डा. गोकुल मिश्र,
“हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौं : प्रतिबद्दता, लगानी, वितरण” भन्ने मूल नाराका आधारमा नेपालको क्षयरोग कार्यक्रमका उपलब्धीहरु, वर्तमान अवस्था र भावी कार्यको रुपरेखा :
सन् १८८२ मा वैज्ञानिक रवर्ट ककले क्षयरोगको ब्याक्टेरिया पत्ता लगाउनु भएको महत्वपूर्ण दिन र योगदानलाइ स्मरण गर्दै, किटाणु पत्ता लागेको १०० बर्षको उपलक्ष्यमा सन् १९८२ देखि बिश्व क्षयरोग दिवस संसारभर २४ मार्चका दिन विभिन्न कार्यक्रम गरि मनाउने गरिएको छ । नेपालमा पनि यस दिनलाइ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विभिन्न प्रदेश तथा स्थानियतहमा सरकारी तथा गैरसरकारी निकायहरुले विभिन्न कार्यक्रमका साथ मनाउदै आइरहेकोछन l यस बर्ष २४ मार्चलाई बिश्व स्वास्थ्य संगठनले “हो! हामी क्षयरोग अन्त्य गर्न सक्छौं: प्रतिबद्दता, लगानी, वितरण” भन्ने मूल नाराका साथ मनाउन अभिप्रेरित गरेकोछ l यस अवसरमा नेपालले पनि विभिन्न कार्यक्रमका साथ सप्ताहब्यापी रुपमा यस वर्षको बिश्व क्षयरोग दिवस मनाई रहेकोछ l यस सन्दर्भमा नेपालको क्षयरोग कार्यक्रमका वर्तमान अवस्था, उपलब्धीहरु, नेपालबाट अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरमा गरिएका प्रतिवध्दताहरु र भावी कार्यको रुपरेखाको छोटकरीमा विवेचना गर्ने प्रयास गरिएको छ l
क्षयरोगको बर्तमान अवस्था
नेपालमा क्षयरोग कार्यक्रमको इतिहासमा पहिलो पटक सन् २०१८/१९ मा TB Prevalence Survey सम्पन्न भएको थियो जसले बार्षिक रुपमा क्षयरोग बिरामीको नया अनुमान निर्धारण गरकोछ जसमा नया पुराना बिरामी (Prevalence) संख्या ४१६/१०००००, नया क्षयरोग बिरामी (Incidence) संख्या २४५/१००००० र मृत्यु (Mortality ), ५८/१००००० जनसंख्यामा रहेको तथ्य दिएकोछ । जुन संख्या पुर्बअनुमान गरे भन्दा १.८, १.६ र ३.१ गुणाले बढी हो । यस तथ्यलाई मनन गरि हालको पन्च बर्षीय रणनीतिक योजना २०२१/२२ देखि २०२५/२६ तयार गरि कार्यनवयनमा रहेकोछ ।
यसै सर्वेक्षणबाट Drug Resistance (DR) TB का बिरामी बार्षिक रुपमा २,२०० हुने अनुमान गरेता पनि यो अनुमान बिश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२३ सम्ममा केहि बृदि भई २,९०० पुगेकोछ जुन १ जना प्रतिलाख जनसंख्या हुन्छ । यो अनुमान TB Prevalence Survey ले अनुमान गरे भन्दा ३२% ले बढी हो ।
नेपालमा बार्षिक रुपमा अझै अनुमानित संख्याको करिब ४१% Drug Sensitive (DS) Tuberculosis का बिरामीहरु क्षयरोग कार्यक्रमको दायरामा आउन सकेका छैनन् भने DRTB का बिरामीहरु अनुमानित संख्याको करिब ८०% निदान तथा उपचारको दायरामा आउन सकेका छैनन् ।
उपलब्धिहरु
• आ. व २०८०/८१ मा करिब चालिस हजार क्षयरोगका बिरामी पत्ता लागि उपचारमा आएका छन् यो अघिल्लो आर्थिक बर्षको तुलनामा ८% ले बढी हो र सन् २००० देखि २०२४ सम्मको तथ्यांकलाई हेर्दा करिब सात लाख २० हजार क्षयरोगका बिरामीहरुले क्षयरोगको उपचार पाई रोग मुक्त भएका छन् ।
• DSTB बिरामीको उपचार सफलता दर ९२% र DRTB को उपचार सफलता दर ७७% भन्दा बढी रहेको छ ।
• देशभरि DSTB का लागि ६ हजार भन्दा बढी उपचार केन्द्र र DRTB का लागि १०० भन्दा बढी उपचार केन्द्र/उपकेन्द्रहरु मार्फत क्षयरोगको उपचार ब्यबस्थापन भइरहेकोछ । साथै आर्थिक रुपमा कमजोर DRTB का बिरामीहरुका लागि सात वोटा आवासीय सुबिधा सहित होस्टल ब्यबस्थापन र उपचार केन्द्रमा आई औषधी सेवन गर्ने बिरामीका लागि मासिक तिन हजार यातायात तथा पोषण भत्ताको व्यवस्थापन भइरहेको छ ।
