पदमराज जोशी,
डा. चेतराज पन्तमा चेतना जागेदेखि नै डाक्टर बन्ने तीव्र इच्छा थियो । २ कक्षामा पढ्दा नै उनका दाजुले ‘भाइलाई डाक्टर बनाउनुपर्छ’ भन्ने गर्थे । हाइस्कुल पुग्दा नै उनलाई दाजुले एमबीबीएस पढ्नु पर्छ भन्ने सल्लाह दिइसकेका थिए ।
पिताजी धर्मदेव पन्त आयुर्वेदाचार्य । डोटीका गौंडाहरूमा आयुर्वेदालयको विकासमा पिताको ठूलो योगदान रह्यो । उनको खानदान नै आयुर्वेदमा समर्पित थियो । पुस्तौसम्म उनको परिवारमा आयुर्वेदाचार्यहरू भए । सुर्खेतदेखि पश्चिममा सरकारी तवरबाट खुलेका प्रायः आयुर्वेदिक औषधालयहरूमा उनकै परिवारका राज वैद्यहरू थिए । तर परिवारमा आयुर्वेदको साटो एलोपेथिक चिकित्साको डाक्टर बन्ने चाहिँ डा. चेतराज नै पहिला हुन् । आखिर कसरी उनी आयुर्वेदको साटो एलोपेथीको डाक्टर बने अनि कसरी आँखा उपचारमा होमिए ? जीवनको यो मोडसम्म आइपुग्दासम्म आँखा उपचार क्षेत्रमै आफूलाई समर्पित गरेका डा. चेतराज पन्त बिरामीको उपचार गर्ने क्रममा कहिले मधेस, कहिले पहाड त कहिले दूरदराजका गाउँगाउँ डुले । नेत्रज्योति संघका वर्तमान अध्यक्ष डा. पन्तको जीवन बुझ्न आँखामा कुनै लेन्सवाला चस्मा लगाउनै पर्र्दैन । उनको योगदानले नै उनको व्यक्तित्व झल्किन्छ ।
पुस्तान्तरण : आर्युवेदबाट एलोपेथितर्फ
विसं २००३ मा डोटी जिल्लाको हिमशिखर नगरपालिका–उच्चाकोट गाउँमा पिता धर्मदेव पन्त र आमा हरिप्रियाको कान्छो छोराका रूपमा जन्मिएका डा. चेतराज पन्तले कक्षा १ सम्म गाउँमै पढे । त्यसपछि उनले सिलगडीकै पद्म पब्लिक हाइस्कुलमा कक्षा ८ सम्मको पढाइ पूरा गरे ।
उनका दाजुले ‘ब्याचलर्स इन् इन्डियन मेडिसिन’ र सर्जरीको मिश्रित कोर्स पढेका थिए । सोही विषयअन्तर्गतको जागिर पनि पाइसकेका थिए र पहिलो नियुक्ति तौलिहवामा भएको थियो । चेतराज पनि दाजुसँगै तौलिहवा गए र त्यहाँको बुद्ध पद्म हाइस्कुलमा कक्षा ९ सम्म पढे । यसैबीच दाजुको सरुवा बैतडीमा भयो । पन्त चाहिँ थप अध्ययनको लागि काठमाडौं आए । पद्मोदय हाइस्कुलबाट प्रवेशिका र त्रिचन्द्र कलेजबाट आईएस्सी पास गरेपछि उनले तत्कालीन श्री ५ को सरकारको छात्रवृत्तिअन्तर्गत भारतको मैसुर मेडिकल कलेजमा एमबीबीएस पढ्न गए । उनले एमबीबीएस गर्दा सुदूरपश्चिममा मुस्किलले चार जना डाक्टर थिए ।
राजाबाट तीन हजार बक्सिस
एमबीबीएस सकेर नेपाल फर्किएपछि डा. पन्तले सुरुमा वीर अस्पतालमा स्वयंसेवकका रूपमा काम गरे । पाँच महिनापछि उनलाई एक वर्षको करार नियुक्ति दिइयो । नौ महिना जति काम गरेपछि उनलाई महेन्द्रनगरस्थित ‘कञ्चनपुर हेल्थ सेन्टर’ पठाइयो । २०२९ साल, फागुन ५ गते कञ्चनपुर हेल्थ सेन्टरमा उनको पदबहाली भयो । तत्कालीन स्वास्थ्य सहायकमन्त्री कमल शाहले आफूसँगै गाडीमा राखेर महेन्द्रनगर लगेको