हेल्थ टुडे,
चितवन,२५ चैतः चितवन मेडिकल कलेजले फर्टिलिटी सेन्टर स्थापना गरेको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मेडिकल कलेजले आइतबार फर्टिलिटी सेन्टरको स्थापना गरेको हो । अस्पतालले अत्याधुनिक प्रजनन संरक्षण सेवासहितको टेस्टट्युब बेबी प्रविधि भित्रयाएको दावी गरेको छ । जहाँ इन विट्रो फर्टिलाइजेसन (आइभिएफ), इन्ट्रा साइटोप्लाज्मिक स्पर्स इन्जेक्सन (आइसिएसएसआई) र भ्रुण बैंकिङ सेवाहरू उपलब्ध हुने अस्पतालले जनाएको छ ।
मेडिकल कलेजले लगानी, प्राविधि एवं जनशक्तिका हिसाबले कठिन भए पनि सरकारको नीतिभित्र रहेर स्वस्थ आमाबुबा र बच्चाका लागि सेवा थप गरिएको जनाएको छ । चितवन मेडिकल कलेजमा दैनिक दुई देखि चार दम्पती निःसन्तानजन्य समस्या लिएर अस्पताल आउने गरेका छन् ।
फर्टिलिटी सेन्टर स्थापनासँगै निःसन्तान दम्पतीको सन्तानको रहर पूरा गर्न विदेश जानुपार्ने बाध्यता हटेको जिकिर गरिएको छ । करिब तीन करोड लगानीमा सेन्टर सञ्चालनमा आएको अस्पतालले जनाएको छ । ००७ सालमा स्थापना भएको चितवन मेडिकल कलेजमा दैनिक दुई हजार सेवाग्राही आउने अस्पतालको तथ्यांकमा उल्लेख छ । कलेजले २८ संकायमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । जहाँ २२ सय विद्यार्थी अध्ययन गर्छन् ।
Leave a Reply