हेल्थ टुडे,
काठमाडौ,२५ चैतः कर्मचारी समोजनप्रति बिरोध गर्दै सरकारी चिकित्सकहरुले आकस्मिक बाहेका सम्पूर्ण स्वास्थ्य सेवा बहिस्कार गरेपछि तीन दिनदेखि सरकारी अस्पतालको बहिरंग सेवा अबरुद्ध भएको छ । चिकित्सकको आन्दोलनको कारण बहिरंग सेवा अबरुद्ध हुँदा दैनिक ४५ हजार बिरामी प्रभावित भएका छन् । आन्दोलनको कारण अस्पतालको ओपिडी मात्र होइन, महिनौँअघि तय भएका अप्रेसन पनि रोकिएका छन् ।
संघीय सरकारअन्तर्गत नै राखेर आफूहरूलाई प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग राखेर शुक्रबारदेखि डाक्टर आन्दोलनमा छन् । कर्मचारी समायोजनका क्रममा सरकारले डाक्टरलाई संघ, प्रदेश र स्थानीय तहमा खटाएपनि डाक्टरहरुले प्रदेश र स्थानीय तहको दरबन्दीमा जान अस्वीकार गरेका छन् । विभेदकारी ढंगले समायोजन गरिएको भन्दै सरकारी चिकित्सक संघ (गोदान) ले शुक्रबारबाट ओपिडी सेवासहित आपत्कालीनबाहेकका अप्रेसन बन्द गरेका हुन् ।
चिकित्सकको आन्दोलनकै कारण मेजर अप्रेसनको तयारीमा रहेका बिरामीले सरकारी अस्पतालमा अब ६ महिनादेखि एक वर्ष समय कुर्नुपर्ने भएको छ । वीर अस्पतालमा सामान्यतः तीनदेखि ६ महिनाअगाडि बिरामीले अप्रेसनको मिति पाउँदैनन् । चिकित्सकको आन्दोलनले समस्या झनै थपेको छ । सरकारी चिकित्सक संघ गोदानका अध्यक्ष डा.दीपेन्द्र पाण्डेले तत्काल माग सम्बोधन नगरिए समस्या झनै जटिल बन्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री केपी ओलीले १८ फागुनमा चिकित्सकको माग पूरा गर्ने सहमति गरेका थिए । तर, सरकारी चिकित्सकले राखेका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन विपरित समायोजनको सूची प्रकाशित गरेपछि चिकित्सकहरु पुनः आन्दोलित भएका हुन् । चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले समायोजन सूची सच्याउन सरकारलाई चेतावनी दिएको छ । सरकारी चिकित्सकले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै संघले तत्काल सूची नसच्याए सामूहिक रूपमा स्वास्थ्य सेवा बहिष्कार गर्न बाध्य हुने संघले चेतावनी दिएको छ ।
तर,सरकारले तीन दिनदेखि अबरुद्ध सरकारी अस्पतालको सेवा सञ्चालनमा कुनै पहल गरेको छैन् । आन्दोलनरत चिकित्सकहरुले भने आफुहरुका माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् । देशभर करिब १४ सय सरकारी चिकित्सक छन् । मुलुकमा ८४ वटा जिल्ला अस्पताल, १० वटा अञ्चल अस्पताल, काठमाडौंमा ५ वटा केन्द्रीय अस्पताल, २ क्षेत्रीय र २ वटा उपक्षेत्रीय अस्पताल छन् ।
Leave a Reply