सुशीला बुढाथोकी,
सुर्खेतका कृष्ण विक (३२) ले होसको कुरा गर्न छाडेको पाँच वर्ष भयो । उनी एक्लै बोल्ने, हाँस्ने र टोलाउने गर्छन् । यही कारण, कृष्णका छोराछोरी उनको नजिक पर्न समेत डराउँछन् । परिवारका अनुसार पत्नीले अर्कैसँग विवाह गरेपछि उनमा यस्तो समस्या देखिएको हो ।
पत्नीले छाडेकै कारण मानसिक सन्तुलन गुमाएका थानकोटका विकास तामाङ (२२) शारीरिक रूपमा समेत दिनप्रतिदिन अस्वस्थ हुँदै गइरहेका छन् । उनी अस्पताल जाने भन्नेबित्तिकै घरबाट बेपत्ता हुन्छन् । घरबाटै धेरैचोटी हराएका तामाङ बाटोमा अरूले फालेको फोहोर टिप्ने र घर ल्याउने, मानिसलाई हातपातसमेत गर्छन् ।
दोलखा जिरीका कुमार जिरेल (३४) महिनाको एकपटक ललितपुरस्थित मानसिक अस्पताल धाउने गर्छन् । उनलाई बेलाबेलामा मुटु हल्लिएजस्तो हुने, निर्णय गर्न नसक्ने, काममा रुचि नहुने समस्या हुन्छ, जसलाई चिकित्सकले ‘मन डराउने’ रोग (एन्जाइटी) भनेका छन् । ट्रेकिङ व्यवसायी उनी अहिले उपचारपछि नियमित काम गर्न सक्ने भएका छन् । उनको काँधमा पत्नी, दुई छोराछोरी र बूढा बाबुआमा पाल्नुपर्ने जिम्मेवारी छ ।
पत्नीले छाडेको तनावका कारण मानसिक समस्या भोगिरहेका सुर्खेतका कृष्ण, थानकोटका विकास र घर परिवारको चिन्ताले पीडित कुमार जस्तै धेरै पुरुष उपचारका लागि अस्पताल धाइरहेका देखिन्छन् । देशभरका मानसिक स्वास्थ्य उपचार प्रदान गर्ने स्वास्थ्य संस्थामा यसरी विभिन्न खाले मानसिक समस्या लिएर जानेमा पुरुषको संख्या उल्लेख्य छ ।
परिवारका लागि आर्थिक जोहो गर्ने पुरुष नै बिरामी परेपछि उनीहरूका घरपरिवार पनि पीडामा बाँच्न बाध्य छन् । जस्तो कि, कृष्णका छोराछोरी अरूको सहारामा छन् भने कुनै समय कार चालकको काम गरी परिवारको गर्जो टार्ने विकास अहिले आमा विष्णुको सहारामा छन् । ज्याला मजदुरी गरेर परिवारको लालनपालन गरिरहेकी विष्णुलाई छोराको उपचार गर्न काम छाडेरै आउनुपर्छ । श्रीमान् सौता लिएर हिँडे, अर्को छोरा गाडीमा खलासीको काम गर्छ, म पनि काममा गइनँ भने त खानसमेत पाइन्नँ,’ उनको दुःखेसो छ ।
मानसिक रोग उपचारमा सबैभन्दा धेरै बिरामीको चाप हुने मानसिक अस्पताल लगनखेलको पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा अस्पतालको आकस्मिक, बहिरंग (ओपीडी) र अन्तरंग (भर्ना भएका) सबै ठाउँमा उपचार गर्न आउनेमा पुरुषको संख्या धेरै देखिन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार लिंगले महिला र पुरुषको मानसिक स्वास्थ्य र जीवन, उनीहरूको अर्थ सामाजिक स्थिति र उपचार, उनीहरूको संवेदनशीलता र विशिष्ट मानसिक स्वास्थ्य र मानसिक रोगको अनावरणमा उनीहरूमा निहित शक्ति र नियन्त्रण गर्ने क्षमताको निर्धारण गर्छ । यसले महिला र पुरुषका मानसिक स्वास्थ्य तथा मानसिक रोग समान नहुने अवधारणा राखेको स्पष्ट देखिन्छ ।