डा. पन्त सम्झन्छन् । कञ्चनपुर हेल्थ सेन्टरमा दैनिक करिब ३० जना बिरामी जँचाउन आउँथे । प्रसूतिका लागि वार्ड थिएन । उनले रेडक्रसबाट चार वटा बेड मगाए र मेडिकल अफिसरले जाँच्ने कोठालाई वार्ड बनाए । पहिलो पटक हेल्थ सेन्टरमा प्रसूति सेवा पनि सुरु भयो । प्रसूति गराउन आउनेहरूको चाप बढ्दै गयो । डा. पन्तले तत्कालीन नगर पञ्चायतका प्रधानपञ्च मोहनबहादुर रावलसँग गएर भने, ‘प्रसूतिका लागि राम्रो वार्ड छैन । बिरामीको चाप बढ्दैछ । अस्थायी रूपमा भए पनि वार्ड बनाउनुप¥यो ।’
प्रधानपञ्च मजाकै थिए । उनले भनेछन्, ‘एउटा अस्पताल नै हामीले किन नबनाउने, चन्दा उठाएर भए पनि बनाऔं ।’ सरकारको पञ्चवर्षीय योजनामा नपरेसम्म अस्पताल निर्माणमा सरकारको आर्थिक सहयोग हुँदैनथ्यो । प्रधानपञ्च रावलले एक दिन डा. पन्तलाई अञ्चलाधीश गणेशमान श्रेष्ठसँग भेट गराए । अञ्चलाधीशसँगको भेटमा डा. पन्तले हेल्थ सेन्टरमा प्रसूतिका लागि आउने र हातगोडा भाँचिएका या अन्य गम्भीर प्रकृतिका बिरामीलाई राख्न बेडहरू नभएको आदि समस्या राखे । अञ्चलाधीशले तत्काल सो क्षेत्रका गन्यमान्य, हुनेखाने र प्रबुद्ध मानिसहरूलाई डाकेर अस्पताल निर्माणका लागि चन्दा सहयोगका लागि अपिल गरिदिए । यसरी अञ्चलाधीश, प्रधानपञ्च, जनताको उदार सहयोग र डा. पन्तको सक्रिय पहलकदमीमा त्यहाँ २५ शय्याको अस्पताल निर्माण भयो । ‘मलाई सम्झना छ, जनश्रमदानमा २५ शय्याको अस्पताल बन्दा उतिबेला १ लाख २५ हजार रुपैयाँ लागेको थियो,’ डा. पन्त भन्छन् । तिनताक राजाबाट पाँचै विकास क्षेत्रमा भ्रमणहरू भइरहन्थे । कञ्चनपुरमै कार्यरत रहँदा डा. पन्तले राजा वीरेन्द्रलाई भेट्ने अवसर पाएका थिए । भेटका क्रममा उनले राजासँग ‘कञ्चनपुरमा जनश्रमदानबाट अस्पताल निर्माण भएकाले २५ बेडको स्वीकृति पाउनुप¥यो’ भन्दै माग राखे । राजाबाट सवारी शिविरबाटै तत्काल २५ शय्याको स्वीकृति दिनू भन्ने निर्देशन भयो’, उनी सम्झन्छन् ।
यति मात्र हैन, त्यसैबेला राजाले ‘राम्रो काम गरेछौ’ भन्दै डा. पन्तलाई तीन हजार रुपैयाँ बक्सिस पनि दिए । कञ्चनपुरमा बस्दा डा. पन्त निकै लोकप्रिय भए । उनी जतिसुकै बेला पनि उपचार गरिदिन्थे । त्यहाँका विरामीहरूसँग स्थानीय भाषामा कुरा बुझाउने सीप उनका थियो । डाक्टर भनेकै पन्त भन्ने छाप त्यहाँका जनतामा प¥यो ।
बैतडी पुगेपछि मिल्यो, गोदबा
तीन वर्ष महेन्द्रनगरमा कार्यरत भएपछि उनको बैतडी सरुवा भयो । त्यतिबेला चिकित्सकहरूका लागि चलन के थियो भने पहाड र मधेसमा कार्यरत रहेपछि बल्ल काठमाडौंंमा सरुवा हुन्थ्यो । मधेस सकेर उनी बैतडीको पहाड उक्लिए । बैतडीमा धेरैजसो समस्या चोटपटकको हुन्थ्यो । रुखबाट लडेर हाड खुस्किएका, मर्किएका र टुटेका बिरामी धेरै आउँथे । हाड भाँचिएका बिरामीलाई उनी पिथौरागढमा एक्सरे गर्न पठाउँथे र एक्सरे रिपोर्ट हेरेर उनी प्लास्टर गरिदिन्थे । ‘उतिबेला हाड भाँचिएपछि भारतमा गएर एक्सरे गर्दा बिरामीको थुप्रै पैसा खर्च हुँदो रहेछ । एक्सरे मेसिन भए बैतडीमै सम्पूर्ण उपचार गर्न सकिने भएकाले मैले एक्सरे मेसिनको व्यवस्था गर्न पहल थालें’, डा. पन्त सम्झन्छन् ।
