• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

डा. चेतराज पन्त : आँखा उपचारमा सिंगो जीवन

April 15th, 2022 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. चेतराज पन्त :  आँखा उपचारमा सिंगो जीवन

पदमराज जोशी,
डा. चेतराज पन्तमा चेतना जागेदेखि नै डाक्टर बन्ने तीव्र इच्छा थियो । २ कक्षामा पढ्दा नै उनका दाजुले ‘भाइलाई डाक्टर बनाउनुपर्छ’ भन्ने गर्थे । हाइस्कुल पुग्दा नै उनलाई दाजुले एमबीबीएस पढ्नु पर्छ भन्ने सल्लाह दिइसकेका थिए ।
पिताजी धर्मदेव पन्त आयुर्वेदाचार्य । डोटीका गौंडाहरूमा आयुर्वेदालयको विकासमा पिताको ठूलो योगदान रह्यो । उनको खानदान नै आयुर्वेदमा समर्पित थियो । पुस्तौसम्म उनको परिवारमा आयुर्वेदाचार्यहरू भए । सुर्खेतदेखि पश्चिममा सरकारी तवरबाट खुलेका प्रायः आयुर्वेदिक औषधालयहरूमा उनकै परिवारका राज वैद्यहरू थिए । तर परिवारमा आयुर्वेदको साटो एलोपेथिक चिकित्साको डाक्टर बन्ने चाहिँ डा. चेतराज नै पहिला हुन् । आखिर कसरी उनी आयुर्वेदको साटो एलोपेथीको डाक्टर बने अनि कसरी आँखा उपचारमा होमिए ? जीवनको यो मोडसम्म आइपुग्दासम्म आँखा उपचार क्षेत्रमै आफूलाई समर्पित गरेका डा. चेतराज पन्त बिरामीको उपचार गर्ने क्रममा कहिले मधेस, कहिले पहाड त कहिले दूरदराजका गाउँगाउँ डुले । नेत्रज्योति संघका वर्तमान अध्यक्ष डा. पन्तको जीवन बुझ्न आँखामा कुनै लेन्सवाला चस्मा लगाउनै पर्र्दैन । उनको योगदानले नै उनको व्यक्तित्व झल्किन्छ ।

पुस्तान्तरण : आर्युवेदबाट एलोपेथितर्फ

विसं २००३ मा डोटी जिल्लाको हिमशिखर नगरपालिका–उच्चाकोट गाउँमा पिता धर्मदेव पन्त र आमा हरिप्रियाको कान्छो छोराका रूपमा जन्मिएका डा. चेतराज पन्तले कक्षा १ सम्म गाउँमै पढे । त्यसपछि उनले सिलगडीकै पद्म पब्लिक हाइस्कुलमा कक्षा ८ सम्मको पढाइ पूरा गरे ।
उनका दाजुले ‘ब्याचलर्स इन् इन्डियन मेडिसिन’ र सर्जरीको मिश्रित कोर्स पढेका थिए । सोही विषयअन्तर्गतको जागिर पनि पाइसकेका थिए र पहिलो नियुक्ति तौलिहवामा भएको थियो । चेतराज पनि दाजुसँगै तौलिहवा गए र त्यहाँको बुद्ध पद्म हाइस्कुलमा कक्षा ९ सम्म पढे । यसैबीच दाजुको सरुवा बैतडीमा भयो । पन्त चाहिँ थप अध्ययनको लागि काठमाडौं आए । पद्मोदय हाइस्कुलबाट प्रवेशिका र त्रिचन्द्र कलेजबाट आईएस्सी पास गरेपछि उनले तत्कालीन श्री ५ को सरकारको छात्रवृत्तिअन्तर्गत भारतको मैसुर मेडिकल कलेजमा एमबीबीएस पढ्न गए । उनले एमबीबीएस गर्दा सुदूरपश्चिममा मुस्किलले चार जना डाक्टर थिए ।