विज्ञहरूका अनुसार मानसिक रोग झन्डै चार सय प्रकारका हुन्छन् । नेपालमा बढी देखिएका मानसिक रोगहरूमा उदासीनता (डिप्रेसन), एन्जाइटी, मनोविक्षिप्त (साइकोसिस), छारेरोग, हिस्टेरिया आदि प्रमुख छन् । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार धेरैजसो ‘कडा’ खालका मानसिक रोगबाट पुरुष र ‘नरम’ खालका मानसिक रोगबाट महिला पीडित हुने गरेका छन् ।
धेरैजसोलाई कडा रोग नेपालमा मानसिक रोगको उपचार धेरैजसो अस्पतालहरूको बहिरंग विभागबाटै भइरहेको देखिन्छ भने कतिपयलाई आकस्मिक रूपमा वा डाक्टरले सिफारिस गरेपछि भर्ना गरिएको देखिन्छ । मानसिक अस्पताल लगनखेलका मनोचिकित्सक डा.वासुदेव कार्की नरम खालका मानसिक रोग अस्पतालमा भर्ना गर्नुपर्ने खालका नहुने बताउँछन् । उनका अनुसार जटिल खालका बिरामी जस्तै, औषधि खुवाउनै नसकिने, अरूलाई हानि गर्न सक्ने, रोग अझ बढी पत्ता लगाउन तथा निगरानीमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई भर्ना गर्नुपर्ने आवश्यकता हुन्छ ।
स्वास्थ्य सेवा विभागको तथ्यांकमा यसरी देशभरका अस्पतालमा भर्ना भएका बिरामीमा पनि पुरुषको संख्या धेरै देखिन्छ । गत तीन वर्षमा यसरी भर्ना हुनेमा कुल ६,२२४ पुरुष र ४,८२१ महिला छन् । आर्थिक वर्ष २०७०÷७१ मा पुरुष ६६० र महिला ३६१ भर्ना भएका छन् भने आर्थिक वर्ष ०७२÷७३ मा आइपुग्दा यो संख्या क्रमशः ३,८०५ र ३,००६ पुगेको छ ।
यसरी अस्पतालमा भर्ना भएकामा धेरैजसो पुरुषहरू रक्सी सेवनको कुलतबाट विभिन्न खाले कडा मानसिक रोग भएकाहरू त्था सिजोफ्रेनिया, साइकोसिसजस्ता कडा मानसिक रोगले पीडित भएका देखिन्छन् । यी तीन आर्थिक वर्षमा कुल ३१ महिला र ३९ पुरुषले उपचारको क्रममा ज्यान गुमाएका छन् ।
मानसिक अस्पतालपछि सबैभन्दा धेरै बिरामी जाने त्रिवि शिक्षण अस्पतालको मानसिक वार्ड पनि हरेकदिनजसो भरिभराउ देखिन्छ । अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख तथा मनोचिकित्सक डा. सरोजप्रसाद वझाका अनुसार त्यहाँ उपचारका लागि आएकामध्ये ८० देखि ८५ प्रतिशतमा नरम खालको एन्जाइटी पाइएको र बाँकीमा कडा खालको रोग साइकोसिस र सिजोफ्रेनिया देखिएको छ । २०–३० वर्षका पुरुषमा कडा खालको मानसिक रोग धेरै देखिएको छ । खासगरी, रक्सी, गाँजाको सेवन गर्ने, अविवाहित र आर्थिक अवस्था कमजोर भएका, बेरोजगार, दुर्गम स्थानबाट आएकाहरू बढी छन् । विवाहित पुरुषलाई चाहिँ सम्बन्धविच्छेद, व्यापारघाटा, अवकाश, कमजोर आर्थिक अवस्थाजस्ता विभिन्न कारणले नरम खालको डिप्रेसन भएको देखिन्छ,’ डा. वझा भन्छन् ।
अस्थिरताको उपज