नभन्दै चन्दा उठाएर एक्सरे मेसिन ल्याइयो । यो अभियानमा रूपबहादुर स्वार र समाजसेवी पृथ्वीराज अवस्थीको ठूलो योगदान थियो । एक्सरे मेसिनसँगै जेनरेटर पनि ल्याइयो । सोही जेनरेटरबाट साँझमा अस्पताल र बजारका घरहरूमा पनि लाइन तानेर बिजुली बालियो । यो २०३४ सालको कुरा हो, बैतडीमा पहिलो पटक बिजुली बत्ती बल्यो । बिजुली बलेपछि हौसिएका जनतासामु डा. पन्तले अस्पताल निर्माणको कुरा राखे । बैतडी जिल्ला पञ्चायतका तत्कालीन सभापति रणबहादुर चन्द, प्रकाश बहादुर सिंह,बलभद्र जोशीलगायतको हौसला र जनताको सहयोगमा त्यहाँ अस्पताल पनि निर्माण गर्न उनी सफल भए । एक्सरे मेसिनदेखि अस्पतालसमेत भएपछि बिरामीलाई धेरै सुविधा भयो ।
यति भइसक्दा सोही क्षेत्रमा राजाको सवारी भयो । राजा डा. पन्तको कामबाट निकै प्रसन्न भए । सो क्षेत्रबाट राजाबाट गोरखा दक्षिण बाहु पदक पाउनेमा डा. चेतराज पन्तको नाम पहिलो नम्बरमा थियो ।
आँखा उपचारमा अर्जुन दृष्टि
डा. पन्तले गरेको कामबाट राजाका अलावा आँखा रोग विज्ञ डा. रामप्रसाद पोखरेल र राजाका निजी चिकित्सक डा. सच्चेकुमार पहाडी पनि प्रसन्न थिए । डा. पोखरेलले नै डा. पन्तलाई आँखारोग विज्ञ बन्नुपर्छ भन्ने सल्लाह दिएका थिए । त्यसपछि डा. पन्तले राजा वीरेन्द्र समक्ष आफू विशेषज्ञता हासिल गर्न पढ्ने जाने इच्छा व्यक्त गरे । ‘कुन विषयमा विशेषज्ञताका लागि पढ्न जाने ?’, राजाले सोधे । ‘आँखा उपचारमा जान्छु’, उनले भने । त्यतिबेलासम्म उनले महेन्द्रनगर र बैतडीमा गरी दुईवटा आँखा शिविर चलाइसकेका थिए र आँखा उपचारमा उनको लगाव बढिसकेको थियो । राजाबाट सवारी शिविरबाटै ‘पढ्न पठाउनू’ भन्ने निर्देशन भयो । उनलाई आँखा विशेषज्ञ पढाउनमा डा. रामप्रसाद पोखरेलको पनि भूमिका छ । केही दिनमै उनी विश्व स्वास्थ्य संगठनको छात्रवृत्तिमा दिल्लीको अल इन्डिया मेडिकल इन्स्टिच्युटमा आँखा चिकित्सा पढ्न गए । त्यतिबेला दिल्ली पढ्न जानेमा डा. पन्तसँगै आँखा अस्पतालबाट दीपबहादुर कार्की पनि थिए । २०३५ सालमा आँखाको विषयमा पढ्न जाने डा. पन्त र डा. कार्की नै पहिलो ब्याजका हुन् । सन् १९७९, जनवरीमा पढ्न गएका उनीहरू १९८१ मा फर्किए । डा. कार्की नेपाल आँखा अस्पतालमा व्यस्त भए भने डा. पन्तले नेत्रज्योति संघको पहिलो आँखा अस्पताल (गेटा) मा आँखा रोगीको उपचारमा आफूलाई समर्पित गर्न थाले । आँखा अस्पतालमा साधन सुविधा केही थिएन । एकजना नर्वेली डाक्टर कोलिस्टार थिए, जो विश्व स्वास्थ्य संगठनबाट आएका थिए । बिस्तारै अस्पतालको भवन बन्यो । सेवा सुरु भयो ।
