हेल्थ टुडे,
काठमाडौं, २४ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा यौन तथा प्रजनन् स्वास्थ्यमा विदेशी राष्ट्रहरुलाई दिइने सहयोग कटौती गर्न ल्याएको नियम ‘ग्लोबल ग्याग रुल ’का कारण नेपालमा सञ्चालित यौन तथा प्रजनन् स्वास्थ्यका कार्यक्रमहरुमा नकारात्मक असर पर्न थालेको एक अध्ययनले देखाएको छ । वातावरण,स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) र इन्टरनेशनल ओमेन्स हेल्थ कोलिसन (आईडब्लूएचसी) ले शुक्रबार राजधानीमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले ग्लोवल ग्याग रुलले नेपालको महिला स्वास्थ्यमा भइरहेको प्रगतिलाई कायम राख्न बाधा पुर्याउने भएकाले सरकार सहित सरोकारवाला निकायले बेलैमा सचेत हुनु पर्ने आवश्यकता औल्याएको छ ।
डा. महेश पुरीको नेतृत्वमा, कृपाका कुशुम वाग्ले, भानिषा रायोज र यसस्वी डंगोलले संयुक्त रुपमा गरहेको अध्ययनमा ग्लोवल ग्याग रुपका कारण अमेरिकी सरकारले प्रदान गर्ने सहयोग राशी कटौती हुन थालेकाले बिशेष गरि सुरक्षित गर्भपतन सेवा प्रदानमा अवरोध आउने उल्लेख गरिएको छ । अध्ययनले अमेरिकी सरकारले नेपालको यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रका कति रकम उपलब्ध गराउदै आइरहेको र ग्याग रुलका कारण अहिलेसम्म कुन कुन सेवामा बाधा पुगेको प्रष्ट उल्लेख नगरिएको भए पनि यसले बिस्तारै सेवा प्रवाहमा असर देखिन थालेको औल्याइएको छ । कृपाले सन् २०१८ मा विभिन्न गैरसरकारी संस्था, सेवा प्रदायक संस्था, सरकारी अधिकारी, सेवाग्राही र मिडियाकर्मी गरि ३९ जनाको ग्याग रुलका बिषयमा गहन अन्तरवार्ता गरेको थियो । नेपालमा यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा कार्यरत आईपास नेपाल, मेरी स्टोप्स, परिवार नियोजन संघ लगायतका संस्थाहरुलाई कुनै न कुनै रुपमा अमेरिकाले सहयोग गर्दै आइरहेको थियो । कार्यक्रममा कृपाका अध्यक्ष आनन्द तामाङले ग्याग रुलका कारण नेपालमा यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा पर्ने असर देखिन थालेको दावी गर्दै अमेरिकी सरकारलाई यसलाई हटाउन दवाव दिनु पर्नेमा जोड दिए ।
आईपासका कन्ट्री डाइरेक्टर शिबेश रेग्मीले ग्याग रुलले बिगतमा त्यति धेरै असर परेको जस्तो नदेखिएको भए पनि सुरक्षित गर्भपतनका क्षेत्रमा पूर्ण रुपमा सहयोग कटौती भएकाले निकट भविश्यमै यसको गम्भिर असर देखिने दावी गरे । सुरक्षित गर्भपतन सेवाका साथै यसका बिषयमा जनचेतना जगाउने कार्यक्रममा समेत सहयोग रोकेकाले त्यसको असर मातृ मृत्यु र बालमृत्यु दरमा समेत पर्ने भएकाले सरकारले यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा बजेट बढाउनु पर्नेमा जोड दिए ।
Leave a Reply