राजाबाट तीन हजार बक्सिस

एमबीबीएस सकेर नेपाल फर्किएपछि डा. पन्तले सुरुमा वीर अस्पतालमा स्वयंसेवकका रूपमा काम गरे । पाँच महिनापछि उनलाई एक वर्षको करार नियुक्ति दिइयो । नौ महिना जति काम गरेपछि उनलाई महेन्द्रनगरस्थित ‘कञ्चनपुर हेल्थ सेन्टर’ पठाइयो । २०२९ साल, फागुन ५ गते कञ्चनपुर हेल्थ सेन्टरमा उनको पदबहाली भयो । तत्कालीन स्वास्थ्य सहायकमन्त्री कमल शाहले आफूसँगै गाडीमा राखेर महेन्द्रनगर लगेको डा. पन्त सम्झन्छन् । कञ्चनपुर हेल्थ सेन्टरमा दैनिक करिब ३० जना बिरामी जँचाउन आउँथे । प्रसूतिका लागि वार्ड थिएन । उनले रेडक्रसबाट चार वटा बेड मगाए र मेडिकल अफिसरले जाँच्ने कोठालाई वार्ड बनाए । पहिलो पटक हेल्थ सेन्टरमा प्रसूति सेवा पनि सुरु भयो । प्रसूति गराउन आउनेहरूको चाप बढ्दै गयो । डा. पन्तले तत्कालीन नगर पञ्चायतका प्रधानपञ्च मोहनबहादुर रावलसँग गएर भने, ‘प्रसूतिका लागि राम्रो वार्ड छैन । बिरामीको चाप बढ्दैछ । अस्थायी रूपमा भए पनि वार्ड बनाउनुप¥यो ।’
प्रधानपञ्च मजाकै थिए । उनले भनेछन्, ‘एउटा अस्पताल नै हामीले किन नबनाउने, चन्दा उठाएर भए पनि बनाऔं ।’ सरकारको पञ्चवर्षीय योजनामा नपरेसम्म अस्पताल निर्माणमा सरकारको आर्थिक सहयोग हुँदैनथ्यो । प्रधानपञ्च रावलले एक दिन डा. पन्तलाई अञ्चलाधीश गणेशमान श्रेष्ठसँग भेट गराए । अञ्चलाधीशसँगको भेटमा डा. पन्तले हेल्थ सेन्टरमा प्रसूतिका लागि आउने र हातगोडा भाँचिएका या अन्य गम्भीर प्रकृतिका बिरामीलाई राख्न बेडहरू नभएको आदि समस्या राखे । अञ्चलाधीशले तत्काल सो क्षेत्रका गन्यमान्य, हुनेखाने र प्रबुद्ध मानिसहरूलाई डाकेर अस्पताल निर्माणका लागि चन्दा सहयोगका लागि अपिल गरिदिए । यसरी अञ्चलाधीश, प्रधानपञ्च, जनताको उदार सहयोग र डा. पन्तको सक्रिय पहलकदमीमा त्यहाँ २५ शय्याको अस्पताल निर्माण भयो । ‘मलाई सम्झना छ, जनश्रमदानमा २५ शय्याको अस्पताल बन्दा उतिबेला १ लाख २५ हजार रुपैयाँ लागेको थियो,’ डा. पन्त भन्छन् । तिनताक राजाबाट पाँचै विकास क्षेत्रमा भ्रमणहरू भइरहन्थे । कञ्चनपुरमै कार्यरत रहँदा डा. पन्तले राजा वीरेन्द्रलाई भेट्ने अवसर पाएका थिए । भेटका क्रममा उनले राजासँग ‘कञ्चनपुरमा जनश्रमदानबाट अस्पताल निर्माण भएकाले २५ बेडको स्वीकृति पाउनुप¥यो’ भन्दै माग राखे । राजाबाट सवारी शिविरबाटै तत्काल २५ शय्याको स्वीकृति दिनू भन्ने निर्देशन भयो’, उनी सम्झन्छन् ।
यति मात्र हैन, त्यसैबेला राजाले ‘राम्रो काम गरेछौ’ भन्दै डा. पन्तलाई तीन हजार रुपैयाँ बक्सिस पनि दिए । कञ्चनपुरमा बस्दा डा. पन्त निकै लोकप्रिय भए । उनी जतिसुकै बेला पनि उपचार गरिदिन्थे । त्यहाँका विरामीहरूसँग स्थानीय भाषामा कुरा बुझाउने सीप उनका थियो । डाक्टर भनेकै पन्त भन्ने छाप त्यहाँका जनतामा प¥यो ।

