हेल्थ टुडे,
काठमाडौ, २१ असार : कोरोना भाइरस संक्रमणका हिसापले तुलनात्मक सुरक्षित मानिएको राजधानी काठमाडौं नै पछिल्ला दिनमा असुरक्षित हुन थालेको छ । राजधानीका करिब ३० जनाभन्दा बढी कतै नगएका व्यक्तिमा कोरोना भाइरस देखिएपछि विज्ञहरुले राजधानी समेत कोरोनाको उच्च जोखिममा पर्न थालेको भन्दै सतकर्ता अपनाउनु आवश्यक रहेको बताएका छन । जोखिम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाले स्थानीय संक्रमण भए नभएको यकिन गर्न शनिबारदेखि नमुना संकलन सुरु गरेको छ । ‘ शनिबार तीनकुनेमा १ सय १८ जनाको र नख्खुमा १ सय १० जनाको घाँटीको र्यालको नमुना संकलन गरेका छौं,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भने, ‘दुई–चार दिनभित्रै अन्य १० ठाउँसमेत गरी १ हजार २ सय नमुना संकलन गर्नेछौं ।’ धेरै भिडभाड हुने र संक्रमितहरु घुलमिल हुनसक्ने सम्भावित स्थानमा आवतजावत गर्नेहरुको स्वाब परीक्षण गरिने उनले बताए ।
उनका अनुसार काठमाडौंका तीनकुने, शंखमुल, कपन, टोखा, ललितपुरका खुसिबु, नख्खु र भक्तपुरका केही स्थानमा समुदायमै गएर अनुसन्धान गर्नुपर्ने अवस्था देखिएको छ । उनका अनुसार काठमाडौंमा १ सय ९, भक्तपुरमा २८ र ललितपुरमा १७ जना संक्रमित छन ।
भैंसेपाटीमा साढे दुई वर्षे बालकमा कोरोना पोजिटिभ देखिएको थियो । ती बालक र उनका आफन्तको भ्रमण इतिहास थिएन । ‘कतै नगएकामा कोरोना देखिएपछि हामीले ती व्यक्तिको विस्तृत अध्ययन गर्नैपर्छ’, डा. पाण्डेले भने, ‘आखिर कतै न कतै त उहाँहरू संक्रमित व्यक्तिको सम्पर्कमै आएर यो भाइरस बोक्नुभएको होला ।’ उनले संक्रमणको अवस्था थाहा पाउन कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्ने बताए । ‘हामीले ‘स्थानीय तहमा संक्रमण’ अवस्थाबारे थप जान्न स्क्रिनिङ सुरु गरेका छौं, अहिलेसम्म राजधानीमा मात्र होइन, मुलुकभर नै समुदायमा संक्रमण नगएको अवस्था हो ।’
केही विज्ञले उनको दाबीलाई अस्वीकार गरेका छन । एक अध्ययनअनुसार हाल राजधानीको ढलमा समेत कोरोना भाइरस देखिएको दाबी गर्दै जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले भने, ‘ढलमा कोरोना भाइरस देखिनु भनेको संक्रमण भित्रभित्रै सल्केको अवस्था हो ।’ अमेरिका, युरोपलगायत मुलुकबाट हवाईजहाजमा आएका पहुँचवालाहरू एयरपोर्टबाट सिधै घर गएको औंल्याउँदै उनले भने, ‘उनीहरूले घरमै क्वारेन्टाइनमा बस्छु भने तर घरमा बसेरबसेनन् थाहा छैन । यो सरकारको कमजोरी हो ।’
राजधानीमा हालसम्म करिब १० देखि १५ हजार व्यक्तिको पीसीआर परीक्षण भइसकेको डा. पाण्डेले जानकारी दिए । कतै भ्रमण इतिहास नभएका संक्रमित व्यक्तिलाई कोबाट रोग सर्यो भन्ने पहिचान हुन नसक्दा सरकारले स्थानीय व्यक्तिहरूको नमुना संकलन गर्न थालेको हो ।
Leave a Reply