स्वास्थ्य मन्त्रायल मातहतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको समेत संलग्नतामा हालै गरिएको एक अध्ययनले नेपालमा महिला यौनकर्मीको संख्या ह्वात्तै बढेको रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टले ६ वर्षको अवधिमा नेपालमा महिला यौनकर्मीको संख्या दोब्बर बढेको देखाएको छ ।
स्वास्थ्य मन्त्रालयले ठिक ६ बर्ष पहिले गरेको सर्वेक्षणले नेपालमा २७ हजार यौनकर्मि रहेको अनुमान गरेको थियो । त्यसपछि ग्लोबल फन्डले गरेको आईबीबीएस (इन्टिग्रेटेड बायोलोजिकल एन्ड बिहेवियरल सर्भिलेन्स) सर्भेक्षणले पनि नेपालमा २७ हजार यौनकर्मी महिला रहेको औंल्याएको थियो । तर यो ६ बर्षको अवधिमा महिला यौनकर्मिको संख्या दोब्बर अर्थात ५४ हजार १९७ रहेको देखायो । केन्द्रको अगुवाईमा सेभ द चिल्ड्रेन, ग्लोबल फण्ड र यो क्षेत्रमा कार्यरत सम्बन्धित अन्य सञ्जालहरुको सहकार्यमा २०७३ भदौदेखि मंसिरसम्म ४४ जिल्लामा तथ्यांक संकलन र ३१ जिल्लाको आकलन गरि रिपोर्ट सार्वजनिक गरिएको छ । अध्ययनले नेपालमा महिला यौनकर्मीको संख्या न्युनतम ४३ हजार ८२९ देखि अधिकतम ५४ हजार १९७ रहेको देखाएको छ । यौन व्यवसाय परापूर्व कालदेखि नै चलिआएको व्यवसाय हो । यो एकाएक नेपालमा आयातित भएको होइन । संसारमा यौन व्यवसाय पुरानो पेसाका रूपमा लिइन्छ । युरोप, अमेरिका, अफ्रिकामात्र नभएर कतिपय एसियन देशका लागि समेत यौन व्यवसाय आयआर्जन गर्ने गतिलो माध्यम बनेको छ । थाइल्यान्ड, सिंगापुर, भारतलगायतका एसियाली मुलुकहरूले यौन व्यवसायबाट अर्बौं कमाउँछन् ।
यो व्यवसायलाई पर्यटन व्यवसायको मुख्य आधारका रूपमा लिइन्छ त्यहाँ । यौन व्यवसायलाई कानुनी मान्यता प्रदान गरेका देशहरूका लागि त यो मनोरञ्जनका साथै राजस्वको राम्रै स्रोत बनेको छ । हाम्रो देशमा यो व्यवसायलाई राज्यले कानुनी मान्यता दिएको छैन । तर यसको अर्थ यो व्यवसाय छैन भन्ने होइन । यो व्यवसायले कानुनी मान्यता नपाएपछि दिनप्रतिदिन फस्टाइरहेको छ । यसमा सयौं होइन हजारौ युवायुवती संलग्न छन् । राजधानीका तारे होटेलदेखि डान्सबारसम्म, गेस्ट हाउसदेखि भट्टीसम्म, बसपार्कदेखि सडकपेटीसम्म यो व्यवसाय व्याप्त छ । राजधानीलगायत नेपालका प्रमुख सहरहरू धरान, विराटनगर, नारायणघाट, पोखरा, नेपालगन्ज, बुटवल, धनगढी, वीरगन्जलगायत सबै सहरमा यौन व्यवसाय फस्टाउँदो छ । निजामती सेवादेखि प्रहरी, सुरक्षा निकाय, राजनीतिज्ञ, सवारीचालक, व्यापारी, उद्योगी यी सबै यौनकर्मिका ग्राहक हुन् ।
आखित किन बढ्दैछन त यौनकर्मी महिला ?
