• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

यसरी लुटिन्छन् अस्पतालमा विरामी

December 8th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसरी लुटिन्छन् अस्पतालमा विरामी

सन्ध्या केसी

स्वास्थ सेवा हो, व्यापार होइन । विडम्बना आधुनिक समयमा स्वास्थलाई सेवा कम व्यापार बढी बनाउन थालिएको छ । अस्पताल स्वास्थ सेवाभन्दा कमाउने माध्यम बनाइन थालेको छ । बिरामीलाई उत्कृष्ठ सेवा दिनेभन्दा उसबाट कसरी बढीभन्दा बढी रकम असुल्न सकिन्छ भन्ने ध्याउन्नमा अस्पतालहरु लागेको पाइन्छ । गम्भिर प्रवृतिको रोगको उपचारका लागि बिरामीलाई अस्पताल लैजाँदा प्रयोग हुने एम्बुलेन्सबाटै कमिसनको खेल सुरु हुन्छ । बिरामीलाई कुन अस्पताल लैजाने भन्नेबारेमै कमिसनको ठूलो खेल हुने गरेको छ । बिरामी अस्पताल पुगेपछि स्वास्थ्य परीक्षणका नाममा कमिसनको खेल हुन्छ । परीक्षण सकिएपछि कुन कम्पनीको औषधि लेख्ने र त्यो लेखेबाफत पनि कमिसनकै खेल चल्छ । त्यसपछि अप्रेसनमा, शैयामा र आईसीयू  र सीसीयूमा समेत चरम कमिसनको जालो ।

उपचारका लागि अस्पताल आउने विरामीको ढाड कमिसनको चक्करले सेक्ने गरिएको छ । कसिसनको जालो निजी अस्पतालमा मात्र सिमित छैन । सरकारी अस्पतालमा झन कमिसनखोरी बढेका छन् । उनीहरुले बिरामीको खल्ती छामेर कमिसनकै प्रभावमा निजी अस्पताल पुर्याउँछन्, यो या त्यो बहानामा । कहिले सरकारीमा पालो पाइँदैन भन्ने निहुमा त कहिले यहाँ भन्दा निजीको शल्यक्रिया भरपर्दो हुन्छ भन्दै कमिसनको खेल खेलिन्छ । कतिपय सरकारी अस्पतालका कर्मचारी, डाक्टर नै निजीसँग संलग्न भएकाले पनि यो कमिसनको खेल फस्टाइरहेको जानकारहरु बताउँछन् । कमिसनकै चक्करले एक हजार रुपैयाँ खर्चमा उपचार गराउन सक्ने बिरामीले कम्तिमा १० हजार खर्चनु परेको छ । किमिसनको चक्करका कारण चिकित्सा क्षेत्रमा बिरामी र डाक्टरबीचको विश्वासको खाडल गहिरिँदै गइरहेको छ ।

बिरामीको स्वास्थलाभको मन्दिरका रुपमा हेरिने अस्पताल कमिसनका अखाडा बन्न थालेपछि सेवाग्राहीको अस्पतालप्रतिको धारणा नै फेरिने अवस्था आउन थालेको भुक्तभोगीहरु बताउँछन् । चिकित्सा पेसालाई सेवा भन्दा व्यापारका रुपमा हेर्ने परिपाटीले पछिल्लो समयमा उपचारमा संलग्न चिकित्सक र बिरामी पक्षबीच अविश्वासको खाडल झन गहिरिँदै गइरहेको छ । देशभरिका अस्पतालहरुमा हुने घटनाले यही अवस्थालाई चित्रण गर्छ । चिकित्सा पेसामा सेवाभावभन्दा बिरामी लुटेर कमाउने प्रवृत्ति बढिरहेको छ । कहिले उपचारमा लापरवाही गरेको आरोपमा अस्पताल तोडफोड हुन्छ त कहिले चिकित्सकमाथि हातपात । अनि क्षतिपूर्तिको माग । अस्पतालले गल्ती स्वीकार गरेर गुपचुप रुपमा मृतकका आफन्तलाई २० लाख देखि ३० लाखसम्म क्षतिपूर्ति दिएर केस शान्त पारिएका घटनाको पछाडि पनि कमिसनकै चक्करले काम गरिरहेको तथ्य प्रस्ट हुन्छ । यसरी नत गल्ती गर्ने चिकित्सकमाथि उल्लेख्य कारवाही हुन्छ त विना कुनै गल्ती अस्पताल तोडफोड गर्नेमाथि सजाय नै हुन्छ ।

