हेल्थ टुडे,
ललितपुर, २९ फागुन : बिगत २२ वर्ष देखि मिर्गौला विरामीहरुलाई डायलासिस सेवा प्रदान गर्दै आइरहेको राष्ट्रिय मिर्गौला उपचार केन्द्रले काठमाडौंको बनस्थली सहित देशका ६ वटा स्थानबाट डायलासिस सेवा प्रदान गरिरहेको जनाएको छ । विश्व मिर्गौला दिवसको अवसरमा केन्द्रले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक समेत रहेका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले काठमाडौं, ललितपुर बाहेक देशका अन्य चार स्थानमा डायलासिस सेवा सञ्चालन गर्न सकेकोमा खुशी व्यक्त गर्दै विरामीको आवश्यकता अनुसार अन्य स्थानमा पनि सेवा विस्तार गर्ने गृहकार्य भइरहेको जानकारी दिए । केन्द्रले काठमाडौंको बनस्थलीमा ४२ वटा मेसिन मार्फत दैनिक एकसय ५० जनालाई, ललितपुरको सुमेरु अस्पतालमा १८ मेसिन मार्फत दैनिक ७० जनालाई, तनहूको जिल्ला अस्पताल दमौलीमा ८ वटा मेसिनबाट दैनिक २५ जनालाई, चितवनको रत्ननगर अस्पताल टाडीमा ५ मेसिनबाट दैनिक १५ जनालाई, मोरङको बिराटनगर गोल्छा आँखा अस्पतालमा ५ मेसिनबाट दैनिक १५ जनालाई र रामेछापको मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा ५ वटा मेसिनबाट दैनिक १५ जनालाई डायलासिस सेवा प्रदान गरिरहेको डा. काफ्ल्ेले बताए ।
मिर्गौला बिग्रिसकेपछि उपचार डायलासिस गराउनु भन्दा यसको रोकथाममै ध्यान दिनु पर्ने अहिलेको आवश्यकता रहेको बताउदै डा. काफ्लेले जनचेतान जगाउनका लागि मिर्गौला बचाउ अभियान अगाडि बढाउनु पर्ने आवश्यकतामा जोड दिए । नेपालमा हरेक वर्ष करिव ३ हजार जनाको मिर्गौला फेल हुने गरेको आकलन चिकित्सकहरुको छ । सरकारले डायलासिस सेवा र मिर्गौला प्रत्यारोपण समेत निशुल्क गरेको भए पनि विरामीको चापको अनुपातमा सेवा अपुग हुदा सयौं विरामीले पालो कुरेर बस्नु परेको अवस्था छ । ‘स्वस्थ्य मिर्गौला सबैकालागि सबै ठाउमा ’ भन्ने मुल नारामा साथ बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि विश्व मिर्गौला दिवस मनाइदै छ ।
Leave a Reply