• क्षयरोगको अन्त्यका लागि क्षयरोग मुक्त नेपाल अभियान १२५ भन्दा बढी स्थानीयतहमा कार्यान्वयन भइरहेको छ ।
• नेपाल भरि ९०० सय भन्दा बढी रोग निदान केन्द्र र १२५ भन्दा बढी GeneXpert केन्द्रहरु मार्फत क्षयरोगको निदानात्मक सेवाको सुदृढीकरण भइरहेको ।
• राष्ट्रिय क्षयरोग केन्द्रको हातामा छातीरोग अस्पताल बनि क्षयरोगको बिशेसज्ञ सेवाको लागि आवश्यक तयारी भइरहेको छ।
नेपालबाट क्षयरोग रोकथाम तथा नियन्त्रणका लागि गरिएका प्रतिबद्दताहरुः
१.सन् २०१७ नोवेम्बेर १६ र १७ मा रसियाको मस्कोमा सम्पन्न भएको WHO- Global Ministerial Conference on Ending TB in Sustainable Era मा नेपालले SDG र WHO END TB Targets प्राप्तिका लागि प्रस्तावित Multisectoral Response कार्यान्वयन गर्न प्रतिबद्दता जनाएको छ ।
२.सन् २०१७ को मार्चमा बिश्व स्वास्थ्य संगठनले भारतको नयाँ दिल्लीमा आयोजना गरेको Delhi Call for Action मा नेपालका तत्कालिन स्वास्थ्य मन्त्रीज्युले गरेको प्रतिबद्दता ” The Government of Nepal highly prioritizes the response to End TB and is committed to reducing the people’s suffering from this preventable and treatable illness.”
३.यसैगरि सेप्टम्बर २०१८ मा संयुक्त राज्य अमेरिकाको New York मा सम्पन्न UNHLM meeting on ” Unite to End TB : An urgent global response to a global epidemic मा समेत नेपाल सरकारले प्रतिबद्दता गरेको छ ।
४.सन् २०१८ को December मा सार्क TB / HIV AIDS Centre ले प्रतिनिधि सभाका स्वास्थ्य तथा शिक्षा समितिका माननीय सदस्यज्युहरु संग गरेको अन्तरक्रिया कार्यक्रममा गरेका सात प्रतिबद्दताहरुले समेत क्षयरोग अन्त्यका लागि कोशेढुंगाका रुपमा कार्य गर्न सक्नेछन ।
५.सन् २०२१ को October मा WHO-SEARO ले आयोजना गरेको मन्त्रिस्तरिय बैठकले अन्तरराष्ट्रिय स्तरमा गरेका प्रतिबद्दताहरु कार्यान्वयन गर्न पुन:प्रतिबद्दता गरि नेपालमा क्षयरोग अन्त्यका लागि आवश्यक पहल गरेको छ ।
६.त्यसैगरि बिश्व क्षयरोग दिवस २०२१, २०२२, २०२३, २०२४ का उपलक्ष्यमा नेपालका सम्माननीय प्रधानमंत्रिज्युहरु, माननीय मन्त्रीज्युहरु, नेपाल सरकारका स्वास्थ्य सचिबज्युहरु र स्वास्थ्य सेवा बिभागका महानिर्देशकज्युहरुले क्षयरोग मुक्त नेपाल अभियान संचालन गरि क्षयरोग अन्त्य गर्ने प्रतिबद्दता गरिएका छन् ।
७.१६ औ पन्चबर्षिय योजनामा राष्ट्रिय क्षयरोग कार्यक्रमलाई प्राथमिकतामा राखी रोग अन्त्यका लागि उल्लेख गरिएको बहु-औषधि प्रतिरोध लगायत समग्र क्षयरोग निदान, उपचार र रोकथामका क्रियाकलाप सहित क्षयरोग मुक्त नेपाल अभियान सन्चालन गर्ने (नेपाली सस्करण-परिच्छेद ५, प्रमुख कार्यक्रम-५.५, बुदा नम्बर ११, पेजनम्बर ११५) र महिला, वालबालिका, जेष्ठनागरिक, लगायत आर्थिक सामाजिक रुपले पिछडिएका वर्ग समुदायमा क्षयरोगबाट हुने आर्थिक व्ययभारलाई कम गर्न स्थानीयतहहरुको समन्वयमा बिशेष कार्यक्रम संचालन गर्न (परिच्छेद ८, प्रमुख कार्यक्रम ८.५, बुंदा नम्बर ५, पेज नम्बर १७२) लाई प्रभाबकारी कार्यान्वयन गर्न नेपाल सरकारले पहल गरेकोछ ।