बैतडी पुगेपछि मिल्यो, गोदबा

तीन वर्ष महेन्द्रनगरमा कार्यरत भएपछि उनको बैतडी सरुवा भयो । त्यतिबेला चिकित्सकहरूका लागि चलन के थियो भने पहाड र मधेसमा कार्यरत रहेपछि बल्ल काठमाडौंंमा सरुवा हुन्थ्यो । मधेस सकेर उनी बैतडीको पहाड उक्लिए । बैतडीमा धेरैजसो समस्या चोटपटकको हुन्थ्यो । रुखबाट लडेर हाड खुस्किएका, मर्किएका र टुटेका बिरामी धेरै आउँथे । हाड भाँचिएका बिरामीलाई उनी पिथौरागढमा एक्सरे गर्न पठाउँथे र एक्सरे रिपोर्ट हेरेर उनी प्लास्टर गरिदिन्थे । ‘उतिबेला हाड भाँचिएपछि भारतमा गएर एक्सरे गर्दा बिरामीको थुप्रै पैसा खर्च हुँदो रहेछ । एक्सरे मेसिन भए बैतडीमै सम्पूर्ण उपचार गर्न सकिने भएकाले मैले एक्सरे मेसिनको व्यवस्था गर्न पहल थालें’, डा. पन्त सम्झन्छन् ।
नभन्दै चन्दा उठाएर एक्सरे मेसिन ल्याइयो । यो अभियानमा रूपबहादुर स्वार र समाजसेवी पृथ्वीराज अवस्थीको ठूलो योगदान थियो । एक्सरे मेसिनसँगै जेनरेटर पनि ल्याइयो । सोही जेनरेटरबाट साँझमा अस्पताल र बजारका घरहरूमा पनि लाइन तानेर बिजुली बालियो । यो २०३४ सालको कुरा हो, बैतडीमा पहिलो पटक बिजुली बत्ती बल्यो । बिजुली बलेपछि हौसिएका जनतासामु डा. पन्तले अस्पताल निर्माणको कुरा राखे । बैतडी जिल्ला पञ्चायतका तत्कालीन सभापति रणबहादुर चन्द, प्रकाश बहादुर सिंह,बलभद्र जोशीलगायतको हौसला र जनताको सहयोगमा त्यहाँ अस्पताल पनि निर्माण गर्न उनी सफल भए । एक्सरे मेसिनदेखि अस्पतालसमेत भएपछि बिरामीलाई धेरै सुविधा भयो ।
यति भइसक्दा सोही क्षेत्रमा राजाको सवारी भयो । राजा डा. पन्तको कामबाट निकै प्रसन्न भए । सो क्षेत्रबाट राजाबाट गोरखा दक्षिण बाहु पदक पाउनेमा डा. चेतराज पन्तको नाम पहिलो नम्बरमा थियो ।

