हेल्थ टुडे
स्वास्थ्य सुधारको बिषयलाई प्राथमिकता नदिने प्रदेश–७ का राजनीतिक दलका नेताहरुले यो पालीको निर्वाचनमा भने स्वास्थ्य सुधारका बिषयलाई आफ्नो चुनावी एजेण्डा बनाएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले आफ्नो चुनावी एजेण्डामा गृहजिल्ला डडेल्धुरामा रहेको उपक्षेत्रिय अस्पताललाई स्तरोन्नती गर्ने र सबै प्रकारका विशेषज्ञ सेवा उपलब्ध गराउने समावेस गरेका छन् । उनले आईतबार डडेल्धुरामा आयोजित चुनावी कार्यक्रममा पनि स्वास्थ्यलाई आफ्नो चुनावी एजेण्डा भएको बताएका थिए । एमाले उपाध्यक्ष भिम रावलले पनि अछाम जिल्ला अस्पतालको क्षमता वृद्वि गर्ने, स्तरोन्नति गर्ने र विशेषज्ञ सेवा जिल्लामा उपलब्ध गराउने बिषयलाई चुनावी मुद्दा बनाएका छन् ।
कैलाली ५ की उम्मेदवार एवं सेभ मदर हुडकी संस्थापिका समेत रहेकी आरजू देउवाले आफूले जिते सेती अञ्चल अस्पताललाई ३ सय शैयाको बनाउने बाचा गरेकी छन् । अस्पताल निरिक्षण गर्न गएकी आरजूले शैया अभावमा विरामीले उपचारमा कठिनाई भइरहेको बताउँदै कम्तिमा पनि ३ सय शैयाको अस्पताल आफुले बनाउन तत्काल पहल गर्ने बताइन । सेती अञ्चल अस्पतालमा अहिले १ सय ५० शैयाको छ ।
सेवा सुधिवा भएर पनि विशेषज्ञ चिकित्सक बस्न नमान्ने समस्याबाट गुज्रिरहेको कञ्चनपुरमा रहेको महाकाली अञ्चल अस्पतालको स्तरोन्नती र सुधारलाई कञ्चनपुरका उम्मेदवारहरुले चुनावी मुद्दा बनाएका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता, पुर्व मन्त्री एवं कञ्चनपुर क्षेत्र नम्बर ३ का उम्मेदवार रमेश लेखकले आफ्नो चुनावी एजेण्डामा महाकाली अञ्चल अस्पतालको स्तरोन्नतीलाई प्रमुख मुद्दा बनाएका छन् । दोधरा चादनीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई पन्ध्र शैयाको बनाउने र चौविसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्ने पनि उनको चुनावी एजेण्डा छ । त्यसैगरि कञ्चनपुर ३ कै एमाले उम्मेदवार डा. दीपकप्रकाश भट्टले पनि महाकाली अञ्चल अस्पतालको सुधार र दोधरा चादँनीको स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न बनाउने मुद्दा अगाडि सारेका छन् ।
कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा ख का उम्मेदवार रणबहादुर रावलले पनि आफ्नो प्रमुख चुनावी मुद्दा टिकापपुरमा सुविधा सम्पन्न अस्पताललाई बनाएका छन । बैतडीबाट प्रतिनिधि सभाका उम्मेदवार एवं एमाले नेता दामोदर भण्डारीले पनि बैतडी जिल्ला अस्पतालदेखि पाटन, पुुर्चौडी, मेलौली सबै ठाउँका स्वास्थ्य संस्थामा सधै डाक्टर बस्ने बनाउने मुद्दालाई अगाडि सारेका छन् । एउँटा पनि मेडिकल कलेज नभएको, क्षेत्रिय अस्पताल नभएको र उपचारका लागि सधै सिमापारीको भर पर्नु पर्ने बाध्यतामा रहेका प्रदेश नम्बर ७ का मतदातालाई नेताहरुका चुनावी भाषणले प्रभाव पार्ने भएकाले स्वास्थ्यलाई चुनावी मुद्दा बनाइएको हुन सक्ने जिल्ला जनस्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थी बताउछन । कहिल्यै स्वास्थ्यका मुद्दालाई चुनावी नारा नबनाउने यहाँका नेताहरुले स्वास्थ्य सुधारलाई गम्भिरताका साथ लिएर काम गरे यहाँको स्वास्थ्य अवस्था सुधार आउने उनले बुझाई छ ।
Leave a Reply