हेल्थ टुडे
अधिकांश डाक्टर बिरामीलाई समय नै दिँदैनन् । उनीहरूका कुरै सुन्दैनन् । बिरामीको अनुहार नै नहेरी खुरुखुरु औषधि लेखिदिएर पठाइदिन्छन् । तर डा. मनीषा मिश्र यी र यस्तै थुप्रै डाक्टरहरूको भीडमा पृथक् छिन् । डा.मनीषाको च्याम्बरमा पुग्ने बिरामीको आधा रोग त उनको मुस्कानबाटै निको हुन्छ । मन्द मुस्कानसहितको बिरामीको कुरा सुन्ने, उनीहरूलाई सल्लाह दिने र रोगको गहिराइसम्म पुगेरमात्र उपचार थाल्ने खुबीका कारण डाइबेटिज तथा डाइरोइड विशेषज्ञ डा. मनीषा छोटो समयमै चर्चित विशेषज्ञका रूपमा आफूलाई उभ्याउन सफल भएकी छन् ।
उनको विज्ञताले उनको व्यस्तता बढाएको छ । लगनखेलको पाटन प्याथल्याब, पुल्चोकस्थित सुमेरु सिटी क्लिनिक, बल्खुको बयोधा हस्पिटल र कुलेश्वर पोलिक्लिनिकमा उनले समय मिलाएर डाइबेटिज र थाइराइडका बिरामीलाई सेवा दिइरहेकी छन् । न्यायाधीश महेश्वर मिश्र र मीना मिश्रको कोखबाट २०३८ सालमा भक्तपुरमा डा.मनीषाको जन्म भएको हो । उनको एसएलसी सम्मको पढाई बानेश्वरको ईपीएस स्कुलबाट पूरा गरिन् । त्रिपुरेश्वरको विश्व निकेतनबाट आईएस्सी पूरा गरिन् । उनको सुन्दरता र जीउडाल देखेर उनका साथीभाइले मोडलिङमा लाग्न सुझाव नदिएका होइनन् । तर उनलाई भने त्यसतिर ध्यानै गएन । उनकी आमा मीना डाइबेटिजको बिरामी थिइन् । छोरी डाक्टर भए हुन्थ्यो भन्ने आमाको चाहना थियो । आमाको चाहना र आफ्ना चाहना मिलेपछि मनीषाले डाक्टर पढ्ने संकल्प गरिन् । उनी सन् २००१ मा एमबीबीएस पढ्न चीनको सिन्स्याङ मेडिकल युनिर्भसिटी गइन् ।
एमबीबीएस सकेपछि उनी नेपाल फिर्किइन् । इन्टर्न सकेपछि केही समय नोबेल मेडिकल कलेजमा काम गरिन् । त्यसपछि विशेषज्ञता हासिल गर्न उनी फेरि चीन गइन् । उनलाई आमाको डाइबेटिजको समस्या आँखाका झल्झली आउँथ्यो । त्यसैले उनले डाइबेटिज र थाइरोइड विषयमा बिशेषज्ञता हासिल गरिन् । चीनमै पढ्दा उनको चिनजान अरविन्दकुमार चौधरीसँग भयो । उनी पनि चीनमा विशेषज्ञता हासिल गर्दै थिए । एकले अर्कोलाई मन पराए । पछि नेपाल फर्केपछि दुवै विवाहबन्धनमा बाँधिए । रेडियोलोजिस्ट डा. चौधरी अहिले थापाथलीस्थित प्रसूति गृहमा कार्यरत छन् । विशेषज्ञता हासिल गरेर डा. मनीषा पाँच वर्षपहिले स्वदेश फर्किइन् ।
स्वदेश फर्कनासाथ उनको व्यस्तता धेरै बढ्यो । छोरी डाइबेटिज र थाइरोइड विशेषज्ञ भएर फर्किएपछि आमाको खुीिको सीमा नै रहेन । आफूलाई मात्र नभएर आफूजस्तै यो समस्याबाट पीडित बिरामीको उपचार गर्न आमाले मनीषालाई आशीर्वाद दिइन् । मधुमेह पूर्ण रूपमा निको नभए पनि नियन्त्रण गर्न सकिने रोग हो, डा. मनीषा भन्छिन्, त्यसैले बिरामीलाई काउन्सिलिङ बढी चाहिन्छ । त्यसैले मैले रहेक बिरामीलाई कम्तीमा पनि १५ मिनेट समय दिएकै हुन्छु । डाक्टरप्रतिको बिरामीको विश्वास मर्न नदिन स्वयं डाक्टर नै जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने उनको तर्क छ । भन्छिन्, डाक्टरको खुसी