विश्लेषण: यी माथि उल्लेखित अन्तरराष्ट्रिय तथा राष्ट्रिय प्रतिबद्दताहरुलाई योजना बनाई लागु गरेमा सन् २०३० सम्ममा प्राप्त गर्न राखिएका दिगो बिकास लक्ष्य र सन् २०३५ सम्ममा प्राप्त गर्न तय गरिएका End TB Targets लाई प्राप्त गर्न सम्भव हुनेछ । माननीयमन्त्रीज्युले २७ श्रावण २०८१ मा जारी २५ बुदे प्रतिबद्दता र कार्ययोजना पत्रमा उल्लेखित भक्तपुरमा निर्वाणाधीन छातीरोग अस्पतालको यथासिग्र निर्माण सम्पन्न गरि उचित जनशक्ति र उपकरणको व्यवस्था गरि संचालनमा ल्याइनेछ भन्ने उल्लेख गरिएको भएता पनि यसको कार्यान्वयनमा प्रगति भैइरहेको होला र छिटै परिणाम आऊने क्रममा होला भन्ने कुरामा आसा गर्न सकिन्छ । सन् २०१३ को बिश्व क्षयरोग दिवसको अवसरमा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्युले गर्नु भएको प्रतिबद्दता “क्षयरोगीलाई आवश्यक पर्ने गुणस्तरीय विशेषज्ञ सेवा दिन अन्तरंग सेवासहितको पहिलो केन्द्रीयस्तरको छातीरोग अस्पताल राष्ट्रिय क्षयरोग केन्द्रको परिसरमा निर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोगका लागि समेत मन्त्रालयले सहयोगी भूमिका निभाउन तयार छ” अनुसार अघि बढेको अस्पताल बनाउने अभियान हाल सम्म पनि संचालनमा आउन सकेको छैन ।
माननीय मन्त्रीज्युको २५ बुदे प्रतिबद्दता तथा कार्ययोजनामा समग्र स्वास्थ्य सुधारका बिषयबस्तु समेटीए पनि नेपाल सरकारको १६ औ योजनाको दुई परिछेदमा (परिच्छेद ५, परिच्छेद ८) क्षयरोग मुक्त अभियान र लक्षित वर्गलाई क्षयरोगबाट पर्ने व्ययभारलाई कम गर्न बिशेष कार्यक्रम संचालन गर्ने लक्ष्य राखीए पनि माननीय मन्त्रीज्युको योजनामा नपर्नुमा क्षयरोग मुक्त अभियानका बारेमा कम साक्षतकार भएको हुन सक्दछ ।
निस्कर्ष:
• राष्ट्रिय क्षयरोग कार्यक्रमको आगामी पाँच बर्षीय रणनीतिक योजना २०२६/२७ देखि २०३०/३१ मा माथिका प्रतिबद्दता र १६ औ योजनाका लक्ष्यहरुलाई समेटी योजना तयार गरि प्रभावकारी कार्यान्यन गर्नुपर्दछ ।
• राष्ट्रिय क्षयरोग कार्यक्रमको क्षयरोग ब्यबस्थापन नीति २०१९, रणनीति, निर्देशिका र तालिम पुस्तिकाहरु समयानुकुल परिमार्जित गरि चुस्त दुरुस्त राख्नुपर्ने देखिएकोछ ।
• हाल राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको हातामा संचालन भईरहेको सेवालाई तुरुन्तै अस्पतालको नयाँ भवनमा स्थानान्तरण गरि सेवा सुचारु गर्न सकेमा हाल प्रदान भईरहेका सेवा बिरामीहरुलाई सहज रुपमा उपलब्ध हुने, स्थानीय स्तरमा आशा जाग्ने र नेपाल भरिका बिरामीहरुमा छातीरोगको बिशेसज्ञ सेवा प्राप्त हुने कुरामा बिश्वास बढने हुन्छ । र यो तुरुन्त गर्न सकिने कार्य समेत हो ।
• राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको हातमा निर्माणाधीन छाती रोग अस्पताललाई सेन्टर फर एकसीलेन्स को अवधारणा अनुरुप कार्ययोजना बनाई अगाडी बढाउनु उपयुक्त हुनसक्दछ ।
लगानी