विज्ञहरूका अनुसार लामो समयदेखिको व्याप्त राजनीतिक अस्थिरता, कम आर्थिक वृद्धिदर तथा बढ्दो व्यापार घाटाले समाज एक खालको दरिद्रतातर्फ उन्मुख भइरहेको देखिन्छ । विशेषगरी माओवादी द्वन्द्वको समाप्तिलगत्तै राजनीतिले कोल्टो फेरे पनि त्यसपछिका समय संविधान निर्माणको झमेलामा देश दसौं वर्षसम्म परिरहँदा मध्यम र निम्न आय भएका सर्वसाधारणको हितमा अर्थतन्त्र चलायमान हुन सकेन । त्यसमाथि संविधान निर्माणपछि तराई मधेसमा व्याप्त अस्थिरता, भारतको नाकाबन्दी तथा भूकम्पले मुलुकका आर्थिक, सामाजिक, सांस्कृतिक जगहरू नराम्रोसँग हल्लिन पुगेका छन् । विज्ञहरूको भनाइ छ– यी सबै अवस्थाको प्रभाव व्यक्तिको मानसिक अवस्थामा पनि परेको छ ।
यस्तै, आधुनिकीकरण, प्रविधिको विकासले पनि समस्या थपिँदा परिवारभित्रै तनाव बढाएको देखिन्छ । यसले खासगरी परिवारको पालनपोषणको जिम्मेवारी भएका पुरुषको आर्थिक संलग्नता बढाएको र महिलामा पारिवारिक चिन्ता थपिएको देखिन्छ । अर्कोतर्फ, समाजमा आर्थिक हैसियत तथा आम्दानीमा लैंगिक असमानता कायम भइरहनुले परिवारलाई भरथेग गर्न चाहने महिलासमेत पुरुषकै कमाइमा भर पर्न बाध्य देखिन्छन् ।
महिला, पुरुषको सामाजिक संरचना र विभिन्न खाले बाहिरी कारणले महिला तथा पुरुषमा तनाव उत्पन्न हुने मानवशास्त्री डा.सुरेश ढकालको विश्लेषण छ । उनका अनुसार, बढी अपेक्षा, बढी जिम्मेवारी लिनुपर्ने तर त्यसमा असफल भएपछि पुरुष बढी विक्षिप्त हुने गरेको पाइएको छ ।
पछिपछि महिला
देशभर भर्ना भएका बिरामीमा पुरुषसँगै महिलाको संख्या पनि बढ्दै गएको स्पष्ट देखिन्छ । यिनमा धेरैजसो उदासीनता, एन्जाइटी र रक्सी सेवनको लत भएका बिरामी देखिन्छन् । डा. वझा धेरैजसो महिलामा नरमखालको ‘एन्जाइटी डिसअर्डर डिप्रेसन’ देखिएको बताउँछन् । उनका अनुसार सामाजिक परिदृश्यमा महिलाले बच्चा जन्माउने, घरको जिम्मेवारी वहन गर्नुपर्ने, आमाको दायित्व तथा घरबाहिर हिँड्दा पाउने तनाव अत्यधिक हुन्छ । यसले गर्दा महिलामा बढी डिप्रेसन देखिने भए पनि कडा खालको डिप्रेसन भने कमै हुने गर्छ ।
मनोविद् करुणा कु“वरका भनाइमा मानसिक रोग महिला पुरुष दुवैमा बढ्दो क्रममा छ । धेरैजसोमा दैनिक जीवनका समस्या, सामाजिक विषय र पारिवारिक चिन्ता प्रमुख देखिन्छ । भन्छिन्, ‘नेपालमा मात्र होइन, संसारभरि नै डिप्रेसनको समस्या बढिरहेको छ जसले, आत्महत्यासमेत बढिरहेको छ ।’
मनोविद् कुँवरको बुझाइमा आधुनिकीकरण, असुरक्षित भविष्य, आर्थिक संकट आदिले संसारभर महिला बढी मारमा परेको र तिनमा पनि खासगरी सन्तान उत्पादन गर्ने उमेरका अर्थात् २०–४० वर्षका महिलालाई असर परेको छ ।
