डा. खेम कार्की
महिनावारी हुँदा यौनसम्पर्क गरेमा गर्भ रहन जाने सम्भावना धेरै नै कम हुन्छ । किनकि महिनावारी भएको समयमा डिम्बाशयबाट डिम्ब निस्केको हुँदैन । साथै पहिला निस्किसकेको डिम्ब र पाठेघरको भित्री भाग पनि तुहिएर गइसकेको हुनाले त्यसबेला शुक्रकिटसँग निसेचित हुने कुरै भएन । तर जुन महिलाको महिनावारी चक्र छोटो छ जस्तै करिब २० दिनमा महिनावारी हुन्छ भने त्यस्ता महिलामा महिनावारी भएको चार–पाँच दिनमा यौनसम्पर्क गरेमा गर्भ रहन सक्छ । त्यस्तै गरी विचार गर्नुपर्ने कुरा के हो भने महिनावारी भएको बेलामा यौनसम्पर्क गर्दा बरू अरू संक्रमित रोग निम्त्याउन सक्छ । त्यसैले महिनावारी भइरहेका बेलामा यौनसम्पर्क नगर्नु नै उत्तम हुन्छ । महिनावारी भएपछि यौनइच्छा घट्न पनि सक्छ र बढ्न पनि सक्छ । यो नितान्त व्यक्तिको शारीरिक अवस्थामा भर पर्छ ।
कुनै अध्ययनमा महिनावारी भएपछि डिम्बाशयबाट डिम्ब निस्केको समयमा यौनइच्छा बढी भएको जनाइएको छ भने अन्य अध्ययनमा केही महिलाहरूमा महिनावारी भएको बेला रागरसको कारणले गर्दा यौनइच्छा बढेको हुन्छ । तर कुनै अध्ययनमा भनेको छ कि महिनावारी भएको समयमा पेट दुख्ने, रिंगटा लाग्ने, मानसिक तनाव हुनेजस्ता समस्या हुनेहरूमा यौनइच्छामा कमी भएको बताइएको छ ।
Leave a Reply