डा. अम्बुज कर्ण,
नेपालमा क्यान्सर रोगीको संख्या कति छ त्यसको यकिन तथ्यांक छैन । तर पछिल्ला वर्षमा क्यान्सरका रोगीको संख्या भने बढिरहेको छ । नेपालमा हुने क्यान्सर रोगीहरूमध्ये सबभन्दा बढी फोक्सोको क्यान्सर हुने गरेको पाइएको छ । त्यसपछि स्तन क्यान्सर र तेस्रो नम्बरमा पाठेघरको मुखको क्यान्सर । बिरामीको चापको तुलनामा क्यान्सर विशेषज्ञ र उपकरणको भने नेपालमा अभाव नै छ । विश्व स्वास्थ्य संगठनले प्रत्येक १० लाख जनसंख्यामा क्यान्सर उपचारका लागि कम्तीमा पनि एक रेडियोथेरापी मेसिन आवश्यक पर्छ भनेको छ । तर हाम्रो देशमा मुस्किलले ६, ७ वटा छन् । रेडियो थेरापिस्ट पनि २५ भन्दा बढी छैनन् । अंकोलोजिस्ट पनि कम नै छन् । वीरमा रेडियोथेरापी मेसिन बिग्रेको दुई वर्ष हुन लागिसक्यो । अहिलेसम्म किन्न सकिएको छैन । फेरि टेन्डर भएको छ । सायद अब किन्न सकिन्छ कि ? मेडिकल फिजिसिस्टको पनि अभाव नै छ । यति हुँदाहुँदै पनि क्यान्सर उपचारका क्षेत्रमा कुनै सुधार नै भएको छैन भन्न खोजेको होइन । क्यान्सरका छुट्टै अस्पताल खोल्ने क्रम जारी छ । यसले कुनै न कुनै रूपमा बिरामीलाई सहज भएको छ ।
नेपालमा क्यान्सरको उपचार सबभन्दा पहिले वीर अस्पतालमा सुरु भएको हो । प्रजातन्त्र पुनस्र्थापनापछि डा.तारा मानन्धरले क्यान्सर उपचार सुरु गर्नु एको हो । अहिले वीर अस्पतालमा क्यान्सर रोग विशेषज्ञले सेवा दिइरहेका छौं । केमोथेरापी सेवा उपलब्ध छ । इपालिएटिभ केयर दिइरहेका छांै । तर पछिल्ला दिनमा क्यान्सरकै लागि छुट्टै अस्पताल खुलेकाले वीरको उपचार छायामा परेको छ ।
फोक्सोको क्यान्सर
नेपालमा क्यान्सर रोगीको संख्या बढ्दै गइरहेको छ । त्यसमा पनि फोक्सोको क्यान्सरका बिरामीको संख्या उल्लेखनीय छ । फोक्सोको क्यान्सर हुने प्रमुख कारण धूमपान हो । नेपालमा ९० प्रतिशतलाई फोक्सोको क्यान्सर हुने प्रमुख कारण धूमपान हो । १० प्रतिशतलाई भने धूमपान नगरे पनि फोक्सोको क्यान्सर हुने गरेको पाइएको छ । कुनै कुनैलाई वंशानुगत त कसैलाई वातावरणीय कारणले पनि हुन सक्छ । धूमपानका कारणले हुने भएकाले फोक्सोको क्यान्सरलाई हामी रोकथाम गर्न सक्छौं । तर धूमपान गर्ने बानी त्यति सजिलै मानिसले छोड्न सक्दैन । हो, पहिलोको तुलनामा अहिले धूमपान गर्ने व्यक्तिको संख्या केही घटेको जस्तो लाग्छ । सरकारले सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने कानुन बनाएको छ । जनचेतना केही विस्तार भएको छ । तर यसको परिणाम आउन समय लाग्छ । हुन सक्छ अबको २० वर्ष पछि नेपालमा फोक्सोको क्यान्सरका बिरामी कम हुन सक्लान् । फोक्सोको क्यान्सरका बिरामीको संख्या बढ्दै जानुको अर्को कारण हो अहिले बिरामी उपचारमा आउन थालेका छन् । पहिले उपचारमै नआई मृत्यु हुन्थ्यो । क्यान्सर भए नभएको थाहै हँुदैनथ्यो । अहिले त्यो अवस्था छैन ।
उपचारमा फड्को
क्यान्सरको उपचारमा पछिल्लो एक दशकमा निकै प्रगति भएको छ । बिरामीहरूमा पनि जनचेतना बढेको छ । पहिलेपहिले चौथो स्टेजमा पुगेपछि मात्र उपचारका लागि बल्ल डाक्टरकहाँ आउथे । तर अहिले दोस्रो र तेश्रो स्टेजमा आउन थालेका छन् । पहिलो र दोस्रो स्टेजमा आएकाहरूको रोग निको पार्न सकिन्छ । अहिले हामी टारगेटेडथेरापी, इम्युनोथेरापीलगायतका उपचार विधिमार्फत बिरामीलाई सहज उपचार गर्ने गरेका छौं । पहिले पहिले चौथो स्टेजमा पुगेका बिरामीको बाँच्ने सम्भावना निकै कम हुन्थ्यो तर अहिले ५० प्रतिशत बिरामी पाँच वर्षसम्म बाँच्न सक्छन् । क्यान्सरका छुट्टै अस्पताल खुल्ने क्रम जारी छ । यी अस्पतालहरूले उपचारमा नयाँनयाँ प्रविधि भित्र्याइरहेका छन् । एमआईआए, प्याथोलोजी, पेट स्क्यान, रेडियोथेरापी, टारगेटेडथेरापीजस्ता सेवाले क्यान्सर उपचार सहज बनाएको छ ।
फोक्सोका क्यान्सर कसरी निको पार्ने ?
