हेल्थ टुडे,
काठमाडौं, ३ बैसाख : नेपालमा पहिलो पटक हुन लागेको प्रथम अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलनको तयारी पुरा भएको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको आयोजना तथा अंग प्रत्यारोपण समाज नेपाल र भारतीय प्रत्यारोपण समाजको सहकार्यमा यही बैसाख ७ र ८ गते राजधानीमा प्रथम अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन आयोजना हुने भएको हो ।
सम्मेलनमा अमेरिका, बेलायत, अष्टेलिया, जापान, सिंगापुर, श्रीलंका र भारतका करिव ३० जना प्रत्यारोपण विज्ञ, स्वदेशी प्रत्यारोपण विज्ञ र देशका ७७ जिल्लाका जिल्ला अस्पताल प्रमुख तथा नर्सिङ प्रमुख गरि ३०० भन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रत्यारोपणमा हुने असमानता हटाऔ भन्ने नाराका साथ हुन गइरहेको सम्मेलनको पहिलो दिन अंग प्रत्यारोपण सम्बन्धी विभिन्न प्राविधिक बिषयहरुमा छलफल हुने र दोश्रो दिन देशका ७७ वटै जिल्लाबाट आएका जिल्ला अस्पताल प्रमुख र नर्सिङ प्रमुखलाई प्रत्यारोपण तथा मस्तिष्क मृत्यु सम्बन्धी जनचेतना अभिवृद्घि गर्ने उद्देश्यले गहन छलफलका साथै अन्तरक्रिया कार्यक्रम राखिएको आयोजक शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक एवं प्रत्यारोपण विद् डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।
विश्विका विभिन्न देशका प्रत्यारोपण विज्ञहरुबाट अंग प्रत्यारोपणको क्षेत्रमा भइरहेको प्रविधिको विकाश, ज्ञान, सिप तथा नयाँ उपलब्धिको आदान प्रदान हुने र नेपाल जस्तो विकासोन्मुख देशमा अंगदान र प्रत्यारोपणका क्षेत्रमा जनचेतना बिस्तार गर्ने उद्देश्यका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्विकृतिमा केन्द्र, प्रदेश र जिल्ला स्तरीय अस्पतालसम्मका अस्पताल प्रमुख र नर्सिङ प्रमुखलाई सहभागी गराउन लागिएको आयोजक कमिटीका अध्यक्ष समेत रहेका डा. श्रेष्ठले बताए । सम्मेलनमा करिव ३५ वटा अंग प्रत्यारोपण सम्बन्धि कार्यपत्र प्रस्तुत हुने आयोजक कमिटिका सदस्य सचिव डा. सुमित आचार्यले जानकारी दिए ।
सम्मेलनमा भाग लिन विज्ञहरु काठमाडौं आउन सुरु भइसकेको हस्पिटालिटी तथा लजिस्टिक कमिटिका अध्यक्ष डा. कल्पना श्रेष्ठले जानकारी दिइन । सम्मेलनमा बैज्ञानिक कमिटिको नेतृत्व प्रा. डा. राकेश बर्मा रहेका छन् । सम्मेलन आयोजक कमिटिका सदस्यहरुमा डा. गुणकुमार श्रेष्ठ, डा. दिलिप शर्मा, डा. गोपी अर्याल, डा. राजिव झा, डा. दिपेशलाल गुरुवाचार्य, डा. यादवदेब भट्ट, डा. मोहनदेब भण्डारी, डा. सुधांशु केसी, डा. बिनिता जोशी, डा. अनन्त श्रेष्ठ लगायत छन ।
कार्यक्रमको सल्लाहकारमा प्रा. डा. आई.एल. आचार्य, प्रा.डा. विश्वराज जोशी, प्रा.डा. सुवोध अधिकारी, प्रा. डा. विडी झा, प्रा. डा. बसन्त पन्त, प्रा. डा. पवन सुल्तानिया र प्रा. डा. सन्तोषमान श्रेष्ठ रहेका छन् । नेपालमा सरकारी अस्पतालहरु शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा कलेजो प्रत्यारोपण सेवा पनि उपलब्ध छ । त्यसैगरि ग्राण्डी हस्पिटल, निदान हस्पिटल लगायतका निजी क्षेत्रका अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले पाँच वर्षको अवधिमा ६ सयको मिर्गौला प्रत्यारोपण गरिसकेको छ ।
Leave a Reply