डा. प्रकाशराज रेग्मी
जीवन सुखी भएन भने कुनै व्यक्ति स्वस्थ्य रहन सक्दैन । पूर्ण स्वस्थताका लागि शारीरिक स्वास्थ्यका साथै जीवनमा सुखको अनुभूतिसमेत हुनु अत्यावश्यक छ । यसकारण प्रत्येक व्यक्ति स्वस्थ रहनका लागि सुखी वन्न सिक्नुपर्छ । सुख र दुःख भन्ने कुरा भावना र संवेदनासँग गाँसिएको कुरा हो । जीवनको वास्तविक लक्ष्य नै सुखको प्राप्ति हो । जीवनशैली परिवर्तनको प्रथम कदम जीवनलार्य सुखी वनाउने बारेको चिन्तनबाटै सुरु गरिनुपर्छ । धेरै मानिसले आफ्नो जीवनलाई आफैंले जटिल र रोगी बनाएका छन् । जीवन बिताउने कला र पद्धति नजानेर धेरै मानिस रोगी भएका छन् ।
धेरै रोजहरू मान्छेको सोचाइबाट आएका छन् । सोचाइ र आत्मबल कमजोर भयो भने रोगले सजिलै आक्रमण गर्न सक्छ । आत्मबल बलियो छ भने त्यस व्यक्तिलाई सानोतिनो रोगले छुन सक्दैन, साथै रोग लागिहाले पनि रोगलाई नियन्त्रणमा ल्याउन सजिलो पर्छ । यसकारण शरीर स्वस्थ राख्न आत्मबल बलियो हुनुपर्छ । आत्मबलका साथै शारीरिक शक्ति र ऊर्जा पनि बलियो बनाउन सक्नुपर्छ । उच्च आत्मबल, बलियो शक्तिशाली शरीर र प्रशस्त ऊर्जा भएको व्यक्तिबाट रोग पनि पराजित हुन्छ । यसकारण निरोगी रहन आत्मबल बढाउनुपर्छ, शरीरलाई बलियो बनाउनुपर्छ, साथै शरीरमा प्रशस्त ऊर्जा सञ्चालित गराइराख्नुपर्छ । यसो भएमा व्यक्तिलाई स्वस्थ रहन सहयोग पुग्छ ।
सुखबारे सबैका आ–आफ्नै धारणाहरू छन् । यहाँ सुखलाई स्वास्थ्यसँग जोड्न खोजिएको छ । स्वस्थ जीवनका लागि सुख प्राप्ति अपरिहार्य छ । सुख वस्तुगत नभई मनोगत कुरा भएको हुनाले यसलाई बुझ्न र प्राप्त गर्न आँखा चिम्लिएर भित्री मनले प्रयत्न गर्नुपर्छ । भित्री मनको आँखा खुलेपछि मात्र वास्तविक रूपमा मानिसमा परिवर्तन आउन सक्छ । जीवनलाई सुखी बनाउन, जीवनशैली स्वस्थ बनाउन सबैभन्दा पहिले सोचाइमा परिवर्तन आउनुपर्छ ।
मन रोगी भयो भने शरीर रोगी हुन्छ । मन स्वस्थ छ भने शरीर पनि स्वस्थ बन्न सक्छ । यसकारण सर्वप्रथम मनलाई निरोगी राख्ने प्रयत्न गर्नुपर्छ । जीवनशैलीमा परिवर्तन ल्याउने कुनै औषधि वा इन्जेक्सन छैन । चक्की खाएर वा सुई लगाएर जीवनशैली परिवर्तन हुँदैन । यसका लागि आफैंले प्रयास गर्नुपर्छ । भित्रदेखि म यस कार्यमा लाग्छु, यो मेरै लागि हो, प्रयास गरेँ भने म सफल हुन्छु भन्ने आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ । जीवनशैली परिवर्तन गर्नुपर्ने आवश्यकता कसैले भित्री मनदेखि नै महसुस गर्दैन भने उसले जीवनशैली परिवर्तन गर्ने प्रयास नगरे पनि हुन्छ । भित्री चाहना बलियो र आवश्यकताको बोधसहित भयो भने मात्र प्रयास सफल हुन सक्छ । जीवनशैली परिवर्तन सुखी र स्वस्थ जीवन प्राप्त गर्नका लागि हो ।
Leave a Reply