• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कस्तो लगाउने जुत्ताचप्पल ?

November 30th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कस्तो लगाउने जुत्ताचप्पल ?

सुरक्षा सुवेदी

जुत्ताचप्पल खुट्टाको सुरक्षाका लागि लगाइन्छ । सौन्दर्य दोस्रो प्राथमिकतामा पर्छ । जुत्ताचप्पलले सबैभन्दा पहिले तपाईं हाम्रो हिँडाइलाई प्रभावित पार्छ । जुत्ताचप्पलका कारण खुट्टाको बनावट परिवर्तन पनि हुन सक्छ । जुत्ताचप्पल साइजमा  उपयुक्त भए त गजब भइहाल्यो, अनुपयुक्त र अनफिट हुँदा चाहिँ समस्या उब्जिन सक्छ । खुट्टाका औंलाका बीचमा फंगल संक्रमण, कमर, घुँडा र नली खुट्टामा दुखाइलगायत हुन सक्छ । तर अनफिट जुत्ताचप्पलका कारण हुने समस्या यत्तिमै रोकिँदैन । ‘गर्दनको हाड दुख्ने (स्पोन्डुलाइटिस), ढाड खिइनेजस्ता समस्यासमेत देखिन सक्छ,’ हाडजोर्नी विशेषज्ञ डा.गोपेश ठाकुर भन्छन् । जुत्ताचप्पलले हाम्रा खुट्टा जोगाउने भइहाले, शरीरको तौल थेग्न पनि सघाउँछन् । उपयुक्त नापका आरामदायी जुत्ताचप्पल लगाउँदा शरीर सन्तुलनमा रहनुका साथै थकाइ पनि अनुभव गर्नु पर्दैन । डा. ठाकुरका अनुसार, जुत्ताचप्पलले शरीरको आफ्नो र आफूमाथि लादिएको अतिरिक्त भारलाई शारीरिक संरचनामा प्रभाव नपर्ने गरी खुट्टाका पञ्जामा विभाजित गरिरहेका हुन्छन् । तर यिनै जुत्ताचप्पल खुट्टाका लागि अनुकूल नहुँदा पाइने दुःख कम छैन ।

विज्ञहरूका अनुसार अनुपयुक्त जुत्ताचप्पलले खुट्टाको बूढीऔंला सुन्निने, मांसग्रन्थी बढ्ने, खुट्टाका औंला स्थायी रूपमा तलतिर खुम्चिने वा फर्किने (ह्यामर टो), ससाना हाड भाँचिने, मांसपेशी खुम्चिनेजस्ता समस्यासमेत हुन सक्छन् । खुट्टा ठूला भएकाहरूले कस्सिएका जुत्ता बूढीऔंलाको जोर्नीको हाड बढ्ने, ह्यामर टो हुने सम्भावना हुन्छ । जुत्ता अनुपयुक्त हुँदा कसैकसैलाई खुट्टाका औंलाछेउ दुख्ने हुन्छ । मेटाटासेल्जिया भनिने यो समस्यामा पञ्जाको अगाडिको खण्ड सामान्यको दाँजोमा बढी चौडा हुन्छ, औंला पनि भित्रतर्फ मोडिएको हुन्छ । यस्तो भएका बेला कहिलेकाहीँ औंलामा घाउसमेत हुन्छ । डा.ठाकुरका अनुसार, खुट्टाका पञ्जा चौडा भएकाहरूले चौडै मुख भएका जुत्ता लगाउने गर्नुपर्छ । पञ्जा साना भएकाहरूले फिट हुने जुत्तामात्र पहिरिनुपर्छ । जुत्ताचप्पल फेसनअनुसारको भन्दा पनि खुट्टाको आकारअनुरूपको किन्नु स्वास्थ्यका लागि उपयुक्त हुन्छ । आफ्ना खुट्टाको ख्याल नगरी फेसनको नाममा जस्तोसुकै जुत्ताचप्पल लगाउने गर्दा पछि आफैंले दुःख बेसाउनुपर्छ । व्यक्ति विशेषका खुट्टाको आकार फरक भएजस्तै आवश्यकता पनि भिन्न हुने औंल्याउँदै डा. ठाकुर भन्छन्, ‘यसैले तपाईंका साथीभाइको लागि उपयुक्त भएका जुत्ता तपाईंलाई अनुपयुक्त हुन सक्छ ।’ कुनै बेलाका लागि उपयुक्त ठानेर किनिएका जुत्ताचप्पल केही समयको उपयोगपछि त्यो विशेषताविहीन हुने गर्छन् ।