कैलाली र कञ्चनपुरका गाउँगाउँमा गएर उनले आँखाका प्राथमिक बिरामीको स्थलगत उपचार गरे । आँखाका जटिल बिरामीको सूची तयार गरे । यसक्रममा अस्पताल भवन निर्माण भयो, अपरेसन कक्ष पनि तयार भयो । अनि डा. पन्तकै पहलमा गाउँगाउँबाट संकलित जटिल बिरामीको आँखाको शल्यक्रिया पनि सुरु भयो । ट्रकोमा आदि रोगका कारण बिरामी आँखा बन्द गरेर बसिरहेका हुन्थे । शल्यक्रिया सेवा सुरु भएपछि बिरामीलाई धेरै राहत भयो । गेटा अस्पतालमा उनी दुई वर्ष कार्यरत रहे । यस्तैमा अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयमा पब्लिक हेल्थ अप्थल्मोलोजीको एकवर्षे कोर्सका लागि विश्व स्वास्थ्य संगठनबाट छात्रवृत्ति आयो । सो छात्रवृत्तिअन्तर्गत पढन डा. पन्त अमेरिका गए । जोन हप्किन्स विश्वविद्यालयले विश्वमै पहिलो पटक पब्लिक हेल्थ अप्थल्मोलोजीको एकवर्षे कार्स सुरु गरेको थियो, जसमा विश्वका १४ जनामध्ये नेपालबाट डा. पन्त सहभागी थिए ।
यसरी बसाले, ‘भिटामिन ए’ कार्यक्रमको जग
एक वर्ष अमेरिका पढेर आएपछि डा. पन्त केही समय विश्व स्वास्थ्य संगठनको कार्यालयमा कार्यरत रहे । त्यसपछि उनलाई भैरहवास्थित लुम्बिनी आँखा अस्पताल सरुवा गरियो । डा. पन्त त्यहाँ गएपछि गाउँगाउँमा आँखा शिविर सञ्चालन गरे । मोतीबिन्दुलगायत आँखाको शल्यक्रिया गर्न थाले । सँगसँगै रिसर्च पनि अघि बढाए । तीन वर्षको अन्तरालमा डा. पन्तकै पहलमा लुम्बिनी अञ्चलका पाँच वटा जिल्लामा ‘आई केयर सेन्टर’को स्थापना गरियो, जुन अहिले आँखा अस्पतालमै परिणत भइसकेका छन् । सोही दौरान मर्चवार र लुम्बिनी क्षेत्रबाट धेरैजसो बालबालिका अन्धोपनको समस्या लिएर आए । कारण खोज्दै जाँदा भिटामिन ‘ए’को कमी देखियो । अनि हामीले गाउँगाउँमा स्वयंसेवक परिचालन गरेर त्यस्ता बच्चाहरू खोज्दै भिटामिन ‘ए’ दिन थालियो । त्यसैताक विश्व स्वास्थ्य संगठनको दिल्लीस्थित दक्षिणपूर्वी एसिया कार्यालय (सेरो अफिस)ले जनस्वास्थ्यविज्ञ डा. बोबलाई ६ वटा देशमा भिटामिन ‘ए’को कमीबारे खोजबिन गर्न पठायो । ‘डा. बोब नेपाल आए । उनले भिटामिन ‘ए’का क्षेत्रमा नेपालको लुम्बिनीमा मात्र काम भइरहेको थाहा पाए । उनी मलाई भेट्न आए । हामीले भिटामिन ए चक्की खुवाइएको र यसको कमी भएका आँखा रोगीको उपचार पनि गरिरहेको बतायौ । हाम्रो कामबाट प्रभावित भएपछि डा. बोबले यस क्षेत्रमा रिसर्च गर्ने प्रस्ताव राखे’, डा. पन्त सम्झन्छन् ।