नेपालमा ६ बर्षमा किन बढे त महिला यौनकर्मी ? यसको उत्तर ठ्याक्के सहज छैन । यौनकर्मी महिलाको अधिकारर रक्षाका क्षेत्रमा कार्यरत जागृति महिला महासंघकी कार्यक्रम निर्देशक विजया ढकालका अनुसार नेपालमा यौन व्यवसायमा रहेका ठूलो संख्यामा रहेका महिला पढेलेखेका छैनन् । उनीहरुमध्ये अधिकांश जिवन निर्वाह गर्न पुग्ने रोजगारी नपाएर यो क्षेत्रमा आएका हुन । रहरले यो पेसामा आएका महिला भए पनि त्यो संख्या निकै कम र त्यो अदृश्य छ । जिवन निवार्ह गर्न पुग्ने रोजगारी नपाएरै यो व्यवसायमा महिलाको संख्या बढेको ढकालको बुझाई छ । यसका अलावा महिलामाथि हुने यौन हिंसा, घरेलु हिंसा र अन्य हिंसा सहन नसकी सबैबाट तिरस्कृत भए पछि बाच्नका लागि मात्र भएपनि यो पेसामा आएका महिला बढी छन् । पछिल्ला दिनमा कलेज पढ्दा पढ्दै यो व्यवसाय अंगाल्ने युवतीको संख्या बढ्दै गइरहेको पाइएको छ । शहरमा हाइफाई जिवनशैली जिउन चाहने तर घरबाट बुबाआमाले पढाईका लागि भनेर पठाएको सिमित खर्चले पुग्ने अवस्था नभएपछि कलेज अध्ययनरत केटीहरु यो व्यवसायमा आउने गरेको विजया सुनाउछिन । उनी भन्छिन, ‘राजधानीमा रोगजारी पाउन मुस्किल हुने र पाई हालेपनि न्युनतम तलवले महिनाको खर्च टार्न धौधौ हुने भएकाले सजिलै धेरै पैसा कमाउने पेसाको रुपमा उनीहरुले यो व्यवसाय सुरु गर्ने गरेको पाइन्छ । ’
महिला हिंसा सहन नसकेर बाध्यतावस यो व्यवसायमा लागेका अधबैसे महिलाको तुलनामा कलेज पढ्ने युवतीहरुले यो व्यवसायबाट महिलामा सजिलै लाख भन्दा बढी कमाउन सकिने भएकाले यौनकर्मी महिलाको संख्या बढेको पाइएको छ । यौनकर्मी महिलाको अधिकारका क्षेत्रमा कार्यरत शान्ति तिवारीका अनुसार गत वर्ष गएको भूकम्प पनि यौनकर्मि महिलाको संख्या बढाउने प्रमुख कारण हो । भूकम्पका कारण घरवार विहिन भएर राजधानी छिरेका महिलाहरु पनि पेट पाल्न र बालबच्चाको पढाईका लागि यौनकर्मि भएका छन् । यो संख्या ठूलो रहेको उनको अनुमान छ ।
बैदेशिक रोजागरीमा गएका नेपाली पुरुषको संख्या ३० लाख भन्दा बढी छ । त्यहा गएका सबैले राम्रो आम्दानी गर्छन र गरेका छन भन्ने छैन । लामो समयको लागि रोजागारीका लागि खाडी लगायत विदेश गएकाहरु मध्ये आधा भन्दा बढी विवाहित छन । लामो समयसम्म यौनसम्पर्क गर्न नपाउदा र खर्चको अभाव भएपछि उनीहरुका श्रीमती पनि यो पेसामा आउने गरेको पाइएको छ । यसले पनि यौनकर्मी महिलाको संख्या बढाउनमा बल पुगेको जागृति महिला महासंघका कार्यक्रम प्रवन्धक राजन केसी बताउछन् ।
आफ्नो श्रीमानबाट यौन सन्तुष्ट नहुने महिलाको संख्या पनि उल्लेख्य रहेको पाइन्छ । व्यापार व्यवसायमा बढी व्यस्त रहने, श्रीमतीलाई समय दिन नसक्ने, बाहिरको महिलासंग बढी हिमचिम गर्ने अधिकांश पुरुषका पत्नी कुनै न कुनै रुपले यौन व्यवसायमा लागेको पाइन्छ ।
