हेल्थ टुडे,
काठमाडौ,३१ जेठः चाबहिलस्थित ओम अस्पतालमा पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएपछि बिरामीको मृत्यु भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की ५० वर्षीया रामप्यारी थापामगरको बिहीबार बिहान मृत्यु भएको हो । मगरको गत शुक्रबार शल्यक्रिया गरिएको थियो ।
डा.रविन कोइरालाको टिमले पत्थरी निकाल्ने क्रममा काटिएको आन्द्रा नजोड्दा शरीरमा संक्रमण फैलिएर मृत्यु भएको आफन्तको आरोप छ । अप्रेसनका क्रममा काटिएको आन्द्रा त्यत्तिकै छाडेर बाहिर छाला मात्रै जोड्दा संक्रमण भएर ज्यान गएको आफन्तले बताएका छन् । मृतकका बैनीज्वाइँ खड्ग श्रेष्ठ भने ‘शनिबार स्वास्थ्य गम्भीर बन्दै गएपछि चिकित्सकले पुनः खोलेर भित्र हेरे । त्यसपछि मात्रै बिरामीको डेढ मिटर आन्द्रा काटिएको जानकारी दिए । दिदीलाई आइसियूमा राखे । आइतबार फेरि शल्यक्रिया गरे । एकैचोटि बिहीबार बिहान ७ बजे मृत्युको जानकारी गराए । आन्द्रा काटिएका कारण दिशाबाट शरीरभर संक्रमण फैलिएर ज्यान गएको रहेछ ।’
अस्पतालका मेडिकल डाइरेक्टर डा. केपी देवकोटाले उपचारका क्रममा कुनै लापरबाही नभएको बताए। उनले भनेः‘ अस्पतालले उहाँलाई सकेसम्म बचाउने र राम्रो उपचार सेवा दिएको हो, तर दुर्भाग्य डाक्टरहरुले प्रयास गर्दा पनि बचाउन सकेनन्।’ बिरामीका आफन्तले घटनाको विषयमा उचित छानबिन गर्दै दोषीलाई कारबाही र क्षतिपूर्तीको माग गरेका छन्।
ओम अस्पतालमा यसअघि पनि सामान्य उपचारका क्रममा बिरामीको ज्यान गएका थुप्रै घटना छन् । यस्ता गल्तीका कारण अस्पताल पटक–पटक विवादमा आउने गरेको छ ।
Leave a Reply