बिहे गरेको लामो समयपश्चात् जन्मेकी छोरीको हेरविचारमा धेरै नै समय दिन्थे रूपन्देहीका कपिल अधिकारी । विस्तारै छोरीको माग बमोजिम भान्छामा पाक्ने खानेकुरा बाहेक बजारमा पाइने पाकेटमा पाइने तयारी खानेकुरा किनीदिन थाले । छोरीले खानेकुरा खाँदा आनन्द मान्दै भनेअनुसारको माग पूरा गर्ने अधिकारी तबमात्र झस्के जब उनकी छोरीको तौल अत्यधिक वृद्धि भई मोटोपन नै रोगको रूपमा विकसित भई समस्या देखा पर्यो । मोटोपनको कारण स्कुले साथीहरूले गिज्याउने र सामाजिक क्रियाकलापमा पनि त्यत्ति रुचि नदेखाउने उनको छोरीको पढाइ पनि त्यत्ति सन्तोषजनक भएन । पछि गएर १५ वर्षको सानो उमेरमा उनलाई मधुमेहको समस्या भयो । अधिकारीको छोरी त एक प्रतिनिधि पात्र मात्र हुन । हिजोआज बाबुआमाले बरू आफू एक पेट खाएर भए पनि छोराछोरीको मागबमोजिमका बजारमा सजिलै किन्न पाइने तयारी खानेकुरा दिने चलन बढ्दै गएको छ । यसले कालान्तरमा समस्यासमेत निम्त्याउने गरेकोले अहिले धेरै बाबुआमा तनावमा छन् ।
बालबालिकामा देखिने यस्तो मोटोपन नेपालमात्र होइन विश्वकै प्रमुख स्वास्थ्य समस्या बनेको छ । बाल स्वास्थ्यमा असर पु¥याउने यो एउटा गम्भीर प्रकृतिको अवस्था हो । सामान्यतया आफ्नो तौल र उमेरमा हुनुपर्ने तौलभन्दा बढी तौल देखिएमा मोटोपन भएको मानिन्छ । बालबालिकामा देखिने मोटोपनले वयस्क अवस्थामा मधुमेह, उक्त रक्तचाप तथा उच्च कोलेस्ट्रोलको समस्यातर्फ धकेल्ने विज्ञहरूले औंल्याएका छन् । मोटोपनाबाट गुज्रेका बालबालिका वयस्क त हुन्छन् नै । मोटोपनाले पछि गएर आफ्नै शरीरप्रति हीनभाव जाग्नुका साथै निराशातर्फ डो¥याउन सक्छ । यसले अध्ययन, खेलकुद, व्यक्तित्व विकास आदि क्रियाकलापमा सक्रिय हुन उत्साहित नहुने समस्या बढ्न जान्छ ।
विश्वमा पाँच वर्षमुनिका करिब चार करोड २० लाख बालबालिकामा मोटोपनको समस्या रहेको अनुमान गरिएको छ । केही वर्षअघि विकसित देशको लागि समस्या मानिएको मोटोपना अहिले आएर नेपालजस्तो विकासोन्मुख देशका सहरहरूमा पनि देखिएको छ । एसिया महादेशकै कुरा गर्ने हो भने पनि पाँच वर्षमुनिका आधाभन्दा बढी बालबालिका यो समस्याबाट गुज्रेको मानिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार न्यून तौलभन्दा उच्च तौल भएका मानिसको असामयिक मृत्यु हुने खतरा बढी हुन्छ ।
सन् २०१३ को जुनदेखि डिसेम्बर महिनामा बालबालिकामा देखिने मोटोपनाका कारक तत्व र विद्यमान अवस्थाबारे नेपालको ललितपुरमा एक अध्ययन गरिएको थियो । उक्त अध्ययनमा ६ देखि १३ वर्षका नौ सय ८६ बालबालिका समेटिएका थिए । जसमध्ये दुई सय २५ जनामा मोटोपन देखिएको थियो । उच्चवर्गका एक वा दुईमात्र सन्तान भएका, जन्मिँदै बढी तौल भएका एवं सम्पन्न परिवारका बालबालिकामा मोटोपना देखिएको थियो ।
