नमराज भट्ट
बैतडी कुवाकोटकी मानवती रतुकी गाउँमा उपचार सेवा नपाएपछि थालथलो छोडेर उखरमाउलो गर्मीमा धनगढी बसाइ सरिन । बिगत एक वर्षदेखि स्वासप्रस्वासको समस्याबाट ग्रसित मानमतीलाई चिकित्सकले हरेक १५ दिनमा फलोअफमा आउनु पर्ने बताएपछि उनी बाध्य भएर धनगढी बसाई सरेकी हुन । आफू जन्मेको, हुर्केको र गरिखाने पहाड छोडेर तराई झर्न उनलाई कमै थिएन । तर गाउँमा स्वास्थ्य उपचार सेवा नभएपछि बाच्नैकै लागि परिवार सहित उनी धनगढी झरेकी हुन । ‘सेती अञ्चल अस्पतालमा मेरो रोगको उपचार होला की भन्ने आश लिएर घरबार छोडेर बसाई सरेकी हु ।’ सेती अञ्चल अस्पतालमा भेटिएकी मानमतीले भनिन । डडेल्धुरा बेलापुरका सरोजसिह ऐडी पनि डडेल्धुरा उपक्षेत्रिय अस्पतालको उपचारले पेटको रोग निको हुने नदेखेपछि बसाई नै धनगढी सरेका छन् । उनले भने, ‘ उपचारकै लागि पहाडको घरबारी बेचेर तराई झर्ने पर्यो । उतै उपचार भएको भए यहा आउने मन थिएन । ’
रतुकी र ऐडीजस्तै उपचारकै लागि थालथलो छोडेर धनगढी बसाई सरेकाहरु थुप्रै भेटिन्छन सेती अञ्चल अस्पतालमा । सुदूरपश्चिमका पहाडि जिल्लाहरु बैतडी, डडेल्धुरा, दार्चुला, अछाम, बझाङ, बाजुरा र डोटीका हजारौ बासिन्दा उपचार सुविधा नभएकै कारण तराई तिर बसाई सराई गरिरहेका छन । डडेल्धुरामा नाम मात्रको उपक्षेत्रिय अस्पताल छ । त्यहा स्वास्थ्य केन्द्रमा पाइने उपचार सेवा समेत नभएकाले यस क्षेत्रका बासिन्दा उपचार पाउने आशले कैलाली, कञ्चनपुर बसाई सर्ने गरेका छन । पत्नीकै उपचारका लागि डोटीको घरबार बेचेर धनगढीको शान्तिनगर बसाई सरेका डोटीका कपल्लेका धनराज बोकटीले भने, ‘ अधिकांश रोगको उपचार सेती अञ्चल अस्पतालमै हुन्छ । यहा भएन भने पनि सिमापारी जान सजिलो छ । त्यसैले उपचारकै लागि पहाड छोड्नु पर्ने बाध्यता आयो । ’ पैसा खर्च गरेर पनि पहाडमा उपचार सेवा नपाइने भएकाले बाध्य भएर तराई झर्नु पर्ने बाध्यता धेरैको छ । उसैपनि विभिन्न सुविधाको खोजीमा अधिकांश पहाडी जिल्लाका बासिन्दा कैलाली र अञ्चनपुर झर्ने क्रम बढ्दो छ । त्यसमा पनि उपचार सेवाका लागि आउने बर्षेनी बढीरहेको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका प्रमुख शिवदत्त भट्ट बताउछन् । उनी भन्छन, ‘ हरेक व्यक्तिका लागि शिक्षा र स्वास्थ्य नभइनहुने कुरा हुन । उपचार सुविधा नपाएपछि त्यसको खोजी गर्नु स्वभाविक हो । ’ उपचारकै कारण पहाडी जिल्लाबाट विदेशीको सहायतामा सञ्चालित डडेल्धुराको टीम अस्पताल तिन वर्ष पहिले बन्द भएपछि सुदूरपश्चिमका पहाडि जिल्लाका बासिन्दाका लागि सेती अञ्चल अस्पताल आशाको केन्द्र बनेको छ । यहा उपचार संभव नभएका विरामीलाई सिमापारी पलिया, गौरिफन्टा, खटिमा, पिलिभित र लखनउसम्म पठाउने गरिन्छ । संघियता अनुसार क्षेत्र नम्बर ७ मा पर्ने तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा अञ्चल अस्पताल छन ।
