हेल्थ टुडे,
काठमाडौं, २८ जेठ : तराईका ५० प्रतिसत बासिन्दा तातोहावा ‘लु’ का कारण स्वास्थ्य समस्यासँग जुध्ने गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तराईका जिल्लामा गरेको नेपालमा तातो हावा ‘लु’ र त्यसले स्वास्थ्यमा पार्न सक्ने प्रतिकूल प्रभावको बिषयमा गरेको अध्ययनले यो तत्थ बाहिर ल्याएको हो । परिषद्ले नेपालमा तापक्रम बढ्ने प्रवृति, बढ्दो तापक्रमले व्यक्तिमा पारेको प्रभाव र बढ्दो तापक्रमको प्रभावबाट बच्न संस्थागत रणनीति गरि मुख्य गरि ३ वटा बिषयमा केन्द्रित रहेर अध्ययन गरेको थियो ।
अध्ययनका क्रममा परिषद्ले देश भरिका ३३ वटा स्टेसनबाट सन् १९८७ देखिको जानकारीलाई विश्लेषण गर्दा पछिल्ला वर्षमा तराईका जिल्लाहरुमा गर्मी बढ्दै गइरहेको पाइएको छ । तातो हावा ‘लु’ चल्ने तराईका मुख्य तिन जिल्लाका ३१८ जना सहभागीमा गरिएको अध्ययन अनुसार तातो हावाले तराईका ५० प्रतिसत बासिन्दामा कुनै न कुनै किसिमको स्वास्थ्य समस्या समस्या देखिएको पाइएको परिषद्को अध्ययनले देखाएको छ । अत्यधिक गर्मीका कारण अधिकांशमा छाला सम्बन्धी समस्या पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष प्रा. डा. अञ्जनीकुमार झाले तातो हावाका कारण स्वास्थ्य समस्या बढ्दै गइरहेको अध्ययनले देखाए पनि अध्ययनमा सहभागी मध्ये ३० प्रतिसतले बढ्दो तापक्रमबाट बच्न कुनै पनि बचावटका साधन प्रयोग गर्ने नगरेको पाइएको बताए । बढ्दो तापक्रमका कारण तराईका बासिन्दा बढी प्रभावित भइरहेकाले तराईमा यो अध्ययन गरिएको डा. झाले बताए । तातो हावा र यसका असरबारे बच्न तराईमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्ने र व्यक्तिगत र संस्थागत पहल हुनु पनि आवश्यक रहेको अध्ययनले औल्याएको छ । तराईका जिल्लाहरुमा जेठ, असार र साउनमा तापक्रम ४५ डिग्रीसम्म पुग्ने गरेको छ ।
Leave a Reply