रिसर्चका लागि दुई वर्ष लगाएर प्रपोजल तयार गरियो । नेपाल सरकार र यूएसआईडी, युनिसेफ, विश्व स्वास्थ्य संगठन, सेवा फाउन्डेसन आदिको सहकार्यमा रिसर्च प्रोजेक्ट कार्यक्रम सुरु गरियो । डा. पन्त सोही कामका लागि भरतपुर आँखा अस्पतालमा सरुवा भए । भरतपुर अस्पतालमा डा. जीपी पोखरेल थिए, जो अस्पतालका काम हेर्थे भने डा. पन्त फिल्डमा रिसर्चमै व्यस्त भए । दुई वर्षसम्म ७ जिल्लामा चलेको त्यो रिसर्चमा १० वर्ष मुनिका करिब ६० हजार बालबालिकामाथि भिटामिन ‘ए’को कमी भए, नभएको अध्ययन गरियो । वडावडामा त्योबेला कम्युनिटी हेल्थ लिडरहरू थिए, उनीहरूलाई परिचालन गरियो । अध्ययनकै क्रममा धेरै बालबालिकालाई भिटामिन ए चक्की खुवाइयो ।
महिला स्वास्थ्य स्वयंसेविकाको आधारभूमि
कम्युनिटी हेल्थ लिडरमा महिला र पुरुष दुवै थिए । डा. पन्तको अनुभवमा पुरुषभन्दा महिला नै बढी सो कामका लागि प्रभावकारी देखिए । उनले रिसर्चकै क्रममा बढी मात्रामा महिलालाई परिचालन गरेका थिए । उनीहरू त्यतिबेला परिवार नियोजनका अस्थायी साधन मात्र बाँड्थे ।
बालिबालिकालाई भिटाएन ए चक्की खुवाउन पनि महिला हेल्थ लिडरलाई नै अग्रसर गराउनु उचित ठानेर उनीहरूलाई डाकेर तालिम दिइयो । उनीहरूलाई भिटामिन ए खुवाउने जिम्मेवारी पनि दिइयो । १० वर्ष मुनिका बालबालिकालाई ६–६ महिनामा भिटामिन ए चक्की खुवाएमा अन्धोपन पनि कम हुने र बाल मृत्युदर पनि ३० प्रतिशतले कम हुने देखियो । तर, हेल्थपोस्टमार्फत महिला स्वास्थ्य कार्यकर्ताले त्यसरी औषधि बाँडछन् भन्ने कुरा स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई पत्यार नै लागेन । त्योबेला डा. मथुरा श्रेष्ठ स्वास्थ्य मन्त्री थिए । मन्त्री र विभागका कर्मचारीहरूलाई नै फिल्डमा लगेर देखाएपछि महिलाहरूले काम गर्न सक्दा रहेछन् भन्ने सबैले बुझे । स्वास्थ्य मन्त्रीको सहयोग र डा. पन्तकै पहलमा स्वास्थ्य मन्त्रालयले बालबालिकालाई ६–६ महिनामा भिटामिन ए चक्की खुवाउने कार्यक्रम अघि बढायो । यसमा महिला स्वास्थ्य कार्यकर्तालाई परिचालन गरियो । त्यसैबेला रानी ऐश्वर्यको बैतडी सवारी भयो । त्यसबेला महिला स्वास्थ्य कार्यकर्ताको काम देखेर प्रभावित रानी ऐश्वर्याले यो कामको सम्पूर्ण जिम्मा महिलालाई नै दिनुपर्ने विचार अघि सारिन् ।
महिलाहरूले भिटामिन ए, निमोनिया र डायरियाको औषधि दिन सक्छन् भन्ने भएपछि उनीहरूको महत्व बढ्दै गयो । डा. पन्तले सात जिल्लामा स्याम्पलका रूपमा यस खालको कार्यक्रम चलाएका थिए । पछि त सरकारले उनलाई ३१ वटा जिल्लामा चरणबद्ध रूपमा ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन भयो । यूएसएआईडी र युनिसेफको आर्थिक सहयोगमा डा. पन्त नै निर्देशक रहेर यो कार्यक्रम सञ्चालन गरियो । जिल्ला जनस्वास्थ्य अधिकारीदेखि गाउँगाउँका हेल्थपोस्टमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र स्वयंसेविकासम्म पाँचदिने तालिमहरू