अन्तर्राष्ट्रिय संस्था राष्ट्रिय स्वास्थ्य तथ्यांक केन्द्रको २०१३र१४ को एक प्रतिवेदनअनुसार २–५ वर्ष उमेरसमूहका ८.९ प्रतिशत बालिबालिकामा, ६–११ उमेरसमूहका १७.५ प्रतिशत बालबालिकामा र १२–१९ वर्ष उमेरसमूहका २०.५ प्रतिशत बालबालिकामा विश्वव्यापी रूपमै मोटोपनाको समस्या रहेको पाइएको छ ।
मोटोपनाका नकारात्मक परिणाम
१. मुटुरोग, उच्च रक्तचाप, कोलेस्ट्रोल वृद्धि, मधुमेह तथा श्वास–प्रश्वाससम्बन्धी समस्या ।
२. दम तथा सुत्दा सास फेर्न गाह्रो हुने ।
३. मोटो शरीरका कारण हुने असुविधाले गर्दा मांसपेशी तथा हड्डीमा देखिने समस्या ।
४. फ्याटी लिभर अर्थात् कलेजोमा बोसो जम्ने समस्या ।
५. शरीर आकर्षक नदेखिने हुँदा आफ्नै शरीरप्रति हीनभावनाको विकास हुनु ।
६. डिप्रेसन अर्थात् निराशाका कारण व्यवहारमा परिवर्तन आउनु ।
७. आफ्ना साथीसँगी एवं सामाजिक रूपमै अपहेलित भएको महसुस गर्नु जसले गर्दा बालबालिकाको शैक्षिक तथा सामाजिक उन्नतिमा बाधा आउनु ।
८. युवा अवस्थामा पुगेपछि प्रजनन स्वास्थ्यमा समेत असर पर्नु ।
यसबाट बच्न आफ्ना बालबच्चाहरूलाई पर्याप्त मात्रामा स्तनपान गराउन जरुरी छ । शारीरिक कसरत अर्थात् सक्रियतालाई बढाउने र विद्यालयमा पढाइका अतिरिक्त नृत्य, खेलकुदलगायत विभिन्न क्रियाकलापमा सक्रिय गराउने, दिनको करिब एक घण्टा पसिना आउने गरी हिँड्नका लागि प्रेरित गर्न जरुरी छ । त्यसैगरी विद्यालय र घर दुवै ठाउँमा स्वस्थ खानपानमा ध्यान दिने र विशेष गरी फलफूल, जुस, सागपातजस्ता खाद्यान्न सेवन गराउने अभिप्रेरित गरेमा मोटोपनबाट जोगाउन सकिन्छ । कार्बोनेटयुक्त तथा चिनीयुक्त खाद्यान्न सेवन न्यून गर्ने र बच्चाको तौल वृद्धिमा नियमित ध्यान दिएमा बालबालिकालाई मोटोपनबाट हुने समस्याबाट जोगाउन सकिन्छ ।कुनै रोग लाग्नुभन्दा रोग लाग्न नै नदिनु उत्तम मानिन्छ । आजभोलि अभिभावकहरू काममा व्यस्त हुने हुँदा आफ्ना बालबालिकाको स्वास्थ्यप्रति त्यति ध्यान दिएको पाइँदैन । यसले गर्दा घर तथा विद्यालयमा तयारी खाना खुवाउने बानीले गर्दा बालबालिकाको स्वास्थ्यमा गम्भीर प्रकृतिका समस्याहरू देखिने गरेका छन् । अभिभावक जतिसुकै व्यस्त भए पनि आफ्ना छोराछोरीको स्वास्थ्यको लागि पूर्ण रूपमा सचेत हुनु आवश्यक छ । उनीहरूको पोषण, शारीरिक सक्रियताजस्ता विषयमा स्वास्थ्य समस्या देखिनुअघि नै ध्यानदिनुपर्ने हुन्छ । यसो गरेमा हामीले आफ्ना बालबालिकालाई स्वस्थ राख्न सक्छौं, मोटोपनबाट जोगाउन सक्छौं ।
सुरक्षा सुवेदी, एशियन कलेज फर एडभान्स स्टडी, सातदोवाटो ललतिपुरमा नर्सिङ विषय प्राध्यापन गर्दै आइरहनुभएको छ । )
Leave a Reply