हेल्थ टुडे,
काठमाडौँ, ११ मंसिर : नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले चिकित्सा शिक्षाका लागि बंगलादेशका कालो सुचीमा रहेका २१ मेडिकल कलेजमा मात्र भर्नामा रोक लगाइएको जनाएको छ ।
शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले सम्बन्धित मुलुकको आधिकारिक निकायसँगको समन्वयमा केही कलेजमा मात्र भर्नामा रोक लगाइएकाले अन्य कलेजमा नियमितरुपमा नेपाली विद्यार्थी जान सक्ने इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताउनुभयो ।
बंगलादेश सरकारले गुणस्तर र पूर्वाधारका विषयमा प्रश्न उठेपछि ती २१ कलेजमा भर्नामा रोक लगाइएको हो । बंगलादेशमा करिब १५० मेडिकल कलेज छन् । बंगलादेशमा हाल करिब दुई हजार पाँच सय नेपाली विद्यार्थी अध्ययनरत छन् । नेपालका ३० शैक्षिक परामर्श केन्द्रले बंगलादेशका विश्वविद्यालयसँग काम गर्छन् ।
बंगलादेश जाने नेपाली विद्यार्थीको संख्या बढिरहेको समयमा सबै कलेजमा पढ्न नपाउने भन्ने प्रकारको भ्रममा नपर्न संघले आग्रह गरेको छ । इक्यानका उपाध्यक्ष विष्णुहरि पाण्डेकाअनुसार हरेक वर्ष करिब ५०० विद्यार्थी एमबिबिएस अध्ययनका लागि बंगलादेश जाने गर्छन् ।
Leave a Reply