हेल्थ टुडे,
काठमाडौं, १९ बैसाख : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालसँग मिलेर स्वास्थ्य क्षेत्र सुधारका लागि गर्नु पर्ने प्राथमिकता किटान गरेर पाँच वर्षे रणनीति सार्वजनिक गरेको छ । राजधानीमा बुधबार आयोजित बिशेष कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा आर्याल, स्वास्थ्य सचिव डा. पुष्पा चौधरी, डब्लूएचओका सहायक महानिर्देशक डा. रेन मेङ्गुई र डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भेन्डेलियरले संयुक्त रुपमा उक्त रणनीति सार्वजनिक गरेका हुन् ।
चार वटा क्षेत्रलाई बिशेष प्राथमिकता दिएर अगाडि बढ्ने रणनीतिमा उल्लेख गरिएको छ । संघिय संरचना अनुसार सबै जनतालाई स्वास्थ्य सेवा पहूच पुर्याउने, परिणाममूखी स्वास्थ्य सेवा प्रवाह गर्ने, स्वास्थ्य सुरक्षा, संभावित दैबीप्रकोपका बिषयमा तयारी र बहुपक्षिय सहकार्यका माध्यमबाट स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने कुरालाई रणनीतिले प्राथमिकतामा राखेको छ । डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भेन्डेलियरले स्थानियस्तरसम्म आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति, क्षयरोग नियन्त्रण, औलो उन्मुलन, नयाँ खोप उत्पादन, नसर्ने रोगको संक्रमण घटाउने र वातावरणीय स्वास्थ्यलाई रणनीतिले उच्च प्राथमिकता दिएको बताए ।
कार्यक्रममा स्वास्थ्य राज्य मन्त्री पद्मा आर्यालले नेपालको स्वास्थ्य सधारमा बिगत ६४ वर्षदेखि डब्लूएचओले गरिरहेको निरन्तर सहयोग र सहकार्यको लागि धन्यवाद दिदै रणनीतिले दिशानिर्देश गर्ने बताइन । उनले स्वास्थ्य क्षेत्रमा पछिल्ला वर्षमा दाताहरुको सहयोग घट्दै गएर २५ प्रतिसत मात्र सिमित रहेको जानकारी दिदै अव उनीहरुबाट सिप र अनुभवमात्र लिने रणनीति सरकारको रहेको बताइन । स्वास्थ्य सचिव डा. चौधरीले नेपालको स्वास्थ्य सुधारका लागि दातृ निकायको सहयोग र सहकार्य सधै आवश्यक रहेको र त्यसैकै परिणाम स्वरुप नेपालले स्वास्थ्यका क्षेत्रमा उल्लेखनिय प्रगति गरेको दाबी गरिन ।
Leave a Reply