आम नेपालीको भान्सामा धेरै उपयोग हुने ल्वाङ पुरानो समय चीनको राजाले आफ्नो मुखमा राख्ने गर्थे । आयुवेर्दिक गुणले भरिएको ल्वाङ चीन र भारतीय उपमहाद्वीपमा दुई हजार वर्षभन्दा बढी समयदेखि उपयोगमा छ । यसमा दन्त क्षयलाई रोक्ने र मुखको दुर्गन्ध हटाउने राम्रो गुण पाइन्छ । ल्वाङमा कामोत्तेजक गुणसमेत पाइने दाबी केही चिनियाँ औषधिविज्ञहरूले गर्छन् । ल्वाङमा कार्बोहाइड्रेट, नमी, प्रोटिन, वाष्पशील तेल, बोसो जस्ता तत्त्व हुन्छन् । यसबाहेक ल्वाङमा खनिज पदार्थ, हाइड्रोक्लोरिक एसिडमा नघोलिने खरानी, क्याल्सियम, फोस्फोरस, फलाम, सोडियम, पोटेसियम, भिटामिन ‘सी’ र ‘ए’ समेत प्रचुर मात्रामा पाइन्छ । पाचनक्रियालाई राम्रो बनाउनमा ल्वाङको महत्त्वपूर्ण भूमिका हुन्छ ।
ल्वाङको काढा, चूर्ण वा तेल सबै रूपमा उपयोग गरिन्छ । ल्वाङको तेलमा यस्तो अंशसमेत हुन्छन् जसले रक्त सञ्चारलाई सामान्य राख्नुको साथै शरीरको तापक्रमलाई समेत नियन्त्रित गर्छ । वान्ता हुँदा भुटेको ल्वाङको चूर्णलाई महमा मिसाएर उपयोग गर्नाले तुरुन्त लाभ मिल्ने आयुर्वेदाचार्यहरू जनाउँछन । चिनियाँ चिकित्सा पद्घतिअनुसार ल्वाङ अपच, अतिसार, गोलकृमिको उपचारमा प्रभावकारी छ । हैजाको उपचारमा समेत ल्वाङ धेरै उपयोगी सावित हुन्छ । यसको लागि चार ग्राम ल्वाङलाई तीन लिटर पानीमा हालेर पानी आधा होउन्जेलसम्म उमाल्नुपर्छ । यो पानीलाई चिसो गरेर खानाले रोगको तीव्र लक्षणलाई तुरुन्त नियन्त्रण गर्न सकिने वैकल्पिक चिकित्सा पद्घतिमा उल्लेख छ ।
दममा समेत ल्वाङ उपयोगी हुने दाबी गरिएको छ । दमका रोगीले ५ वटा ल्वाङलाई ३० मिलिलिटर पानीमा हालेर उमाल्नुपर्छ । यसको काढा बनाएर महसँग दिनमा तीन पटक उपयोग गर्नाले जमेको कफ निस्कनुको साथै दमको रोगीलाई राहतसमेत मिल्छ । आयुर्वेदको अनुसार यदि घाँटी दुखोस, कफ जमेको होस, खोकी आइरहेको होस भने नुनसँग ल्वाङ चपाउनाले तत्काल राहत मिल्छ । यसबाहेको खोकी लाग्दा भुटेको ल्वाङ चपाउनाले राहत मिल्छ । आधुनिक चिकित्सा विज्ञान अन्तर्गत दन्त रोगमा समेत ल्वाङ्गको उपयोग हुदै आएको छ । ( एजेन्सीको सहयोगमा )
Leave a Reply