प्राध्यापक डा.सुरेशराज शर्मा क्षमताभन्दा बढी महत्वाकांक्षा र कतिपय अवस्थामा राम्रो आकांक्षा भए पनि राम्रो योग्यता नभएकोले महिला, पुरुष दुवैमा निराशा र तनाव बढ्दो भएको मान्छन् । उनी भन्छन्, ‘विज्ञानमा क्रियाको प्रतिक्रिया हुन्छ, त्यो सकारात्मक पनि हुन सक्छ, नकारात्मक पनि हुन सक्छ तर, अहिले धेरै नकारात्मक भएको अवस्था हो । यसको असर व्यक्तिको मानसिक स्वास्थ्यमा पनि परेको छ ।’
चरम बेवास्ता
नेपालमा मानसिक रोग उपचारमा मनोवैज्ञानिकभन्दा चिकित्सकीय पद्धति बढी प्रयोग हुने गरेको देखिन्छ । यसले मनोवैज्ञानिकरूपले वा मनोपरार्मशबाट निको हुन सक्ने रोगहरूमा समेत जटिलता ल्याएको देखिन्छ । ‘मानसिक अस्पताल र अन्य ठूला अस्पतालहरूमा मानसिक रोग उपचारको सेवा भएकोले केही सहजता त छ तर, जुन हदसम्म रोगको व्यापकता छ, त्यसअनुसारको उपचार सेवा उपलब्ध नभएकोले रोगीहरूले भनेजस्तो सेवा पाइरहेका छैनन्’, डा.कार्की भन्छन् ।
मनोविद कुँवर भने कसैलाई चिन्तामात्र लाग्दा पनि मानसिक रोगको रूपमा लिनुपर्ने सुझाउँछिन् । ‘यो विषयमा परिवार सचेत हुनु जरुरी छ । परिवारमा रोगकै कारण झगडा पर्ने, सामाजिक सम्बन्ध बिग्रने, सम्बन्धविच्छेद बढ्नेलगायतका समस्या बल्झिने भएकाले यस्ता परिणाम भोग्नुभन्दा पहिला नै उपचार गर्नुपर्छ,’ उनी थप्छिन्, ‘तर, नेपालमा उपचारका लागि थोरै मानिसमात्र सचेत छन् र जसको पहु“च छ, उसले मात्र उपचार पाइरहेको छ ।’
नेपालमा मानसिक स्वास्थ्य सेवालाई समेटेर बनेको मानसिक स्वास्थ्यसम्बन्धी राष्ट्रिय नीति २०५२ सालमै बनेको र २०५३ मा थप परिमार्जन भए पनि यो कार्यान्वयनमा आउन सकेको छैन । यस्तो बेवास्ताले महिला पुरुषको मानसिक स्वास्थ्यलाई प्रभावित पार्ने तत्व, रोगका प्रकृति, उपचार वा सेवा पहुँचसम्बन्धी अध्ययनसमेत हुन सकेका छैनन् ।
राष्ट्रिय स्वास्थ्य नीति २०७१ तथा नयाँ बन्न लागेको स्वास्थ्य नीति २०७४ ले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यजत्तिकै महत्वपूर्ण मानेको छ । तर, यो कहिले कार्यान्वयनमा आउने हो र मानसिक स्वास्थ्यसम्बन्धी कस्ता कार्यक्रमहरू बन्नेछन्, यकिन छैन ।
स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अन्तर्राष्ट्रिय सहयोग महाशाखा प्रमुख प्रा.डा. श्रीकृष्ण गिरी मानसिक स्वास्थ्य र उपचारको सेवा विस्तारमा धेरै काम गर्न बाँकी रहेको स्वीर्काछन् । उनका अनुसार मानसिक रोगलाई व्यक्ति, परिवार, समाज, कानुनलगायत देशका उपल्लो तहमा बस्नेहरूले समेत नबुझ्दा थप समस्या भएको हो । उनी भन्छन्, ‘पहिला अन्य सरुवा रोग र महामारीमा ध्यान गयो, अब विस्तारै मानसिक स्वास्थ्यको विषयले महत्व पाइरहेको छ, तर तल्लो तहसम्म पु¥याउन नीतिले नै निर्देशन दिने भएकोले यसलाई कुर्नुको विकल्प छैन ।’ (यो रिपोर्ट एन्टेना फाउन्डेसन नेपालको फेलोसिपमा तयार पारिएको हो ।)
Leave a Reply