क्षयरोग निदान, उपचार र रोकथाममा गरिएको खर्च लाई खर्च नमानी लगानी मान्ने गरिन्छ, केहि बर्ष अगाडी बिश्व स्वास्थ्य संगठनले गरेको एक अध्यनले १ अमेरिकी डलर क्षयरोग कार्यक्रममा खर्च गर्यो भने ४३ अमेरिकी डलर फिर्ता आउछ भनेर अध्यन प्रतिबेदन सार्बजनिक गरेको थियो भने हाल ग्लोबल फण्डले पनि सोहि प्रकारको सूचना १ अमेरिकी डलर क्षयरोग, मलेरिया र एचआइभीका लागि खर्च गरेमा १९ अमेरिकी डलर फिर्ता आउछ भनेर वेबसाइट बाट संदेश प्रभाह गरेको देखिन्छ l यसरी हेर्दा नेपाल सरकारले पनि क्षयरोग कार्यक्रमलाई प्राथमिकतामा राखी प्रयाप्त मात्रामा बजेट ब्यबस्थापन गर्न खोजेको देखिन्छ तर अझै यो पन्च बर्षीय रणनीतिक योजना २०७८/७९ देखि २०८२/८३ कार्यान्वयन गर्न प्रस्ताब गरिएको बजेटको तुलनामा ५० प्रतिसतले अप्रयाप्त हो l आ व २०७९/८० मा उपलब्ध बजेट हेर्दा नेपाल सरकारले ६०% र ग्लोबल फण्ड लगायतका दात्री निकायले सहयोग गरेको रकम ४०% मात्र देखिन्छ यो बजेट ब्यबस्थापन पन्च बर्षीय रणनीतिक योजनाका लागि तय भएको बार्षिक बजेटको ५०% मात्र हो l नेपाल भित्र अन्य सस्था STOP TB partnership मार्फत र अन्य सस्थाले क्षयरोग अनुसन्धानका लागि खर्च गरिएको विवरण राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमको लागि माथि उल्लेखित बजेटमा समाबेश गरिएको छैन ।
विश्लेषण: हालसम्म क्षयरोग कार्यक्रमका लागि गरिएको लगानी अप्रयाप्त देखिन्छ जसमा नेपाल सरकारको बजेट दात्री निकायको भन्दा २०% ले बढी देखिन्छ यसमा स्थानीयतह र प्रदेश सरकारले आफ्नो बजेट व्यवस्था गरेर कार्यक्रम संचालन गरेको माथि उल्लेखित बजेटमा समाबेश गरेको छैन ।
हाल कार्यान्वयनमा रहेको रणनीतिक योजना पूर्ण रुपमा लागु गर्न बार्षिक रुपमा करिब ४ अर्बको बजेट आवश्यकता पर्ने आकलन गरिएको छ यसको आधारमा हेर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगानीका लागि अझ ठुलो प्रयास गर्नुपर्ने देखिन्छ ।
निस्कर्ष:
• स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्षयरोग कार्यक्रमलाई प्राथमिकतामा राखी बजेटको ब्यबस्थापन गर्नुका साथै क्षयरोग मुक्त अभियान निरन्तरताका लागि राष्ट्रिय योजना आयोग बाट दिईने बिशेष अनुदानका लागि पहल गर्नुपर्ने आवस्यकता देखिन्छ ।
• प्रदेश तथा स्थानीयतह बाट क्षयरोग कार्यक्रमको लागि थप बजेट ब्यबस्थापन गर्न राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले बहस तथा पैरवी गर्नु उपयुक्त उपाय हुन सक्दछ ।
• राष्ट्रिय क्षयरोग कार्यक्रममा समाबेश नगरिएका तर विभिन्न संघ सस्था, प्रदेश तथा स्थानीयतहहरुले क्षयरोगमा गरेको खर्चलाई राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले ट्रयाकिङ गरि वास्तविक खर्चको विवरण राख्ने व्यवस्था गर्नु उपयुक्त हुनेछ ।
• स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिगतमा लामो समय सम्म राष्ट्रिय क्षयरोग कार्यक्रममा सहयोग गरेका अन्तरराष्ट्रिय सस्थाहरु DFID, JICA, LHL International लगायतका अन्य सरोकारवालासंग आर्थिक तथा प्राबिधिक सहयोगका लागि पहल गर्नु उपयुक्त विकल्प हुन् सक्दछ ।
वितरण
वितरण अन्तर्गत राष्ट्रिय क्षयरोग कार्यक्रममा नविनतम क्रियालाप, तथ्यमा आधारित क्रियाकलाप, सक्रिय क्षयरोग खोजपड्ताल, शीग्र र सहि रोग निदान, रोग निवारक उपचार, औषधि प्रतिरोधी बिरामीका लागि उच्च गुणस्तरको सेवा र समुदाय, समुदायमा आधारित सामाजिक सस्थाहरु र बहुक्षेत्रीय संलग्नता पर्दछन । यसका आधारमा हेर्दा राष्ट्रिय क्षयरोग कार्यक्रमको अवस्थालाई निम्नलिखित तरिकाले हेर्न सकिन्छ ।
