हेल्थ टुडे,
काठमाडौं, १९ फागुन : प्रतिनिधि सभाका सभामुख सहित मन्त्रीहरु र सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । बुधबार बिहान काठमाडौंको मिनभवनस्थित सिभिल हस्पिटलमा रहेको खोप केन्द्रमा उनीहरुले खोप लगाएका हुन् । बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा सबैभन्दा पहिले सभामुख अग्नी सापकोटाले खोप लगाएका थिए । त्यसपछि पूर्वप्रधानमन्त्री प्रचण्डले खोप लगाएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले पनि सोही केन्द्रमा खोप लगाएका थिए ।
खोप केन्द्रको उचित व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री त्रिपाठी, मन्त्रालयका सचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिहं, राष्टिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक शुनिल शर्मा, नीति योजना महासाखा प्रमुख डा. गुणराज लोहनी, परिवार कल्याण महासाखाका निर्देशक डा. तारा पोखरेल लगायत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारी र चिकित्सक बिहान ९ बजेदेखि नै खटिएका थिए । खोप केन्द्रमा कसैले गुनासो गर्ने अवस्था आउन नदिन मन्त्रीले सरोकारवालालाई निर्देशन दिएका थिए । खोप लगाउन आउने मन्त्री र सांसदहरुलाई स्वास्थ्य मन्त्रालयका सचिव अर्यालसहितको टोलीले स्वागत गर्ने गरेको थियो । मन्त्री त्रिपाठीले आज छुट भएका सबै मन्त्रीहरु र सांसदहरुलाई बिहीबार पनि खोप लगाइसकिने बताए । खोप केन्द्रमा सांसदहरुको बाक्लो उपस्थिति रहेको छ ।
सभामुख, अध्यक्ष, उपाध्यक्षका सचिवालयमा कार्यरत कर्मचारीहरु, हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि आजै खोप लगाउने कार्यक्रम निर्धारण गरिएको छ । सभामुख अग्नी सापकोटाले खोप लगाएपछि प्रतिकृया दिदै समयमै खोप लगाउन चाजोपाजो मिलाएकोमा स्वास्थ्य मन्त्रालय र चिकित्सकहरुलाई धन्यवाद दिएका छन् ।
Leave a Reply