फोक्सोमा लागेको क्यान्सरको उपचार भनेको त्यो भागलाई शल्यक्रिया गरी काटेर फाल्ने हो । दोस्रो स्टेजसम्म पुगेको क्यान्सरलाई शल्यक्रियामार्फत फाल्न सकिन्छ । यसको उपचारमा रेडियोथेरापी बढी प्रभावकारी देखिएको छ । सुरुको अवस्थामा पत्ता लागेको क्यान्सर निको पार्न सकिन्छ, स्टेरियो ट्याक्टिकथेरापीका माध्यमबाट । पूर्वप्रधानमन्त्री स्व. सुुशील कोइरालाको अमेरिकामा यीथेरापीमार्फत क्यान्सरको उपचार गरिएको थियो । यसलाई शल्यक्रियाको विकल्पमा लिने गरिन्छ ।
क्यान्सर भइहाले के गर्ने ?
अधिकां मानिस आफूलाई क्यान्सर भएको थाहा भए पछि तर्सिन्छन् । आत्तिन्छन् । उनीहरू के गर्ने ? कहाँ गएर उपचार गर्ने ? भन्दै विभिन्न व्यक्ति, स्वास्थ्यकर्मी, चिकित्सककहाँ गएर सल्लाह लिन्छन् । विभिन्न व्यक्तिले भिन्दाभिन्दै सल्लाह दिन्छन् । यसरी सल्लाह दिनेले सही सल्लाह नै दिन्छन् भन्ने छैन । त्यसैले सकभर क्यान्सरका विषयमा सल्लाह लिँदा क्यान्सर रोग विशेषज्ञकहाँ गएर सल्लाह लिनुपर्छ ।
अन्तिम अवस्थामा पुगिसकेको क्यान्सरलाई पूर्ण रूपमा निको पार्न नसकिएला । अब निको हुने होइन किन उपचारमा खर्च गर्ने भनेर बस्नु हँुदैन । उपचारले व्यक्तिको जीवन सहज बनाउँछ । ओछ्यानमा सुतेर ६ वर्ष बाँच्नुभन्दा हिँडडुल गर्दै एक महिना बाँच्नु राम्रो मानिन्छ । अहिले दुखाइ कम गर्नेदेखि जीवन सहज बनाउने उपचार विधि उपलब्ध छन् ।
रोगका बारेमा चिकित्सकले बिरामी र उनका आफन्तलाई थाहा दिनुपर्छ । यो उनीहरूको सूचनाको अधिकार पनि हो । कुन रोग लागेको छ ? उपचार विधि के प्रयोग गर्दै छौ ? यसमा कति जति खर्च लाग्छ होला ? यी कुराको सही जानकारी दिनुपर्छ । तर यस्ता जानकारी दिँदा बिरामी र उनका आफन्तलाई हतोत्साहित गर्ने किसिमले भने गर्नु हुँदैन । मनोबल बढाउने किसिमले दिन जान्नुपर्छ । हाम्रो देशमा बिरामीका आफन्त सही कुरा बिरामीलाई नभिन्दिए हुन्थ्यो भन्ने ठान्छन् । त्यसैले अधिकांश चिकित्सक बिरामीलाई रोगका विषयमा सही सूचना दिन मान्दैनन् । तर चिकित्सकले बिरामी र उनका आफन्तको मनोबल गिर्न नदिने किसिमले सही सूचना दिनु नै दुवै पक्षको हितमा हुन्छ ।
( डा. कर्ण वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ हुन । )
Leave a Reply