आँखा उपचारमा अर्जुन दृष्टि

डा. पन्तले गरेको कामबाट राजाका अलावा आँखा रोग विज्ञ डा. रामप्रसाद पोखरेल र राजाका निजी चिकित्सक डा. सच्चेकुमार पहाडी पनि प्रसन्न थिए । डा. पोखरेलले नै डा. पन्तलाई आँखारोग विज्ञ बन्नुपर्छ भन्ने सल्लाह दिएका थिए । त्यसपछि डा. पन्तले राजा वीरेन्द्र समक्ष आफू विशेषज्ञता हासिल गर्न पढ्ने जाने इच्छा व्यक्त गरे । ‘कुन विषयमा विशेषज्ञताका लागि पढ्न जाने ?’, राजाले सोधे । ‘आँखा उपचारमा जान्छु’, उनले भने । त्यतिबेलासम्म उनले महेन्द्रनगर र बैतडीमा गरी दुईवटा आँखा शिविर चलाइसकेका थिए र आँखा उपचारमा उनको लगाव बढिसकेको थियो । राजाबाट सवारी शिविरबाटै ‘पढ्न पठाउनू’ भन्ने निर्देशन भयो । उनलाई आँखा विशेषज्ञ पढाउनमा डा. रामप्रसाद पोखरेलको पनि भूमिका छ । केही दिनमै उनी विश्व स्वास्थ्य संगठनको छात्रवृत्तिमा दिल्लीको अल इन्डिया मेडिकल इन्स्टिच्युटमा आँखा चिकित्सा पढ्न गए । त्यतिबेला दिल्ली पढ्न जानेमा डा. पन्तसँगै आँखा अस्पतालबाट दीपबहादुर कार्की पनि थिए । २०३५ सालमा आँखाको विषयमा पढ्न जाने डा. पन्त र डा. कार्की नै पहिलो ब्याजका हुन् । सन् १९७९, जनवरीमा पढ्न गएका उनीहरू १९८१ मा फर्किए । डा. कार्की नेपाल आँखा अस्पतालमा व्यस्त भए भने डा. पन्तले नेत्रज्योति संघको पहिलो आँखा अस्पताल (गेटा) मा आँखा रोगीको उपचारमा आफूलाई समर्पित गर्न थाले । आँखा अस्पतालमा साधन सुविधा केही थिएन । एकजना नर्वेली डाक्टर कोलिस्टार थिए, जो विश्व स्वास्थ्य संगठनबाट आएका थिए । बिस्तारै अस्पतालको भवन बन्यो । सेवा सुरु भयो ।
कैलाली र कञ्चनपुरका गाउँगाउँमा गएर उनले आँखाका प्राथमिक बिरामीको स्थलगत उपचार गरे । आँखाका जटिल बिरामीको सूची तयार गरे । यसक्रममा अस्पताल भवन निर्माण भयो, अपरेसन कक्ष पनि तयार भयो । अनि डा. पन्तकै पहलमा गाउँगाउँबाट संकलित जटिल बिरामीको आँखाको शल्यक्रिया पनि सुरु भयो । ट्रकोमा आदि रोगका कारण बिरामी आँखा बन्द गरेर बसिरहेका हुन्थे । शल्यक्रिया सेवा सुरु भएपछि बिरामीलाई धेरै राहत भयो । गेटा अस्पतालमा उनी दुई वर्ष कार्यरत रहे । यस्तैमा अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयमा पब्लिक हेल्थ अप्थल्मोलोजीको एकवर्षे कोर्सका लागि विश्व स्वास्थ्य संगठनबाट छात्रवृत्ति आयो । सो छात्रवृत्तिअन्तर्गत पढन डा. पन्त अमेरिका गए । जोन हप्किन्स विश्वविद्यालयले विश्वमै पहिलो पटक पब्लिक हेल्थ अप्थल्मोलोजीको एकवर्षे कार्स सुरु गरेको थियो, जसमा विश्वका १४ जनामध्ये नेपालबाट डा. पन्त सहभागी थिए ।

यसरी बसाले, ‘भिटामिन ए’ कार्यक्रमको जग

एक वर्ष अमेरिका पढेर आएपछि डा. पन्त केही समय विश्व स्वास्थ्य संगठनको कार्यालयमा कार्यरत रहे । त्यसपछि उनलाई भैरहवास्थित लुम्बिनी आँखा अस्पताल सरुवा गरियो । डा. पन्त त्यहाँ गएपछि गाउँगाउँमा आँखा शिविर सञ्चालन गरे । मोतीबिन्दुलगायत आँखाको शल्यक्रिया गर्न थाले । सँगसँगै रिसर्च पनि अघि बढाए । तीन वर्षको अन्तरालमा डा. पन्तकै पहलमा लुम्बिनी अञ्चलका पाँच वटा जिल्लामा ‘आई केयर सेन्टर’को स्थापना गरियो, जुन अहिले आँखा अस्पतालमै परिणत भइसकेका छन् । सोही दौरान मर्चवार र लुम्बिनी क्षेत्रबाट धेरैजसो बालबालिका अन्धोपनको समस्या लिएर आए । कारण खोज्दै जाँदा भिटामिन ‘ए’को कमी देखियो । अनि हामीले गाउँगाउँमा स्वयंसेवक परिचालन गरेर त्यस्ता बच्चाहरू खोज्दै भिटामिन ‘ए’ दिन थालियो । त्यसैताक विश्व स्वास्थ्य संगठनको दिल्लीस्थित दक्षिणपूर्वी एसिया कार्यालय (सेरो अफिस)ले जनस्वास्थ्यविज्ञ डा. बोबलाई ६ वटा देशमा भिटामिन ‘ए’को कमीबारे खोजबिन गर्न पठायो । ‘डा. बोब नेपाल आए । उनले भिटामिन ‘ए’का क्षेत्रमा नेपालको लुम्बिनीमा मात्र काम भइरहेको थाहा पाए । उनी मलाई भेट्न आए । हामीले भिटामिन ए चक्की खुवाइएको र यसको कमी भएका आँखा रोगीको उपचार पनि गरिरहेको बतायौ । हाम्रो कामबाट प्रभावित भएपछि डा. बोबले यस क्षेत्रमा रिसर्च गर्ने प्रस्ताव राखे’, डा. पन्त सम्झन्छन् ।
रिसर्चका लागि दुई वर्ष लगाएर प्रपोजल तयार गरियो । नेपाल सरकार र यूएसआईडी, युनिसेफ, विश्व स्वास्थ्य संगठन, सेवा फाउन्डेसन आदिको सहकार्यमा रिसर्च प्रोजेक्ट कार्यक्रम सुरु गरियो । डा. पन्त सोही कामका लागि भरतपुर आँखा अस्पतालमा सरुवा भए । भरतपुर अस्पतालमा डा. जीपी पोखरेल थिए, जो अस्पतालका काम हेर्थे भने डा. पन्त फिल्डमा रिसर्चमै व्यस्त भए । दुई वर्षसम्म ७ जिल्लामा चलेको त्यो रिसर्चमा १० वर्ष मुनिका करिब ६० हजार बालबालिकामाथि भिटामिन ‘ए’को कमी भए, नभएको अध्ययन गरियो । वडावडामा त्योबेला कम्युनिटी हेल्थ लिडरहरू थिए, उनीहरूलाई परिचालन गरियो । अध्ययनकै क्रममा धेरै बालबालिकालाई भिटामिन ए चक्की खुवाइयो ।

