हेल्थ टुडे,
काठमाडौं, २५ साउन : लापरवाहीले बिरामीको मृत्यु भए डाक्टरलाई ५ वर्ष जेल हुने भएको छ । पछिल्ला वर्षहरुमा उपचारका क्रममा बिरामीको मृत्यु हुँदा डाक्टरको लापरवाही भएको भन्दै देशका अधिकांश अस्पतालमा हुलदंगा र तोडफोड हुने गरेका छन् । यस्ता विवादहरु धेरैजसो अस्पताल प्रशासनसँगको सहमतिमा टुंगिने गरेका छन् । मिलेमतोमा घटना सामसुम पारिँदा डाक्टरको लापरवाही हो वा होइन भन्नेसमेत थाहा हुँदैन । तर, अब भदौ १ देखि नयाँ मुलुकी संहिता आएपछि भने डाक्टरहरुले जेल जानुपर्ने हुन सक्छ ।
उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारबाहीको भरपर्दो व्यवस्था नहुँदा अहिलेसम्म यस्ता घटनामा चिकित्सकहरुमाथि कुनै कारवाही भएको छैन । तर, अब भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ मा डाक्टरको लापरवाहीले विरामीको मृत्यु भएको पुष्टि भएमा त्यस्ता डाक्टरलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
उक्त ऐनको इलाजसम्बन्धी कसुरको दफा २३२ मा लापरवाही वा हेलचेक्र्याइ गरी इलाज गर्न नहुने उल्लेख गरिएको छ । त्यसमा भनिएको छ ‘कानुनबमोजिम इलाज गर्न पाउने व्यक्तिले कसैको इलाज गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाई लापरवाही वा हेलचेक्र्याइँ गरी इलाज गर्न औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्नु हुँदैन ।’
यदि लापरवाहीपूर्ण कारणबाट ज्यान मर्न गएमा वा अंगभंग भएमा ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा व्यवस्था गरिएको छ । यदि हेलचेक्र्याइँबाट मृत्यु वा अंगभंग भएमा भने ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था गरिएको छ ।हाल प्रचलनमा रहेको मुलुकी ऐन २०२० मा भने डाक्टरले उपचारमा लापरवाही गरेमा २ वर्षसम्म कैद वा ५ सय जरिवानाको व्यवस्था थियो । उक्त ऐनको इलाज गर्ने महलको ८ नम्बरमा भनिएको छ ‘औषधी चिरफार गर्ने, औषधी मिलाई खुवाउन पाउनेहरुले रोगीको फाइदाका निमित्त सो काम गर्दा होस नर्पुयाई गफलत वेपर्वाही गरी बेकाइदासँग काम गरेकोबाट रोगी मर्न गएको वा जीउमा जखम हानी पीडा भएको ठहरेमा त्यस्तालाई ५ सय रुपैयाँसम्म जरिवाना वा दुई वर्ष कैद वा दुबै सजायँ हुन्छ ।’
यदि डाक्टरको लापरवाहीले कसैको ज्यान मारेर वा अंगभंग भएमा वा कुनै क्षति पुगेमा लापरवाही गर्ने डाक्टरले पीडितलाई क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था गरिएको छ । हाल प्रचलनमा रहेको मुलुकी ऐन २०२० मा उपचारमा लापरवाही गरेमा क्षतिपूर्तिको व्यवस्था छैन । मुलुकी ऐनमा भन्दा मुलुकी अपराध (संहिता) ऐनमा चिकित्सकको लापरवाहीको विषयमा स्पष्ट व्यवस्था र कारबाही कडा पारिएको छ । डाक्टरको लापरवाहीले विरामीको मृत्यु भएमा पीडितले जहिलेसुकै पनि उजुरी गर्न सकिने व्यवस्था गरी हदम्याद हटाइएको छ ।
त्यसैगरि बदनियतपूर्वक उपचार गर्दा मृत्यु भए जन्मकैद हुने छ । नेपालका कतिपय अस्पतालमा विरामीको व्यथा नै थाहा नपाई उपचार गरेको घटना पनि कहिलेकाहीँ हुने गरेका छन् । एउटा खुट्टामा गर्नुपर्ने अपरेसन अर्कै खुट्टामा गरेको, गलत रोगको उपचार गरेका उदाहरण पनि पाइएको छ । अब डाक्टरको यस्तो हेलचेक्र्याईले बिरामीको मृत्यु भएमा जन्मकैदसम्म हुन सक्ने व्यवस्था मुलुकी अपराध संहितामा गरिएको छ । यदि यस्तो हेलेचेक्र्याइँले अंगभंग भएमा भने १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ऐनमा गरिएको छ ।
Leave a Reply