हेल्थ टुडे
काठमाडौं : साझा यातायातले नेपालमै पहिलो पटक अपाङमैत्री ‘सेमी लो फ्लोर बस’ल्याएको छ । साझा यातायातले अपाङ्ग र अशक्तहरुका लागि विशेष सेवा दिने गरी बस ल्याएको हो । उक्त बसहरु अस्पताल वरपरका रुटमा चलाइने छ । सोमबार बस आइपुगेको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए । उनले साझा यातायातले प्राविधिक जाँचपास ,गाडी दर्ता गराएर रुट परमिट पाएपछि उक्त बसहरु सञ्चालन ल्याउने बताए ।
रुट परमिट लिन बाँकी रहेपनि पाटनदेखि त्रिपुरेश्वर (टिचिङ) बाँसबारी रुटमा रुटमा चलाउने भन्ने बारेमा छलफल भइरहेको पाण्डेले बताए । उनका अनुसार यो बस बढी अस्पतालहरु भएका क्षेत्रमा नै सञ्चालन हुनेछ । यो बस चिल्लो सडकमा मात्र गुडाउन सकिन्छ । खाल्डाखुल्डी भएका सडकहरुमा यो बस चलाउन सकिँदैन किनभने यसको ग्राउण्ड क्लिरेयन्स सामान्य बसको भन्दा कम हुन्छ । साझाले ल्याएको सेमी लो फ्लोर बस ड्राईभर सहित ४१ सिट भएको छ । यो बस सुविधायुक्त र आरामदायी छ । बसमा चढ्नका लागि ढोकामा एउटा मात्रै स्टेप रहेको छ । जसका कारण अशक्त र अपाङ्गहरु सहजै चढ्न सक्छन । अन्य सामान्य गाडीमा दुई तीनवटा स्टेपहरु हुन्छन् । उक्त बसको त्यो एक स्टेप पनि आवश्यकता अनुसार फोल्ड गरेर ह्विल चियर चढाउन सकिने साझा यातायातले जनाएको छ । यो बस १२ मिटरको लम्वाईको छ । साझाका अन्य डिलक्स बसहरु १० मिटर लम्बाईको मात्रै छन । अन्य सामान्य बसहरु ८ देखि ९ मिटरका हुन्छन । यस्तो खालको बसको ग्राउण्ड क्लियरेन्स एकदमै कम हुन्छ । सामान्य बसको क्लियरेन्स ९ मिलिमिटर हुन्छ तर यसमा जम्मा ४ सय मिलिमिटर मात्रै रहेको साझा यातायातले जनाएको छ । जसका कारण अपाङ्ग र अशक्तहरु सहजै चढ्न र ओर्लन सक्छन ।
यो बसको अर्को विशेषता भनेको ड्राईभर एनाउन्समेन्ट हो । चालकले यात्रुलाई बस कहाँ पुग्यो भन्ने बेला बेला जानकारी दिईरहन सक्छन । त्यसै गरी बसमा सिसिटीभी क्यामेरा जडान गरिएको छ । जसले गाडीभित्र हुने गरेका चोरी तथा हिंसाका घटनाहरुलाई रोक्छन । चढ्न र ओर्लनका लागि फरक फरक दुईवटा ढोकाहरु रहेका छन । साझाका अनुसार बस भित्रै ह्विल चियर राखेर त्यसमै बसेर समेत यात्रा गर्न सकिन्छ । सेमी लो फ्लोर बसका लागि १ करोड रुपैयाँ लाग्ने भएपनि यो बस ३५ लाख रुपैयाँ लागतमा ल्याईएको साझा यातायातले जनाएको छ । यी बस भारतमा तयार गरिएका हुन ।
Leave a Reply