चादनी ढकाल,
नेपालमा सुरक्षित गर्भपतन सेवा ‘बुझ्नेका लागि श्रीखण्ड र नबुझ्नेका लागि खुर्पाको बिँड’ भन्ने नेपाली उखान जस्तै भएको छ । गर्भपतन सेवालाई परिवार नियोजनको साधनको रूपमा अँगाल्ने प्रवृत्तिले महिलाको प्रजनन् स्वास्थ्यमाथि नै समस्या पैदा गरेको छ । गर्भ बसिहाल्यो भने गर्भपतन सेवा उपलब्ध छँदै छ नि विकल्पमा भन्ने मानसिकताका कारण पटकपटक गर्भपतन गराउने महिलाको संख्या बर्सेनि बढिरहेको छ । सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि दोहो¥याएर गर्भपतन गराउने महिलाको संख्या अत्यधिक छ । पटक–पटक गर्भपतन गराउने प्रवृत्ति बढ्दै जानुमा महिलामात्र नभएर पुरुष पनि उत्तिकै दोषी छन् । अझ हाम्रोजस्तो पुरुष प्रधान समाजमा त यस मामिलामा महिलाभन्दा पुरुष झन् बढी भागीदार हुन्छन् भन्दा अन्यथा हुँदैन ।
हिजोआज हाम्रो समाजमा गर्भपतन सेवा परिवार नियोजनका साधनको विकल्पको रूपमा प्रयोग भइरहेको छ । गर्भपतन गराउने सुविधा छँदैछ नि भन्दै परिवार नियोजनका साधन प्रयोग नगर्ने गरेका छन् । यसमा महिलालाई वा पुरुष एक पक्षलाई मात्र दोष दिनु न्यायसंगत हँुदैन । शारीरिक सम्पर्क गर्ने बेला परिवार नियोजनका साधन प्रयोग नगर्ने अनि अनिश्चित गर्भ बसेपछि गर्भपतनको सहारा लिँदा महिलाको स्वास्थ्य जोखिममा पर्दै गइरहेको विज्ञहरूले बताउँदै आएका छन् । तर, उनीहरूको कुरा सुन्न र व्यवहारमा प्रयोग गर्न कोही राजी छैनन् । पटक–पटक गरिने गर्भपतनले महिलामा पाठेघरको मुखको क्यान्सर, बाँझोपन, तल्लोपेट दुख्नेजस्ता थुप्रै समस्या देखिने खतरा रहेको स्त्री तथा प्रसूति रोग विज्ञहरूको दाबी छ । गर्भपतन निजी स्वास्थ्य संस्थाहरूका लागि पैसा कमाउने गतिलो माध्यम बनेका छन् । यसका अलावा हिजोआज आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग पनि बढेको छ । यो असुरक्षित यौन सम्पर्कबाट अनिश्चित गर्भाधारण हुन नदिन महिलाले खाने चक्की हो । यसको प्रयोग पनि पटकपटक गर्नु स्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा कुल मातृ मृत्युमध्ये सात प्रतिशत मातृ मृत्यु गर्भपतनले हुने गरेको छ । गर्भपतनलाई परिवार नियोजनका साधनको रूपमा प्रयोग ग¥यो भने यसले सही काम नगर्न सक्छ । यसका साथै बाँझोपन लगायतका दीर्घकालीन समस्या पैदा गर्छ । महिलाले आफ्नो इच्छा विपरीत कसैले जबर्जस्ती यौनसम्पर्क राख्न बाध्य बनाएमा वा जबर्जस्ती करणी गरेको अवस्था वा सम्भोग गर्दागर्दै कण्डम फुटेमा वा कपर्टी बाहिर निस्केमा र महिला गर्भवती हुन नचाहेको अवस्थामा मात्र आकस्मिक गर्भ निरोधक चक्की प्रयोग गर्नुपर्छ ।
यो चक्की यौनसम्पर्क भएपछि जतिसक्दो चाँडो, एक सय २० घन्टाभित्रै प्रयोग गर्नुपर्छ । यो औषधि पसलमा किनेर सिटामोल खाएजस्तो सम्झनु हँुदैन । आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग गर्नैपर्ने अवस्था आएमा चिकित्सक वा तालिम प्राप्त स्वास्थ्यकर्मीको सल्लाह लिएर मात्र प्रयोग गर्नुपर्छ । यसलाई आकस्मिक उपायको रूपमा मात्र लिनुपर्छ ।
असुरक्षित गर्भपतनका कारण हुने मृत्युलाई रोक्न र अनिश्चित गर्भाधारणबाट बच्न राज्यले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिएको हो । यो सेवाले २०५९ मा कानुनी मान्यता पाएर २०६१ बाट सुरु भएको हो । सुरक्षित गर्भपतन सेवाका कारण सयौं महिलाले अकाल मृत्युबाट ज्यान बचाएका छन् । धेरैजसो महिलाले अनिश्चित गर्भाधारण गर्नु परेको छैन । यौन हिंसा र घरेलु हिंसाका घटना कम भएका छन् ।
Leave a Reply