भए । यसरी डा. पन्तकै पहलमा एकातिर भिटामिन ए कार्यक्रमको सुरुवात भयो भने कम्युनिटी हेल्ड लिडरको ठाउँमा महिलालाई मात्र राखेर महिला स्वास्थ्य स्वयंसेविकाको पनि स्वास्थ्य क्षेत्रमा उदय भयो । अहिले स्वास्थ्य स्वयंसेविकाको संख्या ५२ हजार पुगिसकेको छ । ‘अहिले सरकार आफंैले यो कार्यक्रम सञ्चालन गरिरहेको छ । मलाई मनैदेखि सन्तुष्टि मिलेको पनि भिटामिन ए कार्यक्रम नै हो, जुन स्वास्थ्य क्षेत्रको सफल कार्यक्रम हो । यो कार्यक्रममा मैले करिब १० वर्ष बिताएँ, विभिन्न जिल्लामा यसलाई विस्तार गरें’, डा. पन्त भन्छन् । अमेरिकाबाट पढेर आउँदा आँखा उपचारमा नेपाल सरकारको आफ्नै अस्पताल थिएन । त्यसैले उनलाई नेत्रज्योति संघमा काजमा पठाइएको थियो । त्यसबेला उनीलगायत एक दर्जन चिकित्सकले नेत्रज्योति संघमा काजमा काम गर्थे ।
राष्ट्रिय योजना आयोगको सदस्य
भरतपुर अस्पतालमा तीन वर्ष रिसर्चको काम सकेपछि केही वर्ष भिटामिन ए कार्यक्रमको विस्तारमा लागेका उनी त्यसपछि सन् १९९७ मा नेपाल आँखा अस्पतालमा सरुवा भए । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा ६ वर्ष कार्यरत रहे । सो अवधिमा उनी क्षेत्रीय निर्देशक भएर दिपायल पनि गए । त्यसपछि उनले काजमा काठमाडौं विश्वविद्यालय अन्तर्गतको स्कुल अफ मेडिकल साइन्सको निर्देशकको रूपमा काम गरे । माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेला २०६६ सालमा उनी स्वास्थ्य, महिला, बालबालिका क्षेत्र हेर्ने गरी राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भए । त्यसैबेला उनकै पहलमा बहुपोषण नीति ल्याइयो । स्वास्थ्य क्षेत्रमा त्योबेला बजेटमा १७ अर्ब छुट्टयाइएको थियो । तर, उनी योजना आयोगमा पुगेपछि त्यसलाई बढाएर २३ अर्ब पु¥याइदिए । २०५९ सालमा डा. पन्त सेवानिवृत्त भए ।
सुदूरपश्चिम मेडिकल विश्वविद्यालयको परिकल्पना
सुदूरपश्चिमको गेटामा निर्माण सम्पन्न भएर सञ्चालनको पर्खाइमा रहेको गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम मेडिकल विश्वविद्यालयको रूपमा सरकारले सञ्चालन अनुमति दिनुपर्छ भन्ने मान्यता डा. पन्तको छ । उनी गेटा मेडिकल कलेजको प्रारम्भिक खाका कोर्ने बेलादेखि नै यसको नेतृत्व गरेर अहिलेको अवस्थासम्म पु¥याएका हुन् । सुदूरपश्चिम मेडिकल विश्वविद्यालयको रूपमा विकास हुन सके यसले सुदूरपश्चिमको चिकित्सा क्षेत्रमा नयाँ युगको ढोका खोल्ने डा. पन्तको धारणा छ । विश्वविद्यालय भयो भने उसले आफैं मातहतका शिक्षण संस्थालाई मान्यता दिन सक्ने र स्वास्थ्यका लागि आवश्यक पर्ने जनशक्ति सुदूरपश्चिममै उत्पादन गर्न सकिने उनको जिकिर छ । भन्छन्, मेडिकल विश्वविद्यालय भएन भने फेरि कुनै कोर्स चलाउन पनि केन्द्रकै मुख ताक्नुपर्ने