राष्ट्रिय क्षयरोग कार्यक्रमको पन्च बर्षीय रणनीतिक योजना २०२१/२२ देखि २०२५/२६ मा ३ रणनीति, ७ कार्यनीति र ४७ मुख्य क्रियाकलापहरु समाबेश गरि एक व्यापक खाका तयार पारेको छ । यी मुख्य क्रियाकलाप मध्ये क्षयरोग मुक्त अभियान नेपाल एक महत्तोपुर्ण क्रियाकलापको रुपमा लिई नेपालमा बिशेष अभियानको रुपमा केहि स्थानीयतहहरुमा संचालन भईराखेकोछ । यस अभियानलाई गेम चेन्जरको रुपमा रहेको भनि सन् २०२३ मा सम्पन्न पन्च बर्षीय रणनीतिक योजना २०२१/२२ देखि २०२५/२६ को मध्यकालिन समीक्षाले आत्म गरेकोछ साथै हाल कार्यान्वयनमा रहेको गोबल फण्ड चक्र ७ ले समेत नविनतम र नतिजा दिन सक्ने क्रियाकलाप भनि आत्मसाथ गरि नेपालले पेश गरेको प्रस्ताबको विभिन्न सेक्शनमा उल्लेख गरेको छ । यसै कुरालाई मध्येनजर गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अर्थ मन्त्रालयले थप बजेटको ब्यबथापन गरेकोछ । तर यसको कार्यान्वयनमा भने अझै व्यापक सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ । म स्वयम् अन्य स्वास्थ्य कार्यक्रमको मुल्यांकन गर्ने सन्दर्भमा क्षयरोग मुक्त अभियान संचालन भएका स्थानीयतहहरुमा पुग्दा नगर प्रमुख तथा अध्यक्षहरुले अभियान राम्रो भएको र स्थानीयतहको स्तरबाट सफल बनाउने प्रयास भएता पनि केन्द्रबाट प्राबिधिक सहयोग, अनुगमन, मुल्यांकन र प्रत्यक्ष् सल्लाह सुझाबको कमि भएको कुरा बारम्बार ब्यक्त गर्नुले यस अभियानको प्रभावकारितामा प्रश्न उठ्नु स्वभाबिक हुन् सक्दछ ।
२०७९ असारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिबज्यूको अध्यक्षतामा बसेको क्षयरोग मुक्त अभियान नेपालको संघिय समितिको पहिलो बैठकको निर्णय नम्बर २ मा क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रम विस्तारका लागि ग्लोबल फन्ड लगायत अन्य सस्थाहरुसंग साझेदारीता गर्ने, राष्ट्रिय योजना आयोगको बिशेस अनुदान कार्यक्रममा क्षयरोग कार्यक्रमलाई समाबेश गर्न प्रदेश तथा स्थानीयतहहरुलाई अनुरोध गर्ने र स्थानीयतहहरुलाई आफ्नो बजेट बाट यस कार्यक्रमका लागि अपुग बजेट व्यवस्थापन गर्नका लागि अनुरोध गर्ने निर्णय भएता पनि हाल सम्म योजनागत रुपमा ठोस कदमका साथ अघि बढने कार्यमा राष्ट्रिय क्षयरोग केन्द्रमा रहेको क्षयरोग मुक्त अभियानको सचिबालयले कार्य गरिरहेको होला भन्ने कुरामा आशा गर्न सकिन्छ l यस निर्णयका साथै अन्य थुप्रै निर्णयहरु कार्यान्वयनमा जान बाकी रहेको देखिन्छ जुन कुराले यस कार्यक्रमको प्रभावकारिता मापन गर्न सकिन्छ । उक्त संघिय समितिको बैठक २०७९ असारपछि हालसम्म बस्न सकेको छैन यसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समिक्षा गर्नुपर्ने देखिन्छ ।
राष्ट्रिय क्षयरोग कार्यक्रममा नेपालमा अध्यन अनुसन्धान गरि त्यसमा आधारित भएर तय गरेका कार्यनीति तथा आयोजनाहरु अपेक्षाकृत रुपमा कम छन् तर अन्य देशमा भएका अध्यनलाई आधार मानि क्रियाकलापहरुको तय गरि कार्यान्वयन गरिएका छन् तर यसको नतिजालाई अभिलेखीकरण गरि थप योजना बनाई भबिस्यमा लागु गर्नुपर्ने देखिन्छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र लगायत अन्य क्षयरोगमा काम गर्ने संघसस्थाहरुले क्षयरोगका बिरामी खोज्न सक्रिय खोजपड्ताल कार्यक्रम संचालन गरिरहेका छन् भने क्षयरोग मुक्त नेपाल अभियानमा सक्रिय खोजपड्ताल क्रियाकलापलाई ब्यबस्थित रुपमा संचालन गरेका छन् र तिनीहरुको क्षयरोग पत्ता लगाउनमा समेत योगदान भइरहेको देखिन्छ । यो क्रियाकलापको अन्तरिक र बाहय रुपमा मुल्यांकन गरि यसको अभिलेखीकरण गर्नुपर्ने आवस्कयता देखिन्छ ।
