हेल्थ टुडे,
काठमाडौं : मस्तिष्क मृत्यु ‘ब्रेन डेथ’ भएका व्यक्तिको अंगदान सम्बन्धी जनचेतना जगाउन नेपाल औषधि उत्पादक संघले धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा अभियान सञ्चालन गर्ने भएको छ । यस सम्बन्धी संघ र केन्द्रबिच समझदायी भएको छ । समझदारी पत्रमा केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ र संघका अध्यक्ष दीपकप्रसाद दाहालले हस्ताक्षर गरेका छन् ।
औषधि उत्पादक संघले आउँदो फागुन १७ गतेदेखि १९ गतेसम्म चितवनमा सञ्चालन हुने नेपाल फर्मा एण्ड हेल्थ एक्स्पोका सहभागीहरुलाई मरणोपरान्त अंगदानका बिषयमा जनचेतना बिस्तार गर्नुका साथै देशभरिका औषधि उद्योगमा कार्यरत कर्मचारीले कार्यक्षेत्रमा समेत जनचेतना जगाउने छ । संघका अध्यक्ष दाहालले नेपालमा ब्रेन डेथ सम्बन्धी कानून बनेको ३ वर्ष बितिसक्दा समेत आवश्यकता अनुसार अंगदान हुन नसकिरहेकोले यस किसिमको अभियानमा मानव अंग प्रत्यारोपण केन्द्रसित सहकार्य गरेर जनचेतना जगाउने काममा संलग्न हुन पाउदा खुबी लागेको बताए । ब्रेन डेथ सम्बन्धी कानून बनाउन दवाव दिने देखि यसलाई कार्यन्वयन गर्नमा केनद्रका कार्यकारी निर्देशक समेत रहेका प्रत्यारोपणविज्ञ डा. पुकारचन्द्र श्रेष्ठको ठूलो योगदान रहेको स्मरण गर्दै यो अभियानलाई देश व्यापी बनाएर सयौं व्यक्तिमा अंगप्रत्यारोपण गरेर जोगाउन सकिने बताए ।
केन्द्रका निर्देशक डा. श्रेष्ठले प्रयाप्त जनचेतनाको कमिले ब्रेन डेथ भइसकेका व्यक्तिको अंगदान गर्न परिवारका सदस्यहरुले आनाकानी गर्ने गरेको पाइएकाले यो अभियानपछि अंगदान गर्नेको संख्या बढ्ने विश्वास व्यक्त गरे । केन्द्रले ब्रेन डेथ भएका व्यक्तिबाट प्राप्त मिर्गौला आवश्यकता अनुसार अन्य व्यक्तिमा प्रत्यारोपण गर्दै आइरहेको छ ।
Leave a Reply