डा. हिक्मत रावल,
उच्च रक्तचाप भनेको यस्तो अवस्था हो जसमा रगत प्रवाह हुने रक्तनलीहरूमा चाप बढी हुने गर्दछ । यसले गर्दा रक्तनलीहरूमा क्षति पुग्दछ र ती रक्तनलीहरू बन्द हुने सम्भावना बढाउँछ । अधिकांश बिरामीहरूलाई बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या हुने गर्दछ । केही अन्य समस्या जसमा उच्च रक्तचाप कम उमेरमै देखिन थाल्छ । यसको कारण अरू नै हुन सक्दछ, जस्तैः मिर्गाैलासम्बन्धी रोग, हर्मोनको गडबडी वा लामो समयसम्म स्टोरराइडजस्ता औषधिको सेवन हुन सक्छन् । कम उमेरमै हुने उच्च रक्तचापको कारणलाई सुधार्न सकिन्छ ।
उच्च रक्तचापका लक्षणहरू निम्न प्रकारका छन् :
१. अधिकांश बिरामीहरूमा उच्च रक्तचापको कुनै पनि लक्षण नदेखिन सक्छ । यसै कारण यो रोगलाई थाहा नहुने मृत्युको कारक पनि भन्ने गरिन्छ ।
२. जब रक्तचाप धेरै बढेको हुन्छ, तब टाउको दुख्ने, नाकबाट रगत बग्ने वा चक्कर लाग्ने हुन सक्छ ।
३. लामो समयदेखि उच्च रक्तचापको बिरामीमा रक्तचापका कारण विभिन्न जटिलताहरू जस्तै : मुटुरोग वा मिर्गौलासम्बन्धी रोग वा पक्षघात पनि हुन सक्छ ।
४. तपाईंको परिवारमा यदि कोही उच्च रक्तचापबाट ग्रसित छन् भने तपाईंलाई पनि यो समस्या हुन सक्ने प्रबल सम्भावना हुन्छ । यसका साथै कम शारीरिक क्रियाकलाप, बढ्दो तौल, रगतमा बढ्दो चिल्लोपना, धूमपान गर्नाले वा मधुमेह रोगले उच्च रक्तचाप हुने जोखिम बढाउँछ ।
५. उच्च रक्तचापलाई नियन्त्रण गर्ने विभिन्न औषधिहरू उपलब्ध छन् । त्यसमध्ये चिकित्सकले तपाईंको आवश्यकताअनुसार कुनै औषधि छनोट गर्न सक्नु हुनेछ ।
रक्तचापको दीर्घकालीन नकारात्मक असरहरूबाट बच्न यी औषधिहरू नियमित रूपमा सेवन गर्न जरुरी हुन्छ ।
उच्च रक्तचापको रोकथाम र व्यवस्थापन
(क) आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुपर्दछः
१. सन्तुलित आहारमा बढी जोड दिनुका साथै आफ्नो स्वस्थ तौललाई कायम राख्नु पर्दछ ।
२. खानामा नुनको प्रयोग कम गरी फलफूल, सागसब्जी र दूधबाट उत्पादित चिल्लो कम भएका सामग्रीहरूको उपभोग प्रशस्त मात्रामा गर्नु पर्दछ ।
३. नियमित शारीरिक व्यायाम गर्नु पर्दछ (हप्ताको कम्तीमा पाँच दिनसम्म हरेक दिन छिटो हिँड्ने, कमसे कम ३० मिनेट पौडी खेल्नु राम्रो हुन्छ ।)
४. धूमपान गर्नु हुँदैन ।
(ख) समयमै चिकित्सकसँग परामर्श लिनु पर्दछ । पूर्ण शारीरिक जाँच र उचित परीक्षण गराउनुपर्दछ । प्रायःजसो उच्च रक्तचापबाहेक अन्य असामान्यताको पहिचान हुँदैन ।
(ग) नियमित रूपमा दिनहुँ औषधि सेवन गर्नु पर्दछ । अन्यथा ती औषधिहरू लाभदायी हुने छैनन् ।
(घ) उच्च रक्तचापका बिरामीले आफ्नो रक्तचापको नियमित जाँच गराइराख्नु पर्दछ र साथै चिकित्सकको निर्देशनअनुसार समयसमयमा स्वास्थ्य जाँच गराउनु पर्दछ । यसो गर्नाले तपाईंको रक्तचाप कतिको घटेको वा बढेको छ भन्ने कुरा जान्न सकिन्छ र सोही अनुरूप चिकित्सकले औषधिको मात्रा समायोजन गर्नेछन् ।
(ड) चिकित्सकको सल्लाह बिना तपाईं औषधि सेवन गर्न नछोड्नुहोस् ।
Leave a Reply