डा. कल्पना श्रेष्ठ,
मिर्गौला फेलका पाँचवटा स्टेज हुन्छन् । सबै अवस्थामा डाइलासिस वा प्रत्यारोपण नै गर्नुपर्छ भन्ने हुँदैन । जव मिर्गौलाले १५ प्रतिशतभन्दा कम काम गर्न थाल्छ वा मिर्गौलाले टक्सिन फाल्न सक्दैन त्यो अवस्थामा उसले रगत सफा गर्न सक्दैन । त्यसपछि मात्र डाइलासिस गर्नुपर्छ । लक्षण नै नदेखिई पनि मिर्गौला फेल हुन सक्छ । त्यसैले यसलाई ‘साइलेन्ट किलर’ पनि भन्ने गरिन्छ । केही बिरामी त एकैचोटी पाँचौं स्टेजमा पुगेपछि अस्पताल पुग्छन् । मिर्गौलाको रोग पनि पहिलो, दोस्रो स्टेजमै पत्ता लगाउन सकिए डाइलासिसमा लैजानु पर्दैन । तीन÷तीन महिनामा मिर्गौला जाँच गराउने गरेमा यसबाट धेरै हदसम्म बाँच्न सकिन्छ । मिर्गौला जाँच नगराएसम्म ‘म स्वस्थ्य छु’ भन्ने भ्रम पाल्नु हुँदैन । मिर्गौला जाँच गराएपछि मात्र ढुक्क हुन सकिन्छ । मिर्गौला जाँचका लागि न धेरै समय खर्चनुपर्छ न धेरै पैसा नै खर्च गर्नुपर्छ । तीन सय रुपैयाँ तिरेर एक दिनमै मिर्गौला जाँच गराउन सकिन्छ । ब्लड र पिसाबको रिपोर्टपछि आवश्यक उपचार विधि अपनाएर मिर्गौला फेल हुनबाट बच्न सकिन्छ ।
घरमै बसीबसी डाइलासिस
मिर्गौला फेल भएपछि बिरामीसँग उपचारका लागि दुईवटा विकल्प रहन्छन् । एक डायलासिस गर्ने र अर्को प्रत्यारोपण गर्ने । डाइलासिसभन्दा प्रत्यारोपण गर्नु उत्तम विकल्प हो । तर सबै अवस्थामा प्रत्यारोपण गर्न सकिँदैन । त्यसैले मिलेसम्म प्रत्यारोपण गर्नुपर्छ नमिल्ने अवस्थामा डाइलासिस गर्नुपर्छ । डाइलासिस विशेषगरी दुई किसिमका हुन्छन्, हेमोडाइलासिस र पेरिटोनियल । हेमोडाइलासिस भनेको मेसिनको सहायताले फोहोर रगत शरीरबाट निकालेर सफा गरेर फेरि शरीरभित्रै फर्काउने प्रक्रिया हो । हेमोडाइलासिस गर्न अस्पतालमै आउनुपर्छ भने पेरिटोनियल डाइलासिस घरमै बसेर गर्न सकिन्छ ।
पेरिटोनियल डाइलासिस
पेरिटोनियल डाइलासिस घरमै बसेर गर्न सकिन्छ । पेरिटोनियल डाइलासिस गर्दा पेटमा पाइप राखिएको हुन्छ । त्यसलाई क्याटेर भनिन्छ । त्यही पाइपको माध्यमबाट औषधि पानी पेटमा भरिन्छ । दुई लिटर पानी भरिन्छ । हरेक आठ घन्टामा त्यो पानी फेर्नुपर्छ । यो पानीले फोहोर पानी तान्छ र नयाँ पानी प्रवाह गर्छ । यस किसिमको डाइलासिस गर्दा पटुका बाँधेर अन्य काम गर्न सकिन्छ । स्कुल जान सकिन्छ । कार्यालयमा काम गर्न सकिन्छ । तर गरुंगो भारी बोक्ने काम गर्नेका लागि भने मिल्दैन । यो हेमोडाइलासिसभन्दा सजिलो छ । यो गर्दा मेसिन चाहिँदैन । बत्ती चाहिँदैन । अहिले मानव अंग प्रत्यारोपण केन्द्रमा मात्र १८० जनाले यस किसिमको सेवा पाइसकेका छन् । तर यस किसिमको डाइलासिस गर्दा संक्रमण हुने सम्भावना भएकाले पानी बदल्ने बेला भने सचेत हुनुपर्छ । यसमा बिरामीलाई पटकपटक सुईले घोचिरहनु पर्दैन । पेटमा राख्ने पानी हाम्रो देशमा उत्पादन हुँदैन । त्यो विदेशबाट मगाउनुपर्छ । त्यो औषधि पानी सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँछ । त्यो पानी स्लाइन पानीजस्तै हुन्छ । त्यसलाई सीएपीडी भनिन्छ । हेमोडाइलासिसमा नर्सको भूमिका बढी हुन्छ भने यसमा बिरामी आफैंले गर्न सक्छ । यसमा डाक्टर व्यस्त रहनु पर्दैन । हेमोडाइलासिस मेसिन मुटुको समस्या भएका व्यक्तिलाई गर्न मिल्दैन । त्यस्ताहरूका लागि यस किसिमको डाइलासिस उपयुक्त हुन्छ । यस किसिमको डाइलासिस गराउने बिरामीलाई हामी प्रत्येक तीनतीन महिनामा बोलाउँछौं । र जाँच गराएर पठाउँछौं । उनीहरूलाई पानी कसरी राख्ने भन्ने तालिम लिएका हुन्छौं ।
( डा.श्रेष्ठ मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरकी वरिष्ठ नेफ्रोलोजिस्ट हुन् । )
Leave a Reply