नेपाल मेडिकल काउन्सिलले उपचारमा लापरवाही वा गल्ती गर्ने चिकित्सकमाथि कारवाही गर्नु पर्नेमा उ रमिते बनेर बसको छ । उपचारका क्रममा गम्भिर गल्ती गर्ने चिकित्सकलाई समेत समान्य नसिहत दिने बाहेक कडा कारवाही नहुने गरेकाले यस्ता घटना दोहरिइरहन्छन् । चिकित्सक र बिरामीबीच बढदो अविश्वासका कारण समाजमा नेपाली चिकित्सकप्रतिको मानसम्मान र प्रतिष्ठा समेत गिर्दो छ ।  पैसावालाहरु नेपालमै गर्न सकिने उपचारका लागि समेत विदेश गइरहेका छन । नेपालमा मुटु, मिर्गौला, नशाजस्ता जटिल रोगको उपचार गर्ने विज्ञ र सुविधासम्पन्न अस्पताल नभएका होइनन् । तर यहाँ गर्नसकिने उपचारका लागि पनि हरेक दिन सयौं नेपाली विदेश गइरहेका छन् । एकातिर बिरामी उपचारका लागि अस्पताल जानै डराउँछन भने लापरवाहीको आरोप र क्षतिपूर्तिको भयले चिकित्सकसमेत किसिस्त बिरामी आफूकहाँ नआए हुन्थ्यो भन्ने मनस्थितिमा पुगेको पाइन्छ । सानोतिनो उपचारका लागि पनि विभिन्न परीक्षण गराइन्छ । यसले बिरामीको टाउकोमा ऋणको बोझ थपिएको सहज अनुमान गर्न सकिन्छ । अस्पताल गएपछि मेरो उपचारमा लापरवाही हुँदैन, म निको भएर घर फर्कन्छु, अनावश्यक परीक्षणका नाममा चर्को शुल्क लिइँदैन भन्ने विश्वास बिरामीमा छैन ।

किसिस्त बिरामी उपचारका लागि आएपछि उपचारका क्रममा उसको मृत्यु भएमा लापरवाही गरेको आरोपमा आक्रमण हुने र क्षतिपूर्ति समेत बेहोर्नुपर्ने पो हो कि भन्ने चिन्ताले सताउन थालेको छ– चिकित्सक र अस्पताल संचालकलाई । बिरामी पनि डराई डराई उपचारका लागि डाक्टरकहाँ जानुपर्ने अवस्था छ भने डाक्टरले पनि डराई डराई उपचार गर्नु परेको अवस्था छ । अस्पतालले लिने सेवाशुल्कबाहेक अविश्वास बढ्ने अर्को कारण हो चिकित्सकको दक्षता । पहिलेपहिले विदेशबाट एमबीबीएस वा विशेषज्ञता हासिल गरेर आएका चिकित्सकमाथि विश्वास हुन्थ्यो । भगवान्जस्तै पुजिन्थे उनीहरु । उनीहरुले विदेशमा नयाँनयाँ उपचार सीप र प्रविधि सिकेर आएका होलान भन्ने विश्वास गरिन्थ्यो र उनीहरुले त्यो विश्वास टुट्न पनि दिएका थिएनन । तर पछिल्ला वर्ष चिकित्साशास्त्र पढ्न विदेश जानेले सिकेर आएको सीप र दक्षतामाथि नै प्रश्न उठन थालेको छ ।