अहिलेको अवस्था रहिरहन्छ । त्यसैले मेडिकल कलेजको रूपमा भन्दा पनि विश्वविद्यालय बनाउनुपर्छ । सुदूरपश्चिमका ९ वटै जिल्ला अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने र यहाँ अध्ययनरत विद्यार्थीलाई गाउँगाउँ पठाएर रोगको पहिचान र निदानमा संलग्न गराएर छुट्टै किसिमको विश्वविद्यालय बनाउने उनको योजना छ । गेटा मेडिकल कलेज प्रवद्र्धन विकास समितिको अध्यक्ष भएर काम गरेका छन. डा. पन्तले । गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम मेडिकल विश्वविद्यालयका रूपमा छिट्टै सञ्चालन गर्नुपर्ने सुझाव उनको छ । ७२ बिघा क्षेत्रफलमा फैलिएको गेटा मेडिकल कलेजमा अहिलेसम्म करिब साढे ४ अर्ब खर्च भइरहेको डा. पन्त बताउँछन् ।
नेत्रज्योति संघको नेतृत्व सम्हाल्दै
नेत्रज्योति संंघमा डा. पन्त लामो समयदेखि आबद्ध रहे । संघमा पहिला एक कार्यकाल सचिव र तीन कार्यकाल उपाध्यक्ष भए । २०७६ साल, मंसिरदेखि उनी संघको अध्यक्ष छन् । डा. पन्त अध्यक्ष रहेको नेपाल नेत्रज्योति संघ स्वयम्सेवी गैरसरकारी संस्था हो । नेपालमा जति पनि आँखा अस्पताल छन्, त्यसमा स्थानीय जनताको सहयोग छ र त्यसमा जनताबाटै चुनिएको कमिटीले काम गरिरहेको छ । अहिले नेत्रज्योति संघको चार दर्जनभन्दा बढी जिल्लामा संगठन छ । अस्पतालमा सुरुमा भौतिक पूर्वाधार र अन्य कुरामा विदेशी दातृ संस्थाको सहयोग थियो र अहिले पनि छ । अहिले धेरैजसो अस्पताल आफैं सक्षम भएका छन् । ‘आँखा उपचारका क्षेत्रमा नेपाल दक्षिण एसियामै उदाहरणीय छ । हामीले सन् १९८१ मा पहिलो पटक राष्ट्रिय अन्धोपन सर्वेक्षण गरेका थियौं । यसको प्रतिवेदन आइसकेपछि आँखाको क्षेत्रमा काम गर्ने संसारका विभिन्न संस्थाहरू पनि नेपालमा आकर्षित भएका हुन्’, डा. पन्त सम्झन्छन् ।
यी सबै गरेर मुलुकभर नेत्रज्योति संघअन्तर्गत २७ वटा अस्पताल छन् भने १४२ भन्दा बढी आँखा उपचार केन्द्र छन् । यी सबै सहयोग जुटाउन डा. पन्तको पहल उल्लेखनीय रह्यो । अझ, हरेक वर्ष पाँच÷पाँच वटा आँखा उपचार केन्द्र स्थापनाका लागि नेपाल सरकारले आर्थिक सहयोग गर्ने योजना पनि उनी योजना आयोगमा हुँदा नै अघि सारियो र कार्यान्वयन पनि भयो । अहिले पनि विभिन्न शिविर चलाउन र आँखा अस्पतालमा सेवा सुदृढ गर्न सरकारले संघलाई साढे ६ करोड दिइरहेकै छ । ‘मेरो अहिले एउटै ध्यान भनेको आँखा उपचार केन्द्रहरूलाई आत्मनिर्भर कसरी बनाउने भन्नेमा केन्द्रित छ । यसका लागि हामी पालिकाहरूसँग सहकार्य गर्ने सोच बनाइरहेका छौं । पालिकाले ऋणसँगै केही अनुदान दिने र दुई जना तालिम प्राप्त नेत्र सहायकमार्फत सेवा प्रदान गर्ने मोडलमा छलफल चलाइरहेका छौं । यसमा धेरै पालिकाले सकारात्मक रुझान देखाएका छन्’, डा. पन्त भन्छन् ।
Leave a Reply