नेपालमा हालसम्म क्षयरोग प्रतिरोधात्मक औषधी खकारमा किटानु भएका क्षयरोग बिरामीको सम्पर्कमा रहेका ५ बर्ष मुनिका वालवालिकाहरुमा क्षयरोगको लक्ष्यण भए/नभएको एकिन गरि लक्ष्यण नभएका वालवालिकाहरुलाई क्षयरोग प्रतिरोधात्मक औषधी खुवाउने र PLHIV हरुमा सक्रिय क्षयरोग भए/नभएको एकिन गरि क्षयरोग प्रतिरोधात्मक औषधी दिने गरिएको छ भने आमसमुदायमा निस्क्रिय रुपमा रहेको क्षयरोग पहिचान गरि क्षयरोग प्रतिरोधात्मक औषधी खुवाउने कार्यक्रम संचालन गरिएको छैन । तर समुदायमा निस्क्रिय रुपमा रहेको क्षयरोग पहिचान गरि क्षयरोग प्रतिरोधात्मक औषधी खुवाउने कार्यक्रम बिराट नेपाल मेडिकल ट्रस्टले नेपालका केहि जिल्लाहरुमा संचालन गरि प्रभावकारिता अध्यन गरेको थियो यसको प्रभावको नतिजा क्षयरोग प्रतिरोधात्मक औषधी खाएका व्यक्तिहरुमा राम्रो थियो । यो तथ्यलाई आधार मानि यस कार्यक्रमलाई कम्तिमा क्षयरोग मुक्त पालिकाहरुमा सुरुवात गर्न सकेमा क्षयरोग अन्त्त्यको लक्ष्य हासिल गर्न कोशेढुंगा साबित हुनेछ ।
बहु-औषधी प्रतिरोध नेपालका लागि एक जनस्वास्थ्य समस्याको रुपमा रहेको र बिश्व भरिमा हेर्दा उच्च जोखिम भएका ३० देशहरु मध्येमा नेपाल पनि पर्दछ । यो रोग पत्ता लाग्ने र उपचारमा आएका बिरामीको दर हेर्ने हो भने अझै पनि करिब ८०% बिरामीहरु उपचारको दायरामा आउन नसकेको तथ्यले देखाएको छ । राष्ट्रिय क्षयरोग कार्यक्रमले यस रोगका बिरामीका लागि होस्टेलमा बसेर उपचार गराउन चाहने बिरामीका लागि खान र बस्नको ब्यबस्था गरेको छ भने घरैबाट उपचार केन्द्रमा आई उपचार गराउने बिरामीका लागि भने यातायात तथा पोषण भत्ता वापत मासिक रु ३,००० प्रदान गर्दै आएको छ । भर्खरै सम्पन्न बिरामीको खर्च सर्वेक्षणलाई हेर्ने हो भने आजका दिनमा पनि ५७% क्षयरोग बिरामीहरु अधिक आर्थिक व्ययभारमा छन् यसरी हेर्दा हाल कार्यक्रमले व्यवस्था गरको सेवा सुबिधा अप्रयाप्त देखिन्छ ।
समुदाय, समुदायमा आधारित सामाजिक सस्थाहरु र बहुक्षेत्रीय संलग्नताको सन्दभॅमा हेर्दा क्षयरोग मुक्त अभियानमा यी सबै क्रियाकलापहरुलाई समाबेश गरि कार्यान्वयनमा लगिएको छ तर केन्द्र तथा प्रदेशबाट यी क्रियाकलाप लागु गर्न प्रयाप्त मात्रामा प्राबिधिक सहयोग तथा यिनीहरुको योगदान भने मापन गरिएको छैन । क्षयरोग मुक्त पालिका लागु नभएका जिल्लामा भने यस्ता प्रकारका अभियान न्युन मात्रमा संचालन भएका छन् जसले उल्लेख्य परिणाम दिन भने सकेका छैनन् ।
विश्लेषण:
क्षयरोग मुक्त्त नेपाल अभियान बिश्वब्यापी रुपमा अवलम्वन गरिएको End TB Strategy लाइ कार्यान्वयन गरिएको एक नविनतम क्रियाकलाप हो र यस अभियानले क्षयरोग अन्त्यका लक्ष्य प्राप्ति गर्नका लागि सहयोगी सिध्द हुने अपेक्षा गरिएको छ। तथापी यस अभियानलाई प्रभावकारी रुपमा संचालन गरि परिणाम प्राप्त गर्न थप प्रयास गर्नपर्ने देखिन्छ । हाल नेपाल भित्र र अन्तरराष्ट्रिय स्तरमा क्षयरोग सम्बन्धि थुप्रै अनुसन्धानहरु भईरहेका छन् ती अध्यनका प्रभावकारी पक्षलाई समेटी अब बन्ने पन्च बर्षीय रणनीतिक योजनामा तथ्यपरक र नतिजा दिनसक्ने नविनतम क्रियाकलापहरु समाबेश गरि योजना तयार गर्नुपर्दछ ।
