डा. अरुणा उप्रेति,
म १८ वर्षअघि सुदूरपश्चिमको डोटी अस्पतालमा छँदा एउटी बिरामी महिलालाई पिठ्युँमा बोकेर ल्याइएको थियो । बिरामीको सात दिनअघि गर्भपतन भएर ‘रगत गएको गयै भएछ ।’
बिरामीको अनुहार एकदमै सेतो थियो, आँखा चिम्म थिए, अर्ध बेहोसजस्तै । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. बिनारानी श्रीवास्तवले उनको जाँचपछि भनिन, ‘यिनको शरीरमा रगत कम छ । रगत चढाउनुपर्छ तर यहाँ रगत चढाउन सम्भव छैन ।’ एम्बुलेन्स मगाएर उनलाई धनगढी अस्पताल पठाउँदा १५ सय भाडा लाग्दो रहेछ । ‘हामीसँग पैसा छैन । तपाईंहरूले उपचार गराउने भए गर्नुहोस् । नत्र यहीँ मर्ली,’ बिरामीका भाइले भने ।
बिहानसम्म ती महिला बाँच्छिन् कि बाँच्दिनन् भन्ने धुकचुक थियो । बिहान ६ बजे उठेर हेर्दा ती महिलालाई जीवितै देखेर हामी खुसी भयौं । ९ बजे उनको पाठेघरको उपचार गर्ने तयारी सुरु गरियो । १० बजेतिर डा. श्रीवास्तवसँग ती महिलाको अप्रेसन भयो भनेर सोध्दा उनले अँध्यारो मुख लगाउँदै भनिन, ‘उनकी आमाले उपचार गराउन मानिनन् ।’
म दौडदै अस्पताल पुगें । घाम तापेर नातिनातिनालाई भात ख्वाइरहेकी बज्यैसँग ठूलो स्वरमा सोधें, तपाईंले आफ्नी छोरीको औषधि गर्न किन नमानेको ?’ मुखभरि चाउरी परेकी बूढी बज्यैले हात जोडेर भनिन, ‘म के गरूँ ? यसका बैगान (लोग्ने) यहाँ ना थिन् (यहाँ छैन) तमले (तिमीले) उनलाई उपचार क्या अर्छाै ? (के गर्छौ) ? उनको पाठेघर निकाल्छ्यौ यिनका पाँच छोरी र एकमात्र सन्तान (छोरा) छन् । यिनको पाठेघर निकाले अरु छोरा हुँदैनन् । अनि यिनका बैगानले के भन्दा हन् (हुन) ?’ ती बूढी बज्यैको कुराले म रनभुल्लमा परें । उनलाई आफ्नी छोरीको ज्यानभन्दा छोरीको अर्को सन्तान (छोरा) नहोला भन्ने चिन्ता पो थियो?
मसँग आएकी एक विदेशी नर्सलाई मैले ती बज्यैले भनेको कुरा उल्था गरेर सुनाएपछि उनले भनिन, ‘बिरामी महिला त वयस्क भैसकेकी छिन् । हामीले उनीसँगै अनुमति लिएर उपचार गरे हुँदैन ?’ ‘अन्य देशमा भए हुन्थ्यो, यहाँ हुँदैन । उनको साधारण शल्यक्रिया गर्दा तल–माथि भयो भने यिनै गाउँलेले हामीलाई मानिस मारेको आरोप लगाउँछन् । त्यसैले उनकी आमाले हुन्छ नभनी हामीले केही गर्न सक्दैनौं,’ मैले भनेकी थिएँ। त्यसपछि मैले अस्पतालका केही कर्मचारीसँग भनें–तपाईंहरू यी बज्यैलाई सम्झाइदिनुस्, हामीले पाठेघर निकाल्ने होइन, पाठेघर सफा गर्ने मात्र हो । यदि उनको उपचार गरिएन भने उनी रगत बगेर मर्छिन् ।’ अस्पतालका कर्मचारीहरूले ती बज्यैलाई डोटेली भाषामा सम्झाएपछि बल्ल उनले हात जोडेर रुँदै भनिन् । ‘तम जसो ठीक हुन्छ, तही अर’(तिमीहरूलाई जसो ठीक लाग्छ त्यही गर) । वृद्धाका यिनै शब्दलाई स्वीकृतिका रूपमा लिएर डा. बिनाले बिरामी महिलाको पाठेघर सफा गरिदिइन् । एक घन्टाभित्र सबै उपचार भयो । महिला धेरै कमजोर थिइन् तर उनी बाँचेकी थिइन् र हामी ढुक्क भएका थियौं ।
उक्त घटनाले मलाई त्यतिबेला बारम्बार एउटा प्रश्न गर्न विवश तुल्याएको थियो–के सुदूरपश्चिममा महिलाको जीवनभन्दा छोरो हुनु वा नहुनु बढी महत्व राख्छ ?
Leave a Reply