महिला स्वास्थ्य स्वयंसेविकाको आधारभूमि

कम्युनिटी हेल्थ लिडरमा महिला र पुरुष दुवै थिए । डा. पन्तको अनुभवमा पुरुषभन्दा महिला नै बढी सो कामका लागि प्रभावकारी देखिए । उनले रिसर्चकै क्रममा बढी मात्रामा महिलालाई परिचालन गरेका थिए । उनीहरू त्यतिबेला परिवार नियोजनका अस्थायी साधन मात्र बाँड्थे ।
बालिबालिकालाई भिटाएन ए चक्की खुवाउन पनि महिला हेल्थ लिडरलाई नै अग्रसर गराउनु उचित ठानेर उनीहरूलाई डाकेर तालिम दिइयो । उनीहरूलाई भिटामिन ए खुवाउने जिम्मेवारी पनि दिइयो । १० वर्ष मुनिका बालबालिकालाई ६–६ महिनामा भिटामिन ए चक्की खुवाएमा अन्धोपन पनि कम हुने र बाल मृत्युदर पनि ३० प्रतिशतले कम हुने देखियो । तर, हेल्थपोस्टमार्फत महिला स्वास्थ्य कार्यकर्ताले त्यसरी औषधि बाँडछन् भन्ने कुरा स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई पत्यार नै लागेन । त्योबेला डा. मथुरा श्रेष्ठ स्वास्थ्य मन्त्री थिए । मन्त्री र विभागका कर्मचारीहरूलाई नै फिल्डमा लगेर देखाएपछि महिलाहरूले काम गर्न सक्दा रहेछन् भन्ने सबैले बुझे । स्वास्थ्य मन्त्रीको सहयोग र डा. पन्तकै पहलमा स्वास्थ्य मन्त्रालयले बालबालिकालाई ६–६ महिनामा भिटामिन ए चक्की खुवाउने कार्यक्रम अघि बढायो । यसमा महिला स्वास्थ्य कार्यकर्तालाई परिचालन गरियो । त्यसैबेला रानी ऐश्वर्यको बैतडी सवारी भयो । त्यसबेला महिला स्वास्थ्य कार्यकर्ताको काम देखेर प्रभावित रानी ऐश्वर्याले यो कामको सम्पूर्ण जिम्मा महिलालाई नै दिनुपर्ने विचार अघि सारिन् ।
महिलाहरूले भिटामिन ए, निमोनिया र डायरियाको औषधि दिन सक्छन् भन्ने भएपछि उनीहरूको महत्व बढ्दै गयो । डा. पन्तले सात जिल्लामा स्याम्पलका रूपमा यस खालको कार्यक्रम चलाएका थिए । पछि त सरकारले उनलाई ३१ वटा जिल्लामा चरणबद्ध रूपमा ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन भयो । यूएसएआईडी र युनिसेफको आर्थिक सहयोगमा डा. पन्त नै निर्देशक रहेर यो कार्यक्रम सञ्चालन गरियो । जिल्ला जनस्वास्थ्य अधिकारीदेखि गाउँगाउँका हेल्थपोस्टमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र स्वयंसेविकासम्म पाँचदिने तालिमहरू भए । यसरी डा. पन्तकै पहलमा एकातिर भिटामिन ए कार्यक्रमको सुरुवात भयो भने कम्युनिटी हेल्ड लिडरको ठाउँमा महिलालाई मात्र राखेर महिला स्वास्थ्य स्वयंसेविकाको पनि स्वास्थ्य क्षेत्रमा उदय भयो । अहिले स्वास्थ्य स्वयंसेविकाको संख्या ५२ हजार पुगिसकेको छ । ‘अहिले सरकार आफंैले यो कार्यक्रम सञ्चालन गरिरहेको छ । मलाई मनैदेखि सन्तुष्टि मिलेको पनि भिटामिन ए कार्यक्रम नै हो, जुन स्वास्थ्य क्षेत्रको सफल कार्यक्रम हो । यो कार्यक्रममा मैले करिब १० वर्ष बिताएँ, विभिन्न जिल्लामा यसलाई विस्तार गरें’, डा. पन्त भन्छन् । अमेरिकाबाट पढेर आउँदा आँखा उपचारमा नेपाल सरकारको आफ्नै अस्पताल थिएन । त्यसैले उनलाई नेत्रज्योति संघमा काजमा पठाइएको थियो । त्यसबेला उनीलगायत एक दर्जन चिकित्सकले नेत्रज्योति संघमा काजमा काम गर्थे ।