क्षयरोग मुक्त अभियान अन्तर्गत संचालन भईरहेका सक्रिय क्षयरोग खोजपड्ताल क्रियाकलापहरुलाई ब्यबस्थित र लक्षित समूहमा कार्यान्वयन गरि त्यसको नतिजाहरुलाई Cascading गर्न आवश्यक देखिएकोछ । औषधी प्रतिरोधी क्षयरोग नेपालका लागि एक ठुलो जनस्वास्थ्य समस्याको रुपमा दिनानुदिन बढ्दै गएकोछ । यस समस्यालाई निराकरण गर्न छुटै र बृहत प्रकारको योजना बनाउन आवश्यकता देखिएकोछ ।
समुदाय, समुदायमा आधारित सामाजिक सस्थाहरु र बहुक्षेत्रीय संलग्नता बिना क्षयरोग अन्त्यको लक्ष्य प्राप्त गर्न कठिन हुने विभिन्न अध्यन तथा अनुसन्धानले देखाएको छ । यसै कुरालाई मध्येनजर गरि क्षयरोग मुक्त अभियानमा बृहत रुपमा समुदायमा आधारित कार्यक्रमहरुको व्यवस्था गरि कार्यान्वयन भईरहेको छ तर यी क्रियाकलापहरुको योगदान भने अभिलेखीकरण भएको छैन जुन कार्य गर्न जरुरी देखिन्छ ।
क्षयरोग कार्यक्रममा रोग निदान भई प्रतिबेदन भएको तथ्यांकलाई हेर्ने हो भने माईक्रोसकोपि बाट खकार पोजेटिभ क्षयरोगका बिरामी निदान भएका मध्ये GeneXpert बाट पुन: खकार परिक्षण गराएकाको संख्या करिब १५-२० प्रतिशत बिरामी दुवै ठाउँबाट प्रतिबेदन भएको छ भनेर ग्लोबल फण्डको फन्डीङ चक्र ७ को प्रस्ताबमा समेत उल्लेख भएकोछ साथै करिब ५ हजार खकारमा किटाणु देखिएका बिरामीहरु उपचारमा दर्ता नभएको समेत उल्लेख गरिएकोछ । त्यसैगरी, क्षयरोग निदान भएका बिरामी भनि प्रतिबेदन भएको बिरामीको संख्या र उपचारमा दर्ता भएका बिरामीको संख्यामा समेत एकरुपता देखिदैन । Routine Data Quality Assurance (RDQA) मा समेत उपचार केन्द्रमा रखिएको अभिलेख र HMIS मा प्रविष्ट गरेको तथ्यांकलाई हेर्दा समेत केहि फरक देखिन्छ । त्यसैले सन् २०२२ मा International Expert ले गरेको Epidemiological Review ले समेत तथ्यांकमा Consistency नभएकाले Data Audit गर्न सिफारिस समेत गरेकोछ ।
राष्ट्रिय क्षयरोग कार्यक्रमको पन्च बर्षीय रणनीतिक योजना २०२१/२२ देखि २०२५/२६ ले राखेको लक्ष्य प्राप्तिमा नेपालको अवस्था हेर्दा TB Incidence लाई २४५ जना प्रतिलाख जनसंख्याबाट १८१ जना प्रतिलाख जनसंख्यामा झार्ने भनिएकोमा सन् २०२३ को अन्त्य सम्ममा २२९ जना प्रतिलाख देखिएको छ ।यो अवस्था तोकिएको लक्ष्य भन्दा ४८ जना प्रतिलाख जनसंख्याले कम हो त्यसै गरी क्षयरोगबाट हुने मृत्युदर प्रतिलाख जनसंख्यामा ५८ जना रहेको अवस्थाबाट २३ जनामा झार्ने लक्ष्य रहेकोमा हाल सम्ममा ५४ जना प्रतिलाख रहेकोछ, क्षयरोगको कारणबाट हुने अधिक आर्थिक व्ययभार जिरोमा पुर्याउने लक्ष्य राखेकोमा भर्खरै सम्पन्न बिरामीको लागत अध्यनको प्रारम्भिक प्रतिबेदनले ५७ % बिरामी अधिक आर्थिक व्ययभारमा रहेको देखाएकोछ भने बिराट नेपाल मेडिकल ट्रस्ट र लिभरपुल स्कुल अफ ट्रपिकल मेडीसिनले नेपालका ४ जिल्लामा गरेको क्षयरोग बिरामीको लागत सर्वेक्षणले करिब ६०% क्षयरोगका बिरामी अधिक आर्थिक व्ययभारमा रहेको निस्कर्ष सार्बजनिक गरेको थियो भने बहु-औषधी प्रतिरोधका बिरामी अधिक रुपमा यो समस्यामा रहने गरेको कुरा समेत यसै प्रतिबेदनमा उल्लेख गरेकोछ । यी माथिका प्रगतिलाई हेर्दा रणनीतिक योजनाको बाँकि अवधिमा लक्ष्य प्राप्त हुन् सक्ने देखिदैन ।
