हेल्थ टुडे,
काठमाडौ,१४ कात्तिकः अस्वस्थ भएर धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा स्वास्थ्य परीक्षण गराउन गएका प्रधानमन्त्री केपीशर्मा ओलीको रगतमा हानिकारक तत्व क्रियटाइन बढी देखिएपछि अल्ट्रा–फिल्ट्रेसन गरिएको छ । शरीरको एन्टिबडिज हटाउन प्लाज्मा फेरेसिस र हेमोडायलाइसिस गरेभन्दा यो फरक तरिका भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको सबै रिपोर्ट आइसकेपछि डायलाइसिस गर्नुपर्ने वा नपर्ने यकिन हुने चिकित्सकको भनाइ छ । प्रधानमन्त्रीको अनुहार र शरीरका केही भागमा स्वायलिङ (सुन्निने) समस्या देखिएको अस्पताल स्रोतले जनाएको छ । बुधबार ज्वरोसमेत बढेको थियो । विगतमा पनि प्रधानमन्त्री ओलीमा कहिलेकाहीँ यस्तो समस्या देखिँदै आएको थियो । अस्पतालले भने विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको जनाएको छ ।
अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य रहेको र आवश्यक परीक्षण पूरा भएपछि आज बिहानसम्म डिस्चार्ज गरिने जनाएको छ । दसैँअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा नियमित स्वास्थ्य परीक्षण गरेकोमा प्रधानमन्त्री यसपटक सहजताका लागि ग्रान्डी गएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई धपेडी नगर्न र भिडभाडबाट टाढै रहन चिकित्सकहरूले सुझाब दिँदै आएका छन् ।
१२ वर्षअघि प्रत्यारोपण गरेको मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास आएपछि गत साउन र भदौमा प्रधानमन्त्री केपी ओलीले सिंगापुरमा उपचार गराएका थिए । १८ साउनमा सिंगापुर गएका प्रधानमन्त्री ओली त्यहाँको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरेर २७ साउनमा फर्किएका थिए । त्यसको १० दिनपछि ५ भदौमा उनी फेरि सिंगापुर गएका थिए । त्यतिखेर ‘प्लाज्मा फेरेसिस’ गरेर उनी २० भदौमा स्वदेश फर्किएका थिए ।
Leave a Reply