राष्ट्रिय योजना आयोगको सदस्य

भरतपुर अस्पतालमा तीन वर्ष रिसर्चको काम सकेपछि केही वर्ष भिटामिन ए कार्यक्रमको विस्तारमा लागेका उनी त्यसपछि सन् १९९७ मा नेपाल आँखा अस्पतालमा सरुवा भए । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा ६ वर्ष कार्यरत रहे । सो अवधिमा उनी क्षेत्रीय निर्देशक भएर दिपायल पनि गए । त्यसपछि उनले काजमा काठमाडौं विश्वविद्यालय अन्तर्गतको स्कुल अफ मेडिकल साइन्सको निर्देशकको रूपमा काम गरे । माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेला २०६६ सालमा उनी स्वास्थ्य, महिला, बालबालिका क्षेत्र हेर्ने गरी राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भए । त्यसैबेला उनकै पहलमा बहुपोषण नीति ल्याइयो । स्वास्थ्य क्षेत्रमा त्योबेला बजेटमा १७ अर्ब छुट्टयाइएको थियो । तर, उनी योजना आयोगमा पुगेपछि त्यसलाई बढाएर २३ अर्ब पु¥याइदिए । २०५९ सालमा डा. पन्त सेवानिवृत्त भए ।

सुदूरपश्चिम मेडिकल विश्वविद्यालयको परिकल्पना
सुदूरपश्चिमको गेटामा निर्माण सम्पन्न भएर सञ्चालनको पर्खाइमा रहेको गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम मेडिकल विश्वविद्यालयको रूपमा सरकारले सञ्चालन अनुमति दिनुपर्छ भन्ने मान्यता डा. पन्तको छ । उनी गेटा मेडिकल कलेजको प्रारम्भिक खाका कोर्ने बेलादेखि नै यसको नेतृत्व गरेर अहिलेको अवस्थासम्म पु¥याएका हुन् । सुदूरपश्चिम मेडिकल विश्वविद्यालयको रूपमा विकास हुन सके यसले सुदूरपश्चिमको चिकित्सा क्षेत्रमा नयाँ युगको ढोका खोल्ने डा. पन्तको धारणा छ । विश्वविद्यालय भयो भने उसले आफैं मातहतका शिक्षण संस्थालाई मान्यता दिन सक्ने र स्वास्थ्यका लागि आवश्यक पर्ने जनशक्ति सुदूरपश्चिममै उत्पादन गर्न सकिने उनको जिकिर छ । भन्छन्, मेडिकल विश्वविद्यालय भएन भने फेरि कुनै कोर्स चलाउन पनि केन्द्रकै मुख ताक्नुपर्ने अहिलेको अवस्था रहिरहन्छ । त्यसैले मेडिकल कलेजको रूपमा भन्दा पनि विश्वविद्यालय बनाउनुपर्छ । सुदूरपश्चिमका ९ वटै जिल्ला अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने र यहाँ अध्ययनरत विद्यार्थीलाई गाउँगाउँ पठाएर रोगको पहिचान र निदानमा संलग्न गराएर छुट्टै किसिमको विश्वविद्यालय बनाउने उनको योजना छ । गेटा मेडिकल कलेज प्रवद्र्धन विकास समितिको अध्यक्ष भएर काम गरेका छन. डा. पन्तले । गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम मेडिकल विश्वविद्यालयका रूपमा छिट्टै सञ्चालन गर्नुपर्ने सुझाव उनको छ । ७२ बिघा क्षेत्रफलमा फैलिएको गेटा मेडिकल कलेजमा अहिलेसम्म करिब साढे ४ अर्ब खर्च भइरहेको डा. पन्त बताउँछन् ।