धेरैजसो यौनकर्मीले बालबच्चालाई आफ्नो पेसा लुकाउछन् । उनीहरूलाई राम्रो स्कुल, कलेज पढाइरहेका छन् । आफ्ना अनुहार उनीहरूमा देखिरहेका हुन्छन् ।
यौनकर्मी महिलाको संख्या ह्वात्तै बढ्नु स्वास्थ्यको दृष्टिले जोखिमपूर्ण मानिन्छ । एचआईभी र एड्सको जोखिममा रहेका समूहमध्ये महिला यौनकर्मी पहिलो नम्बरमा आउछन । जानेर होस वा नजानेर होस र कहिले काही बाध्यताबस समेत उनीहरु असुरक्षित यौन सम्पर्कको अवस्थाामा पुग्ने गरेका छन् । धेरैलाई असुरक्षित यौन सम्पर्कका कारण यौनरोगका साथै एचआईभी संक्रमण हुने थाहा भए पनि उनीहरुका ग्राहकले कण्डम लगाउन नमान्ने प्रवृतिले उनीहरु उच्च जोखिममा रहेका हुन्छन । यौनकर्मी महिलाको संख्या बढ्नु भएको एचआईभी संक्रमणको जोखिम बढ्नु हो । त्यसैले सरकारले यो समूहसम्म एचआईभी जनचेतना जस्ता कार्यक्रम लैजानु पर्छ । अनिश्चित गर्भपतन, बलात्कार, यौनदुव्यवहार लगायतका घटना पनि उनीहरुमाथि बढी हुने गरेको छ ।सरकारले एचआईभी र यौनकर्मी महिलासंग गरिदै आएको दोहोरो चरित्र देखाउनु हुदैन । एकातिर एचआईभी संक्रमण रोक्न भनेर सरकारी निकाय स्वास्थ्य मन्त्रालयले महिला यौनकर्मीलाई सुरक्षित यौन सम्पर्कका लागि कण्डम बाढ्दै हिड्ने र अर्को निकाय गृह मन्त्रालय मातहतका प्रहरीले कण्डम बोकेकै निहूमा यौनकर्मीलाई पक्रने गर्नु बन्द गर्नु पर्छ । यौनकर्मी महिलामाझ परिवार नियोजनका कार्यक्रम बिस्तार गर्नु पर्छ ।
उनीहरुले सहज रुपमा परिवार नियोजन सेवा उपलब्ध गराउनु पर्छ । नेपाल परिवार नियोजनले उनीहरुको पहूच बढाउन प्रयास गरिरहेको भए पनि त्यो प्रयाप्त हुन सकेको छैन । यसमा सरकारले सहयोग गर्नु पर्छ । संविधानले नै हरेक महिलालाई प्रजनन् तथा स्वास्थ्यका अधिकार प्रदान गरेको छ । त्यसका् ग्यारंटी सरकारले गर्नु पर्छ ।
स्वास्थ्य सेवासम्म पहूच नभएकाले अधिकांश यौनकर्मि आफ्ना स्वास्थ्य समस्या लुकाएर राख्ने गरेका छन । किनकी यौनकर्मि भएको थाहा पाए पछि भर्ना गरिएको विरामीको समेत उपचार हुने अवस्था छैन । अधिकांश यौन व्यवासायी आफ्नो पेसा परिवर्तन गर्न चाहन्छन् तर उनीहरुका सामुन्ने उचित विकल्प छैन् । सानोतिनो सिलाई, बुनाई, कटाईको तामिल गरेर सुरु गर्ने व्यवसायबाट त हातमुख जोर्न पनि सकिदैन । अनी उनीहरु त्यही पेसामा फर्कन बाध्य छन् । सरकारले साच्चिकै यौनकर्मी महिलालाई यो पेसाको विकल्प दिने हो भने उनीहरुको जिविकोपार्जन हुने किसिमको रोजागारीको प्रवन्ध गर्नु पर्छ । नत्र गरेको जस्तो देखाएर नाम मात्रका सिपमूलक तालिमले यो पेसामा लाग्ने महिलाको संख्या घट्दैन । – पदमराज जोशी
Leave a Reply