सन्ध्या केसी
गृह मन्त्रालयमा कार्यरत महिमा शर्माकी छोरी विनीता अहिले ११ वर्षकी भइन् । विनीता अहिले कक्षा ६ मा पढ्दैछिन् । दसैं फूलपातीको दिन विनीता रजस्वला भइन् । पहिलो पटक रजस्वला भएपछि उनी रुन थालिन् । उनले कसैलाई यो कुरा बताउन सकिनन् । पछि उनका साथीमार्फत आमा महिमाले थाहा पाइन् । पछि उनले विनीतालाई सम्झाइन्, यो सामान्य क्रिया हो । सबै महिलालाई हुन्छ आत्तिनु पर्दैन । महिमालाई छोरी यति चाँडै रजस्वला होलिन् भन्ने सोचेकी पनि थिइनन् । त्यसैले उनले यस विषयमा पहिले नै विनीतालाई आवश्यक जानकारी दिएकी थिइनन् । महिमा भन्छिन्, ‘म १७ वर्षमा महिनावारी भएकी थिएँ । छोरी यति चाँडै होलिन् भन्ने त सोचेकै थिइनँ ।’ महिमामात्र नभएर वागमती नर्सरीकी सञ्चालिका भावी रावल पनि १२ वर्ष नपुग्नै नातिनीको रजस्वला सुरु भएपछि अचम्ममा परिन् ।
यति कम उमेरमै महिनावारी सुरु होला भन्ने कसैको दिमागमै थिएन । उनले भनिन्, जमाना बदलिसकेको छ । यी दुई त प्रतिनिधि घटनामात्र हुन् । अहिले किशोरीहरूको महिनावारी हुने उमेर घट्दै गइरहेको छ । पहिले पहिले १५, १६ वर्षमा महिनावारी हुन्थे । तर अहिले शारीरिक स्वस्थ्यता, पोषणयुक्त खानालगायतका कारण १०, ११ वर्षमै किशोरीहरू महिनावारी हुन थालेका छन् । त्यसैले आठ, नौ वर्षकै उमेर महिनावारी हुँदा ध्यान दिनुपर्ने कुरा आमाबुवाले छोरीलाई दिनु आवश्यक भइसकेको छ । स्त्री रोगविज्ञ डा. मीना झाका अनुसार महिनावारी हुने उमेर घट्दै जानु आफैंमा समस्या त होइन । तर यसका विषयमा किशोरीमा पर्याप्त जानकारी नभएपछि महिनावारी नै समस्या र तनाव बन्न सक्छ ।
महिनावारी हुँदा रगत किन आउँछ ? हरेक महिनामा एक पटक किशोरीहरूको योनीबाट रगत बग्छ । पेट दुख्छ । यस्तो पहिलो पटक हँुदा किशोरी अचम्ममा पर्छन् । अस्तिसम्म पिसाबमात्र आउने योनीबाट रगत आएपछि आत्तिन्छन् । उनीहरू यो कुरा सबैलाई भन्न चाहँदैनन् । कोहीकोही त मानसिक तनावमा समेत हुन्छन् । त्यसैले यस बेला महिनावारीका विषयमा सही सूचना दिनुपर्छ । महिनावारी भन्नाले नामैले हरेक महिना घट्ने घट्ना । यो महिलाको यौनांग पूर्ण रूपमा विकास भएको संकेत हो ।
Leave a Reply