मनमोहन मेडिकल कलेजबाट केही दिन पहिले विरामीलाई थाहै नदिई पत्थरीको शल्यक्रिया गर्ने बेला मिर्गौला समेत निकालीदिएको घटनाको छानविन हुनु पर्ने माग सभासद्हरुले राखेका छन् । अस्पतालले यो प्रकरणलाई गुपचुप राख्न खोजे पनि सञ्चारमाध्यममा यस बिषयमा समाचार प्रकाशन भएपछि यो घट्नाले शुक्रबारको संसद् बैठकमा पनि प्रवेश पाएको हो ।
अस्पतालबाटै विरामीको ‘मिर्गौला चोरी’ प्रकरणका बिषयमा संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद रामनारायण विडारीले इमान्दार नेताको नाममा खुलेको अपस्तालले विरामीको मिर्गौला चोरी गरेको खबरले स्तब्ध भएको बताउदै यसमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मिमाथि छानविन हुनु पर्ने माग गरे । उनले भने, ‘अस्पतालको स्पष्टिकरण पढेपछि भयंकर बेइमानी गरेको रहेछ कि भन्ने भन्ने देखियो । यसमा कोको संलग्न छन् ? न्यायिक आयोग बनाएर छानविन गरियोस् ।’ यस किसिमका गम्भिर गल्तीमा समेत छानविन नगर्ने हो भने देशमा मानव अंग तस्करको साम्राज्य चल्ने सम्भावना हुने उनको भनाई थियो ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सम्मानित नेताको नाममा खुलेका अस्पतालहरुलाई व्यापारिक केन्द्र बनाएर कोही व्यक्ति धनाड्य हुने माध्यम बनाउन दिन नहुने बताए । उनले विरामीको मिर्गौला नचोरिएको वा अप्ठ्यारो स्थिति सृजना नभएको भए अस्पतालले किन सम्झौता गर्यो ? भन्ने प्रश्न समेत गरे ।
केही दिन पहिले नुवाकोटका शिव रिमाल पत्थरीको अपरेशन गर्न मनमोहन अस्पतालमा भर्ना भएका थिए । तर पत्थरीको अप्रेसन गर्दा चिकित्सकले उनको मिर्गौला समेत निकालिदिएका थिए । यो कुरा पछि थाहा भएपछि अस्पतालले उनको उपचारमा लाग्ने खर्च नलिने, जागिर लगाईदिने जस्तो सम्झौता गरेर यो घटनालाई गुपचुप राख्न चाहेको थियो । तर, अस्पताल प्रशासनले भने उपचारका क्रममा गम्भीर समस्या आएपछि पीडितको मिर्गौला झिकिएको र त्यो अस्पतालमा सुरक्षित रहेको दाबी गरेको छ । यो प्रस्तावित मेडिकल कलेजमा धार्दिडका सांसद एवं पूर्व मन्त्री राजेन्द्र माण्डे, पूर्व स्वास्थ्य राज्यमन्त्री एवं एमाले नेता डा. बंशीधर मिश्र सहित एमालेका वरिष्ठ नेताहरुको सेयर लगानी छ ।
Leave a Reply