डा.समीरकुमार अधिकारी
जाडो मौसममा देखिने प्रमुख समस्यामध्ये एक हो, पिनास । वातावरणीय प्रदूषण, धूलो, धुवाँको कारणले गर्दा हुन्छ । नेपाल अन्य ठाउँमा भन्दा काठमाडौं उपत्यकामा पिनासको समस्या जटिल बन्दै गइरहेको पाइएको छ ।
हाम्रो खप्परका केही हाडहरूमा सानासाना हावा भरिएका कोठाहरू हुन्छन्, जसलाई प्यारानेजल साइनस भनिन्छ । यिनको संख्या लगभग ५० वटासम्म हुन्छन् । यी कोठाहरूमा श्वासप्रश्वास प्रक्रियामा हामीले लिएको हावालाई तातो र आद्र बनाउने कामका अतिरिक्त इन्फेक्सन र इरिसनबाट बचाउने काम हुन्छ । खप्परका हाडहरूलाई हलुका बनाई टाउकोमा सन्तुलन कायम राख्ने र आवाज निकाल्ने काममा पनि साइनसको मुख्य भूमिका रहन्छ । हामीले श्वास लिँदा यी साइनस खाली हुन्छन् भने श्वास फ्याँक्दा भरिन्छन् । यी साइनसलाई पातलो झिल्लीले ढाकेको हुन्छ, जसले म्युकस उत्पादन गर्दछ । यसैलाई हामी सिँगान भन्ने गर्दछौं । यसरी उत्पन्न भएको म्युकस नेजल क्यामिटीहुँदै बाहिर निस्कन्छ । यी साइनसहरूमा समस्या तब हुन्छ जब कुनै पनि कारणले साइनसको सिँगान बन्ने र बाहिर आउने प्रक्रियामा गड्बढ भई सिँगान धेरै आउने वा त्यहीँ उत्पन्न भएको सिँगान राम्ररी बाहिर आउन नसक्ने हुन्छ ।
सिँगान धेरै बग्ने अवस्थालाई हामी सामान्यतया रुघा लागेको भन्ने गर्दछौं । सिँगान राम्ररी नखुल्ने या बेलाबेलामा धेरै फोहोरसहित खुल्ने अवस्थालाई पिनास भन्दछौं । यी अवस्थाहरू विविध कारणले उत्पन्न हुन्छन् । जस्तैः वातावरणीय प्रदूषण, धूलो, धुवाँ भएको चिसो ठाउँमा, कुपोषणले ग्रसित र रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरू प्रायः पिनासबाट पीडित भएको पाइन्छ । त्यस्तै जन्मजात नाकका प्वालहरू सामान्य नभएका व्यक्तिहरूलाई पनि यो समस्या बारम्बार भइरहन्छ । नाकको संक्रमणबाट जीवाणु साइनसमा पुगेर पनि पिनास हुन्छ र पिनास भएपछि इन्फेक्सन प्रायः हुन्छ । सुरुमा एलर्जी, भाइरसको संक्रमण हुँदै ब्याक्टेरियाको संक्रमण हुन्छ । त्यस्तै दाँतको संक्रमणबाट, नाकको ट्युमर, बाह्य पदार्थको प्रवेश, एलर्जी साइनसमा चोटपटक लाग्नु आदि कारणले पनि पिनास हुन्छ । दुई नाकको प्वालबीचको सिस्टम बांगिएर ड्रेनेज रोकिनु, नाकभित्र मासु पलाउनु आदिलाई पनि यसको कारण मानिएको छ । समान्यतया रूखाखोकी लागेपछि, फोहोरपानीमा पौडी खेलेपछि, दाँतका गिजा पाकेपछि र नाकको एलर्जीपछि पिनास भएको पाइन्छ ।
ज्वरो आउने, जाडो हुने, जीउ टाउको दाँत र आँखाको माथि दुख्ने, नाक बन्द हुने वा बेलाबेला बाक्लो सिँगान बग्ने, कहिलेकाहीँ रगत वा पीपसहित सिँगान आउने र नाक सुक्खा हुने आदि लक्षणहरू पिनासमा हुन्छन् । नाकबाट दुर्गन्ध आउने, गन्धज्ञान नहुने, बोली तथा दृष्टि प्रभावित हुने हुन्छ । राति जागा बस्ने, दिउँसो सुत्ने धेरै बोलिरहने र मानसिक तनावले यो बढ्छ । आयुर्वेदमा आचार्य सुश्रुतले नाकमा हुने ३१ प्रकारका रोगहरूमध्ये पिनासलाई मुख्य मानेका छन् । चिकित्साको दृष्टिकोणले यसलाई अपक्व पिनास (धेरै पातलो सिँगान बग्ने) र पक्क पिनास (नाक बन्द हुने वा बाक्लो सिँगान बग्ने) गरी दुई भागमा विभाजन गरिएको छ । आधुनिक आयुर्वेदका अनुसार यसलाई नवपिनास र जीर्ण पिनास गरी दुई भागमा बाँडिएको छ । समयमा उपचार नगर्दा नवपिनास पछि गई दीर्घ र जीर्ण पिनासमा परिणत हुन्छ ।
