हेल्थ टुडे,
काठमाडौं : ललितपुरको ग्वार्कोमा रहेको बि. एण्ड बि. अस्पतालमा मुटु सम्बन्धी स्वास्थ्य सिविर आयोजना गरेको छ । अस्पतालको मुटु रोग विभागमा बिहीबार र शुक्रबार गरि दुई दिन आयोजना गरिएको मुटु स्वास्थ्य सिविरमा मुटु सम्बन्धी रोगको परिक्षण, परामर्श र नि : शुल्क औषधी वितरण गरिएको थियो । शिविरमा आउनेहरुलाई बहिरङ्ग सेवा निःशुल्क गरिएको थियो । बिहान ९ बजेदेखि अपरान्ह १२ बजेसम्म संचालन भएको निःशुल्क मुटु परिक्षणमा आउने बिरामीहरुलाई क्रियाटिनाइन, सोडियम, पोटासियम, छातीको एक्स–रे, ईसिजी, इको, टोटल कोलेस्ट्रोल, ट्राइग्लिसेराइड परिक्षणका २५ प्रतिशत छुट र बि. एण्ड बि. अस्पतालको फार्मेसीमा १० प्रतिशत छुट दिइएको अस्पतालले जनाएको छ । सिविरबाट दुई सयभन्दा बढी व्यक्ति लाभान्वित भएको अस्पतालका मुटु विभाग प्रमुख डा. दीपक मिश्रले जानकारी दिए ।
सिविरमा २० वर्षदेखि ८५ बर्ष उमेर समूहका विरामीले सेवा लिएका थिए । मुटु रोगको बढ्दो संक्रमण कम गर्न मुटु रोग विभागले स्तरीय उपचारका साथै जनचेतनामूलक कार्यक्रम र बेला बेलामा स्वास्थ्य सिविर सञ्चालन गर्ने डा. मिश्रले बताए । डा. मिश्रको नेतृत्वमा डा. फिलिपश्याम रञ्जित, डा. दीपेन्द्र कार्की, डा. समता शाक्य, डा. प्रदीप महतो र डा. श्रृजना मण्डलले सिविरमा सेवा दिएका थिए ।
हाडजोर्नीको उपचारमा ख्याती कमाएको बि.एण्ड बि. अस्पतालले पछिल्ला दिनमा मुटु, क्यान्सर, ग्यास्ट्रो, स्त्री रोग सम्बन्धी गुणस्तरीय विशेषज्ञ सेवा प्रदान गर्न थालेपछि मल्टिस्पेसियालिटी अस्पतालको रुपमा विकाश हुन थालेको छ ।
अस्पतालले क्याथल्याव सहित सुविधा सम्पन्न मुटु रोग सेवा सञ्चालन गरेको छ । डा. मिश्रले भने, ‘ अब बि.एण्ड बि. मुटु रोगको उपचारका लागि पनि सुविधा सम्पन्न अस्पताल भएको छ । ’
Leave a Reply