सिलेट, बंगलादेश (एजेन्सी): सोमबार युएस–बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा १३ नेपाली विद्यार्थीको निधनप्रति बंगलादेशको सिलेटमा रहेको जलालाबाद रहिब–राबेया मेडिकल कलेजका विद्यार्थीले गहिरो शोक प्रकट गरेका छन्।मंगलबार कलेज परिसरमा जम्मा भएका विद्यार्थीले आफ्नो पोशाकमा कालो ब्याच लगाउँदै शोक व्यक्त गरे। यस्तै, आज हुने कक्षा तथा परीक्षामा सबै विद्यार्थी अनुपस्थित रहे।
कलेजका प्रधानाध्यापक डा अबेद हुसेनले बंगलादेशको पत्रिका ‘दि डेली स्टार’ लाई भनेका छन्, ‘हाम्रो कलेजमा २ सय ५० जना नेपाली विद्यार्थी अध्ययनरत छन्। यसमध्ये १३ जना एमबिबिएसको परीक्षा सकेर छुट्टीमा सोही विमानमा घर फर्कँदै थिए।’ तीमध्ये ११ जनाको दुर्घटनामा मृत्यु भएको छ।दुर्घटनापछि कलेजले तीन दिन शोक मनाउने निर्णय गरेको छ।दुर्घटनामा नेपाली विद्यार्थीहरु सञ्जय पौडेल, सञ्जय महर्जन, निगा महर्जन, एञ्जिला श्रेष्ठ, पूर्णिमा लोहनी, स्वेता थापा, मिली महर्जन, सरुना श्रेष्ठ, एल्जिना बराल, चारु बराल र आश्ना शाक्यको मृत्यु भएको थियो। यस्तै, दुई विद्यार्थी समिरा व्यञ्जनकार र प्रिन्सी धामी घाइते छन्। उनीहरुको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ।बंगलादेशकै कुमुदिनी उमेन्स मेडिकल कलेजमा पढ्ने नेपाली विद्यार्थी श्रेया झाको पनि दुर्घटनामा ज्यान गएको छ।
Leave a Reply