झट्ट हेर्दा पिनास साधारण रोग जस्तो देखिएता पनि बेलैमा सही उपचार नभएमा यसबाट विभिन्न जटिलताहरू आउँछन् । साइनसबाट संक्रमण दिमागमा गई ब्रेन एबसेस, मेनिन्जाइटिस, इन्सेफलाइटिस, म्युकोपोलिसिल, आर्विटल कम्लिकेसन हुन्छन् । समयमै उचित उपचार भएमा रोगीलाई यी कम्प्लिकेसन हुन पाउँदैन ।
ट्यारोजल क्याभिटीका म्युकस मेम्ब्रेनलाई प्राकृतिक अवस्थामा ल्याई म्युकसको प्राकृतिक स्रावलाई नियमित गर्नु चिकित्साको मुख्य उद्देश्य रहेको पाइन्छ । जसका लागि विभिन्न उपाय र औषधिहरूको प्रचलन छ । पिनासको उपचारार्थ विविध रासायनिक औषधि, जडीबुटीहरू र त्यसबाट बनेका औषधि योगहरूका साथै र शस्त्रकर्म समेत गर्न सकिन्छ । इन्फेक्सन भएका र शस्त्र कर्म गर्नुपर्ने बाहेकका बिरामीलाई घरेलु उपचार वा आयुर्वेदिक उपचार गर्नु श्रेयष्कर हुन्छ । वनमारा, काफलको बोक्रा, क्यामुनको बोक्रा, तुलसी, कष्टकारी, मसीझार आदि पिनासमा उपयोगी जडीबुटीहरू हुन् । जसलाई हामीले स्थानीयस्तरमा प्रयोग गर्न सक्दछौं ।
आयुर्वेदमा पिनासको चिकित्सामा स्नेहन, स्वेदन, वमन, विरेचन आदि विधानको उल्लेख छ । बिरामीलाई विश्राम गराउने, हल्का उपाच्य भोजन दिने, प्रशस्त मात्रामा तातो झोेल पदार्थ दिने गर्नुपर्छ । दैनिक रूपमा बिहान सिधेनुनयुक्त मनतातो पानीले नेती गर्ने, षड्बिन्दु तेलको ३–३ थोपा दिनको तीन पटक नाकमा हालेर नस्य लिने, कब्जियत भएमा हटाउने, दहीमा मरिच र सक्खर राखेर सेवन गर्ने, पञ्चमूलीय क्षीरको प्रयोग गर्ने गर्नुपर्छ । लक्ष्मीविलास रस, महालक्ष्मीविलास रस, व्योषदी वुटी, त्रिभुवनकीर्ति रस, च्यावनप्रावशावलेह, गोदन्ती भष्म, अभ्रक भष्म, भृंगराजासवजस्ता औषध योगहरू पिनासमा उपयोगी मानिन्छन् । आधुनिक चिकित्सामा बन्द भएको नाक खुलाउन नजल ड्रप्सको प्रयोग, दुखाइ कम गर्न एनाल्जेसिक र संक्रमण भएको खण्डमा आवश्यक मात्रामा एन्टिबायोटिक्सको प्रयोग गरिन्छ । त्यस्तै नाकभित्र मासु पलाएको कारणले पिनास भएको भए शल्यक्रिया गरी उपचार गरिन्छ ।
रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो हो । यही कुरालाई मनन् गरी चिसोबाट बच्ने, संक्रमित रोगीबाट टाढा रहने, फोहोर हातले नाक नकोट्याउने, धेरै तातो र आद्र वातावरणमा धेरै समय नबस्ने, एलर्जी हुने तत्व, धूलो, धुवाँ आदिबाट बच्ने, धूमपान तथा मद्यपान नगर्ने आदि उपायहरू अपनाउँदा पिनासबाट केही हदसम्म बच्न सकिन्छ । कपालभाती, भस्त्रिका, नाडी शोधन आदि प्राणाम दैनिक रूपमा गर्नु पिनासको उपचार र रोकथाम दुवैमा सहायक सिद्ध हुन्छ ।
Leave a Reply