालाल हृदयरोग केन्द्रलाई देशकै उत्कृष्ठ मुटु उपचार केन्द्रको रुपमा स्थापित गर्न नेतृत्वदायी भूमिका खेलेका डा. कोइराला अहिले मनमोहन कार्डियो भास्कुलर एण्ड थोरासिस सेन्टरमा कार्यरत छन् । पाल्पामा जन्मेका डा. कोइरालाले मुटु रोगको उपचार सेवा विपन्नसम्म पुर्याउन ठूलो मेहनत गरेका छन् । पैसाको लोभमा फसिरहेका चिकित्सकहरुको भिडमा डा. कोइरालाले आफूलाई सेवालाई पहिलो प्राथमिकतामा राखेका छन् । त्यसैले त उनले आफुलाई नामले मात्र नभएर कामले समेत भगवान प्रमाणित गरेका छन् । डा. कोइरालाले अहिलेसम्म १२ हजार बढीको मुटुको शल्यक्रिया गरिसकेका छन् । पछिल्ला वर्षमा नेपालमा चर्चित व्यक्तिहरुका आत्मकथा प्रकाशित हुने चलन बढ्दो छ । उद्योगपती बिनोद चौधरीदेखि पूर्व प्रधानसेनापति रुग्मांगत कटुवाल, पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेदेखि पत्रकार विजयकुमार पाण्डे, कलाकारहरु हरिवंश आचार्य, मदनकृष्ठ श्रेष्ठ र पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका आत्मकथा प्रकाशित भइसकेका छन् ।
Leave a Reply