नेपाल मेडिकल काउन्सिलले लिने गरेको चिकित्सक दर्ता परीक्षा (लाइसेन्सिङ परीक्षा) मा विदेशमा एमबीबीएस पास गरेर आएका ६० प्रतिशतभन्दा बढी चिकित्सक फेल हुने गरेका घटनाले समेत उनीहरुले पढेर ल्याएको दक्षतामाथि प्रश्नचिन्ह खडा गरेको छ । एमबीबीएस उत्तीर्ण मात्र नभएर विशेषज्ञ चिकित्सकसमेत लाइसेन्सिङ परीक्षामा फेल हुनु पनि विश्वासको खाडल बढनुको अर्को कारण बनेको छ । नेपाल मेडिकल काउन्सिलका पूर्व अध्यक्ष दामोदर गजुरेलका अनुसार लाइसेन्सिङ परीक्षामा आधारभूत प्रश्नमात्र सोधिन्छ । त्यस्ता प्रश्नको ज्ञानसमेत नभएका चिकित्सकले बिरामीको गुणस्तरीय उपचार कसरी गर्लान् ?

यसरी उत्पादित जनशक्तिका कारण पनि विरामी र चिकित्सकबीच खाडल बढ्दै गइरहेको विज्ञहरु बताउँछन । जनस्वास्थ्यविद अरुणा उप्रेतीका अनुसार बिरामी र चिकित्सकबीच सञ्चारको कमीले पनि अविश्वासको खाडल गहिरिएको हो । उनी भन्छिन, ‘डाक्टरले बिरामीलाई औषधि के दिने भन्ने विषयमा मात्र सोच्यो, बिरामीका कुरा सुन्न चाहेनन । अनि समस्या आयो ।’ नेपालमा जनसंख्याको अनुपातमा चिकित्सक तथा स्वास्थ्यकर्मीको संख्या निकै न्यून हुनु पनि एउटा कारण मान्न सकिन्छ । नेपालमा स्वास्थ्यसेवा महंगिदो छ । यसो हुनुमा चिकित्सा पेसामा संलग्न व्यक्तिमा सेवाभाव घट्दै जानु र अर्थोपार्जनमा ध्यान जानु हो । त्यसो त चिकित्सक बन्दा उसले खर्चनु परेको रकम पनि सानो हुँदैन । अत्याधुनिक यन्त्र, उपकरण र उपचारविधि विश्वबजारमै महंगो हुँदै गइरहेको छ । जनस्वास्थविद् डा. अरुणा उप्रेतीका अनुसार नेपालमा चाहिनेभन्दा बढी प्रविधिको प्रयोग गरिने भएकाले स्वास्थ्यसेवा महंगो भएको हो । उनी भन्छन्, ‘चिकित्सकहरु आफूले जानेको सीप उपयोग नगरेर प्रविधिमा मात्र भर पर्न थाले, यसले स्वास्थ सेवा महगो हुन गएको हो । ’

नेपालमा स्वास्थ्यसेवा महंगो हुनुको अर्को कारण हो, चिकित्सक बन्न लाग्ने शुल्क । एमबीबीएस उत्र्तीण गर्न ४५ देखि ६० लाख रुपैयाँसम्म शुल्क मात्रै लाग्छ । विशेषज्ञ चिकित्सक बन्न त झन्डै करोड नाघ्छ । यति ठूलो रकम र पाँच÷छ वर्षको मेहनतपछि चिकित्सकले न्यूनतम शुल्कमा सेवा दिन मुस्किल पर्छ । सरकारले सरकारी सेवामा कार्यरत चिकित्सकलाई उनीहरुको लगानी र मेहनतको अनुपातमा उचित सेवासुविधा उपलब्ध गराएको छैन । जसले गर्दा सरकारी चिकित्सक कि निजीमा काम गर्न गइरहेका हुन्छन्, कि त विदेश पलायन हुन्छन् । एकजना विज्ञ भन्छन, ‘सिकिस्त बिरामी आएपछि उसको अवस्थाका विषयमा पूर्ण जानकारी नै नदिई सिधै भेन्टिलेटरमा राखिन्छ । भेन्टिलेटरको शुल्क महंगो हुन्छ । बिरामीबारे जानकारी नपाएका आफन्तले एक्कासी बिरामीको मृत्यु भएको थाहा पाएपछि आक्रोशित भएर चिकित्सकको लापरबाहीको संज्ञा दिन्छन् ।

