हेल्थ टुडे,
काठमाडौं, ५ फागुन ओखर खानाले शरीरमा कोलेस्ट्रोलको स्तरमा तीव्र गतिले कमी हुन्छ । यसले रगत नलीलाई झन् बढी लचिलो बनाउँछ र शरीरमा रक्तसञ्चार सहज भई मुटुमा बढी दबाब पर्दैन । ओखरले शरीरमा थर्मोजेनिक प्रभाव उत्पन्न गर्ने हुँदा मुटुको धमनीमा जमेको बोसो घुलनशील अवस्थामा आएर विस्तारै समाप्त हुन्छ । जसले गर्दा मुटुलाई रक्त सञ्चारका लागि बढी मेहनत गर्नु पर्दैन ।
एक मुठी ओखरमा ४ ग्राम प्रोटिन, २ ग्राम फाइबर र म्याग्नेसियम (१० प्रतिशत डीबी) हुन्छ । मानिसका लागि अत्यावश्यक ओमेगा ३, ओमेगा ६ र अल्फा लिनोलेनिक एसिड प्रशस्त हुने एकमात्र फल ओखर हो । ओखरमा भिटामिन बी, भिटामिन ई, म्याग्नेसियम, जिंक, कपर, आयरन, क्याल्सियम र एन्टिअक्सिडेन्टलगायतका प्रशस्त प्राकृतिक खनिज हुन्छ । सेवन गरेको चार घण्टापछि नै ओखरको फाइदा मिल्छ । ओखरको सेवनले अस्थमा, अर्थराइटिस, छालाको समस्या, एक्जिमा र सोराइसिसजस्ता रोगबाट समेत बच्न सकिन्छ । ओखरको नियमित सेवनले मस्तिष्क तेज हुन्छ र स्मरण शक्ति बलियो हुन्छ । पोषकतत्वले भरिपूर्ण प्रोटिनको राम्रो स्रोत रहेको ओखर वर्षभरि नै पाइन्छ । ‘जर्नल अफ न्युट्रिसन’ मा प्रकाशित एक अध्ययनअनुसार एउटा ओखर (२८.३५ ग्राम) मा १ सय ४६ क्यालोरी हुन्छ ।
ओखर खानाले मुटु रोग, क्यान्सरलगायत अन्य रोगको जोखिम कम हुने अनुसन्धानहरूले देखाएका छन । पुरुषको शुक्रकीट बढाउनमा समेत ओखर सेवनले महत्वपूर्ण भूमिका खेल्छ । पुरुषको प्रजनन स्वास्थ्य र क्षमतामा ओखरको सेवनले सकारात्मक प्रभाव पार्छ ।
एक अध्ययन अनुसार दिनहुँ ७५ ग्राम ओखर सेवनले २१ देखि ३५ वर्ष उमेरसमूहका स्वस्थ पुरुषमा शुक्रकीटको जीवनशक्ति, गतिशीलता र सामान्य आकृतिमा सुधार देखिएको छ ।
यति मात्रै नभई ओखरका अन्य धेरै फाइदा छन् । ओखर सेवनले पाचनक्रियालाई राम्रो बनाउनुका साथै रगतमा कोलेस्ट्रोलको स्तर कम गर्छ र पेटसम्बन्धी समस्याबाट छुटकारा दिलाउँछ । ओखरको नियमित सेवनले पेटमा भएका कीराबाट समेत मुक्ति पाइन्छ । ओखर भुटेर खानाले खोकीको समस्यामा समेत राहत पाइने आयुर्वेदमा उल्लेख छ । ओखर सेवनले प्यांक्रियाज ग्रन्थीमा हुने क्यान्सरबाट बच्न पनि सहयोग पुग्छ । यसले महिलामा हुने स्तन क्यान्सरको सम्भावनालाई पनि कम गर्छ । रगत जम्नबाट रोक्न र डाइबिटिजबाट बच्न पनि ओखर सेवन लाभदायक हुन्छ ।
एजेन्सीको सहयोगमा
Leave a Reply