नेपालमा बहु-औषधी प्रतिरोधका बिरामी सन् २०२३ मा २,९०० जना अनुमान गरिएकोमा जम्मा ८४३ जना बिरामीहरु MDR/RR क्षयरोग भनि प्रयोगशालाबाट रोग निदान भएकोमा ५४६ जना मात्र उपचारमा दर्ता भएका थिए जसमा लगभग ३५% बिरामीहरु उपचारको दायरामा आएनन यी बिरामीहरुले समुदायमा DRTB नै सार्ने भएकाले यो अवस्था भने नेपालका लागि जनस्वास्थ्य समस्याका रुपमा एक बिकराल अवस्था हो । यसैगरी Lab Confirmed Pre- XDR/XDR क्षयरोगका १५० जना बिरामीको रोग निदान भएकामा सोहि बर्ष ९२ जना मात्र उपचारमा दर्ता भएका थिए यस तथ्यांकलाई हेर्दा करिब ३९% बिरामी उपचारमा नआएका देखिए जुन भबिष्यमा स्वास्थ्य प्रणालीको लागि ठुलो चुनौती हुनसक्दछ ।
निस्कर्ष:
१.राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा रहेको क्षयरोग मुक्त्त अभियानको सचिबालयमा बरिस्ठ जनस्वास्थ्य प्रसाशक वा जनस्वास्थ्य प्रसाशकको नेतृतव सहितको कम्तिमा तीन जना बरिस्ठ जनस्वास्थ्य अधिकृत वा जनस्वास्थ्य अधिकृतहरु र सहयोगी सस्थाबाट प्राबिधिक सहयोगका लागि केहि मानबश्रोतको ब्यबस्थापन गर्नुपर्दछ ।
२.क्षयरोग मुक्त नेपाल अभियान सञ्चालन निर्देशिका २०७८ अनुसार संघिय समिति बैठक नियमित रुपमा संचालन गर्ने व्यवस्था मिलाउने र २०७९ साल असारमा सम्पन्न बैठकले दिएको निर्देशन अनुसारको निर्देशिका परिमार्जान गरि स्वीकृतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वीकृतिका लागि पेश गर्नुपर्दछ ।
३.क्षयरोग मुक्त्त अभियानका तालिम तथा अभिमुखीकरण सामग्रीहरुको पुनरावोलकन गरि चुस्त दुरुस्त बनाई कम्तिमा बर्षको १ पटक अभियान संचालन भएका स्थानीयतहहरुमा कार्यपालिका सदस्यहरुलाई केन्द्रबाट अभियानका बारेमा अभिमुखीकरण गर्नुपर्दछ ।
४.क्षयरोग मुक्त अभियानको सचिबालय बाट कम्तिमा ३ महिनामा १ पटक हरेक स्थानीय तहको अनिबार्य रुपमा अनुगमन तथा सुपरिबेक्षण गरि प्राबिधिक सहयोग उपलब्ध गराउनु पर्दछ ।
५.DRTB का बिरामीहरुको प्रभावकारी ब्यबस्थापनका लागि प्रत्येक स्थानीय तहमा कम्तिमा १ ओटा GeneXpert मेसिन र उपचार केन्द्र वा उपचार उपकेन्द्रको ब्यबस्था गरेमा DRTB को समस्यालाई केहि हदसम्म कम गर्न सकिनेछ ।जुन योजना क्षयरोग मुक्त नेपाल अभियानको निर्देशिकामा समेत उल्लेख गरिएकोछ ।
६.राष्ट्रिय क्षयरोग कार्यक्रमको प्रत्येक ५ बर्षमा अन्तरास्ट्रिय क्षयरोग बिज्ञहरुबाट गरिने मुल्यांकन सन् २०१९ को मे महिनामा भएको थियो त्यस पश्चात सन् २०२४ सम्ममा गर्नुपर्ने भएता पनि हालसम्म हुनसकेको छैन यो कार्य राष्ट्रिय रणनीतिक योजना बनाउनका लागि एक महत्तोपूर्ण क्रियाकलाप हो त्यसैले यस कार्यलाई राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले प्राथमिकतामा राखी सम्पन्न गर्नुपर्दछ ।
७.राष्ट्रिय क्षयरोग कार्यक्रममा रोग निदान र उपचारमा भएका बिरामीहरुको यथार्थ नम्बर तय गर्न सम्भव भए सम्पूर्ण स्वास्थ्य सस्थामा यदि नभए प्रतिनिधित्व हुने गरी स्वास्थ्य सस्था छनौट गरी Data Validation गरी यथार्थ परक Baseline तय गनुपर्ने देखिन्छ ।
अन्त्यमा क्षयरोग सम्बन्धि यस वर्षको नारालाइ सार्थक बनाउन अध्ययन अनुषन्धानमा आधारित योजना निर्माण तथा वजेट विनियोजन, सेवा प्रदायकको क्षमता अभिबृध्दि, क्षयरोग सम्बन्धि अन्तरतह समन्वय तथा संयन्त्रलाइ प्रभावकारी बनाउनका साथै, प्रभावकारी अनुगमन एंव यस सम्बन्धि सवै प्रकारका सेवाहरुमा सेवाग्राहीको सहज पँहुच बृध्दिका लागि सवै तहमा थप पैरवी तथा बहस समेत गर्न आवश्यक छ ।
Leave a Reply