नेत्रज्योति संघको नेतृत्व सम्हाल्दै

नेत्रज्योति संंघमा डा. पन्त लामो समयदेखि आबद्ध रहे । संघमा पहिला एक कार्यकाल सचिव र तीन कार्यकाल उपाध्यक्ष भए । २०७६ साल, मंसिरदेखि उनी संघको अध्यक्ष छन् । डा. पन्त अध्यक्ष रहेको नेपाल नेत्रज्योति संघ स्वयम्सेवी गैरसरकारी संस्था हो । नेपालमा जति पनि आँखा अस्पताल छन्, त्यसमा स्थानीय जनताको सहयोग छ र त्यसमा जनताबाटै चुनिएको कमिटीले काम गरिरहेको छ । अहिले नेत्रज्योति संघको चार दर्जनभन्दा बढी जिल्लामा संगठन छ । अस्पतालमा सुरुमा भौतिक पूर्वाधार र अन्य कुरामा विदेशी दातृ संस्थाको सहयोग थियो र अहिले पनि छ । अहिले धेरैजसो अस्पताल आफैं सक्षम भएका छन् । ‘आँखा उपचारका क्षेत्रमा नेपाल दक्षिण एसियामै उदाहरणीय छ । हामीले सन् १९८१ मा पहिलो पटक राष्ट्रिय अन्धोपन सर्वेक्षण गरेका थियौं । यसको प्रतिवेदन आइसकेपछि आँखाको क्षेत्रमा काम गर्ने संसारका विभिन्न संस्थाहरू पनि नेपालमा आकर्षित भएका हुन्’, डा. पन्त सम्झन्छन् ।
यी सबै गरेर मुलुकभर नेत्रज्योति संघअन्तर्गत २७ वटा अस्पताल छन् भने १४२ भन्दा बढी आँखा उपचार केन्द्र छन् । यी सबै सहयोग जुटाउन डा. पन्तको पहल उल्लेखनीय रह्यो । अझ, हरेक वर्ष पाँच÷पाँच वटा आँखा उपचार केन्द्र स्थापनाका लागि नेपाल सरकारले आर्थिक सहयोग गर्ने योजना पनि उनी योजना आयोगमा हुँदा नै अघि सारियो र कार्यान्वयन पनि भयो । अहिले पनि विभिन्न शिविर चलाउन र आँखा अस्पतालमा सेवा सुदृढ गर्न सरकारले संघलाई साढे ६ करोड दिइरहेकै छ । ‘मेरो अहिले एउटै ध्यान भनेको आँखा उपचार केन्द्रहरूलाई आत्मनिर्भर कसरी बनाउने भन्नेमा केन्द्रित छ । यसका लागि हामी पालिकाहरूसँग सहकार्य गर्ने सोच बनाइरहेका छौं । पालिकाले ऋणसँगै केही अनुदान दिने र दुई जना तालिम प्राप्त नेत्र सहायकमार्फत सेवा प्रदान गर्ने मोडलमा छलफल चलाइरहेका छौं । यसमा धेरै पालिकाले सकारात्मक रुझान देखाएका छन्’, डा. पन्त भन्छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कलेजो प्रत्यारोपणमा पनि फड्को मार्दै शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र, २ दिनमा २ को कलेजो प्रत्यारोपण
Next article नेपाल फार्मा एक्स्पो वैशाख ९ गतेदेखि चितवनमा हुदै, राष्ट्रपतिले उद्घाटन गर्ने

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132583
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web