भनेकै बिरामीको खुसी हो । बिरामी दुःखी हुँदा डाक्टर खुसी हुन सक्दैन । राजधानीका चारवटा स्वास्थ्य संस्थामा बिरामीको उपचार गर्नुपर्दा उनी निकै व्यस्त छिन् । बचेको समय उनी संगीत सुन्न मन पराउँछिन् । उनलाई यही नै गीत भन्ने छैन । जुन संगीतले मन आनन्द होस् त्यही संगीत सुन्छु । समाजसेवामा पनि उनी सकेसम्म समय निकाल्छिन् । भन्छिन्, बिभिन्न ठाउँमा हुने निःशुल्क स्वास्थ्य शिविरमा विपन्न बिरामीको सेवा गर्न पाउँदा भित्रैदेखि आनन्द आउँछ । भविष्यमा सुविधा सम्पन्न डाइबेटिज एन्ड थाइरोइड सेन्टर खोल्ने र त्यही विपन्नको उपचार निःशुल्क गर्ने उनको समयना छ । भन्छिन्, केही समय लाग्ला । तर एक दिन यो सपना पनि पूरा हुनेछ ।
पछिल्ला दिनमा डाइबेटिज र थाइरोइडका बिरामीको संख्या निकै बढिरहेको डा. मनीषाको अनुभव छ । एकै पटक धेरै खाने, सागपातमा भन्दा अन्नमा बढी जोड दिने बानीका कारण डाइबेटिज बढिरहेको उनको ठम्याइँ छ । उनी भन्छिन्, अहिले कि डाइटिङका नाममा खाँदै नखाने चलन छ भने अर्कोतिर एकै पटक टन्न खाने । यी दुवै खानपानका व्यवहार स्वस्थ्यकर नभएको उनी बताउँछिन् । डाइबेटिजबाट बच्न उनको सुझाव छ, अन्न कम खाने, सागपात बढी खाने । अहिले बजारमा सुगर फ्रिका नाममा बिस्कुटसहित विभिन्न खाद्यपदार्थ पनि स्वास्थ्यका लागि ठीक नभएको उनको ठम्याइँ छ । पाकेटमा सुगर फ्रि लेख्दैमा हँुदैन । गहँुबाट बनेका खाद्यवस्तु एकदमै कम खानु राम्रो । एकथरीले डाइबेटिज भएपछि भात छुनै हँुदैन भन्छन् । अर्कोथरी रोटीमात्र खानुपर्छ भन्छन् ।
डा. मनीषा भन्छिन्, भात खानै हुँदैन भन्ने होइन । रोटीमात्र खाने भन्ने पनि होइन । जे खाए पनि थोरै थोरै खानुपर्छ । शारीरिक अभ्यासमा जोड दिने र कार्बोहाइटेड कम गर्न सकियो भने डाइबेटिज नियन्त्रण गर्न सकिने उनको सुझाव छ । डाइबेटिज नियन्त्रण गर्न पाँच कुरामा ध्यान दिनै पर्ने उनको प्रिस्क्रिप्सन छ । खानपानमा नियन्त्रण, नियमित अभ्यास, औषधि सेवन, तनावरहित हुने र नियमित स्वास्थ्य जाँच गराउने । डाइबेटिज कन्टोल गर्न सकिएन भने त्यसले मुटु, मिर्गौला, आँखा, नसा र खुट्टामा समस्या पैदा गरेर ज्यान नै जाने जोखिम हुने उनी बताउँछिन् । पुरुषको तुलनामा महिलामा थाइरोइडको समस्या रहेको उनी बताउँछिन् । महिलामा हर्मोनल चेन्ज र अटोइम्युन कन्डिसन बढी हुने भएकाले महिलामा यो समस्या पुरुषको तुलनामा बढिरहेको पाइएको उनी सुनाउँछिन् । पुरुषको तुलनामा थाइरोइडको समस्या महिलामा १० गुना बढी रहेको छ । निकट भविष्यमै उनी लगनखेलको पाटन प्याथ ल्याबमा पनि सेवा दिने भएकी छन् । पाटन प्याथ ल्याबमा डाइबेटिज र थाइरोइडसम्बन्धी विभिन्न परीक्षण अत्याधुनिक प्रविधिमार्फत गर्ने सुविधा भएकाले अझ यसको उपचारमा सहज हुने उनी बताउँछिन् । उनी भन्छिन्, अत्याधुनिक ल्याबमा परीक्षण गरेर उपचार गर्न सकियो भने त्यसबाट उपचार गर्ने र गराउने दुवैलाई सहज हुन्छ ।
Leave a Reply