पछिल्ला वर्षमा अस्पतालमा भएको बिरामीको स्वाभाविक मृत्युलाई समेत चिकित्सकको लापरवाही भएको आरोप लगाउँदै भीड जम्मा गरेर चिकित्सक र अस्पतालमाथि खनिने संस्कार बढदै गएको छ । हुलहुज्जत गरेर गर्दै नगरेको गल्ती स्वीकार गर्न लगाउने, अस्पतालबाट क्षतिपूर्ति भराउने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि जरुरी छ । अस्पतालले तिर्ने क्षतिपूर्ति भोलिका दिनमा बिरामीकै टाउकोमा थोपरिने सत्यलाई सरकार र आम जनताले ध्यान दिन आवश्यक रहेको जानकारहरुको सुझाव छ । कानुनी बाटो अवलम्वन नगरी सीधै चिकित्सकमाथि हमला गर्ने प्रवृत्तिले राम्रा चिकित्सक निरुत्साहित हुने गरेको चिकित्सकहरुको भनाइ छ । स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सकहरुले अहिले जल्दोबल्दो रुपमा उठाउने विषय हो, सुरक्षाको प्रश्न । सरकारले चिकित्सक र अस्पतालको सुरक्षालाई ध्यानमा राखेर उनीहरुका लागि सुरक्षा ऐन बनाएको तीन वर्ष वितिसक्दासमेत कार्यान्वयन हुन सकेको छैन । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्ती श्रेष्ठ भन्छन, ‘चिकित्सकको लापरबाहीबाट बिरामीको मृत्यु हुन्छ भने त्यसको समाधानका लागि आक्रमण होइन कानूनी बाटो अवलम्वन गर्नुपर्छ ।’

चिकित्सकले बचाउन हरसम्भव प्रयास गर्दागर्दै पनि बिरामीको मृत्यु भएपछि पनि चिकित्सकले लापरवाही गरेको आरोप लगाउँदा चिकित्सकले कसरी सेवा दिने भन्ने चिन्ता उनलाई छ । अध्यक्ष डा. श्रेष्ठका अनुसार संघले गरेको गत वर्षको अध्यययन अनुसार एक वर्षको अवधिमा मात्र सयभन्दा बढी अस्पतालमा चिकित्सकहरुले उपचारमा लापरवाही गरेको भन्दै आक्रमण गरिएको छ । आक्रमण गरिएका अस्पतालले मृतकका आफन्तलाई क्षतिपूर्ति तिरेकाछन । क्षतिपूर्तिको रकम एक लाखदेखि पचासलाख रुपैयाँसम्म छ । यत्रो रकम अस्पताले तिरे पनि त्यो आगामी दिनमा आउने बिरामीबाटै असुलिने हो । अनि स्वास्थ सेवा महंगो हुने नै भयो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विवादास्पद डा. चौधरी स्वास्थ्य सचिवको दौडमा
Next article बैतडीमा गर्भवती आईरन चक्की नपाई रित्तै हात

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:42 PM
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वका अभियन्ता डा. बम सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:28 PM
समाचार

नेपाली हेल्थका सम्पादक न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

May 24th 4:14 PM
समाचार

पाँच चिकित्सकको अभिनयमा डा. रिजालको अंगदान सम्बन्धि गीत ‘ मेरो मृत्यु पछि… ’ सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131547
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

10
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web