डडेल्धुरामा उपक्षेत्रिय अस्पताल छ भने बाकी ६ जिल्लामा जिल्ला अस्पताल छन । स्वास्थ्य मन्त्रालयले गत वर्ष गरेको मूल्यांकनमा बाजुरा बैतडी र अछामले अग्रणी स्थानमा रहेको बताए पनि यी जिल्लाका स्वास्थ्य संस्थाहरुको उपचार सेवा दयनिय नै छ । स्वास्थ्यकर्मि भए औषधि नहुने र औषधी भए स्वास्थ्यकर्मि नहुने समस्या छ । सानातिना रोगको उपचारका लागि समेत औषधि उपचार नपाउने पहाडि जिल्लाका जिल्ला अस्पतालमा गम्भिर प्रकृतिका रोगको पहिचान गर्न उपकरण नभएका झन समस्या देखिएको छ । पछिल्ला वर्षमा पहाडी जिल्लामा सडकको पहूच बढी रहेको छ । तर स्वास्थ्य उपचारको भरपर्दो सेवा उपलब्ध छैन । त्यसैले उपचारकै लागि तराई झर्नेको संख्या बढेको सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति डा. जयराज अवस्थी बताउछन । महाकाली अञ्चल अस्पतालको तुलनामा सेतीमा उपचार सेवा राम्रो छ । सेती अञ्चल अस्पतालमा गत वर्षदेखि आईसियू सेवा समेत सुरु गरिएको छ । सुदूरपश्चिमकै रिफरल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालमा विरामीको चाप हरेक दिन बढ्दै गइरहेको छ । अस्पतालको रकर्ड साखाका कर्मचारी नरबहादुर चन्दका अनुसार गर्मि मौषममा त शैया अभावले भूईमा राखेर उपचार गराउनु पर्छ । २७ लाख जनसंख्या भएको सुदूरपश्चिममा ७५ जना विशेषज्ञको दरबन्दी भएपनि एक दर्जनको हाराहारीमा मात्र कार्यरत छन । सेती अञ्चल अस्पतालमा ५ जना विशेषज्ञ छन भने महाकाली अस्पतालमा ३ जना छन । पहाडि जिल्लामा औलामा गन्न सकिने अवस्थामा मात्र छन । उनीहरु पनि कहिले तालिमका लागि त कहिले काम बिशेषले भन्दै राजधानीमै बस्ने गरेका छन । जिल्लामै बसेर डटेर सेवा गर्ने चिकित्सक मध्ये बैतडीका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. गुणराज अवस्थी छन । तर त्यहा पनि आवश्यक यन्त्र उपकरण अभावले जिल्ला अस्पतालले दिन सक्ने उपचार दिन सकिरहेको छैन । डडेल्धुरा उपक्षेत्रियमा २० जना बिशेषज्ञको दरबन्दी भएपनि अहिलेसम्म सरकारले एकजना पनि पठाउन सकेको छैन ।
डोटी, दार्चुला, अछाम, बाजुरा र बझाङमा विशेषज्ञ चिकित्सक छैनन् । पहाडि जिल्लामा पछिल्ला वर्षमा बर्थिङ सेन्टरको संख्या बढेको छ । तर त्यहा समान्य डेलिभरी बाहेक जटिल किसिमको डेलिभरी गराउन सक्ने क्षमता छैन । सिजरिङ गराउनु पर्ने केसका लागि अन्त नलगी खुशै छैन । पडाडी भेकमा स्थापना गरिएका स्वास्थ्य संस्था पायक पर्ने स्थानमा छैनन् । बस्ती एकातिर छ भने स्वास्थ्य संस्था अर्कैतिर । यसले गर्दा जनताको स्वास्थ्यमा सहज पहूच छैन । क्षेत्रिय स्वास्थ्य निर्देशनालयका निवर्तामन निर्देशक डा. शुशिल प्याकुरेल भौगोलिक रुपले पनि पहाडि क्षेत्रमा स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन चुनौति भएको बताउछन् । तर पहिलेको तुलनामा सुदूरपश्चिमको स्वास्थ्य सेवामा केही सुधार भएको दाबी डा. प्याकुरेलको छ । उपचारकै लागि पहाडी जिल्लाबाट तराई बसाई सराई भइरहेको उनी स्विकार्छन ।
Leave a Reply