त्यसैले समयसमयमा जुत्ताचप्पल फेर्नुपर्छ । सामान्यतः ६ महिनादेखि एक वर्षसम्म लगाइसकेपछि जुत्ताचप्पल फेर्नुपर्ने डा.ठाकुर सुझाउँछन् । जुत्ताचप्पल कहीं च्यातिए वा कुनै प्रकारको असामान्यता हुन थाले तुरुन्त परिवर्तन गर्नुपर्छ । ‘जुत्ता कस्ता हुनुपर्छ भने, आफूले जुत्तालाई बोकिरहेजस्तो अनुभूति हुनु भएन,’ वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.रामकेवल साह भन्छन्, ‘जुत्ता लगाउँदा खुट्टामा अनावश्यक दबाब पर्नुहुन्न । जुत्ताको भित्री भागमा गद्दाजस्तो हुनुपर्छ, नरम । त्यस्तो गद्दा जुत्ताको कुर्कुच्चातिर सबैभन्दा बढी हुनुपर्छ ।’ सामान्यतः जुत्ता बढी कस्सिएको वा बढी खुकुलोसमेत हुनु हुन्न । जुत्ता खुट्टाको सामान्य आकारसँग मिल्ने खालको हुनुपर्छ । खुट्टाको आकार परिवर्तन गर्ने वा दबाब बढी दिने खालका जुत्ता लगाउनु हुन्न । ‘जुत्ताभित्र औंला, जोर्नीहरू पूरै चल्न पाउनुपर्छ,’ डा. साह भन्छन् ।

बालबालिकाका जुत्ताचप्पलमा सावधानी 

बालबालिकाका लागि जुत्ताचप्पल किन्दा तपाईं झन् बढी चनाखो हुनुपर्छ । बालाबलिकाका खुट्टाको हाड दिनानुदिन विकास भइरहेको हुन्छ । खुट्टाका तन्तुहरूसमेत कोमल हुन्छन् । त्यसैले बालबालिकालाई कस्सिएका जुत्ता लगाउनु हुँदैन । बालबालिकाका खुट्टा छिट्टै बढ्ने भएकोले नियमित अन्तरालमा जुत्ता बदलिदिनुपर्छ ।  ‘बालबालिकाले उपयुक्त जुत्ता लगाउन पाएनन् भने उनीहरूका खुट्टामा जीवनभरका लागि असर देखिन सक्छ,’ डा. ठाकुर अभिभावकहरूलाई सावधान गराउँछन्, ‘यस्तो भएमा घुँडा बांगिने समस्या हुन सक्छ ।’

हाई हिल भरसक नलगाऔं

कतिपय महिला हाई हिल लगाउन रुचाउँछन् । तर, हाई हिल ढाडको हाडका लागि निकै हानिकारक हुन्छ । हाई हिलले शरीरको गुरुत्व केन्द्रमा परिवर्तन गर्छ । शारीरिक तौलको वितरणलाई समेत प्रभावित गर्छ । बढी समयसम्म हाई हिल लगाउने महिलाको हाडको ढाँचामा कतिसम्म परिवर्तन हुन्छ भने, उनीहरू नांगा खुट्टा वा फ्ल्याट जुत्ताचप्पल लगाएर हिँडे कम्मर र खुट्टा दुख्न थाल्छ । ‘विभिन्न अध्ययनले करिब ८८ प्रतिशत महिला गलत साइजका जुत्ताचप्पल लगाउँदा समस्यामा पर्ने गरेको देखाएका छन्,’ डा. ठाकुर भन्छन् ।

बूढापाकालाई चप्पलले जोखिम

चोटपटकको समस्याले अस्पताल भर्ना हुने बूढापाकामा गरिएको एउटा अनुसन्धानअनुसार उनीहरूमध्ये धेरैजसो चप्पल लगाएका कारण घरको बाथरुममा वा भ¥याङबाट चिप्लिएका थिए । डा. ठाकुर उक्त अनुसन्धानलाई औंल्याउँदै भन्छन्, ‘घरमा लगाइने रबरका चप्पलले गर्दा बूढापाकालाई सबैभन्दा बढी खतरा हुने गर्छ । प्रौढ व्यक्तिहरूलाई राम्ररी फिट हुने र अलिकति हिल भएका जुत्ता लगाउने गर्नुपर्छ ।’

कसरी रोज्ने उपयुक्त जुत्ताचप्पल ?

जुत्ताचप्पल रोज्नु पनि एउटा कला नै हो । तर जुत्ता रोज्दा केही नियमको पालना गरे यो तपाईंका लागि उपयुक्त हुन सक्छ । अमेरिकन अर्थोपेडिक फुट एन्ड एंकल सोसाइटीले यसका लागि केही टिप्ससमेत दिएको छ । सोसाइटीका अनुसार व्यक्ति विशेषको खुट्टाको आकार र आकृति समयसँगै परिवर्तन भइरहन्छ । यसैले तपाईं एउटा निश्चित आकारको जुत्ता लगाउनुहुन्छ भन्ने कुरामा भर नपर्नुस् । त्यो आकार तपाईंका लागि सधैँ पूर्ण उपयुक्त नहुन सक्छ । धेरैजसो व्यक्तिको एउटा खुट्टा अर्कोको दाँजोमा लामो हुन्छ । यसैले तपाईं आफ्ना दुवै खुट्टा नाप्नुपर्छ र जुत्ता लामो खुट्टामा फिट हुने गरी रोज्नुपर्छ । जुत्ता साँझतिर किन्नु उपयुक्त हुन्छ । यो समयमा खुट्टाको आकार विस्तार भएको हुन्छ । यसैले साँझमा नापेको खुट्टाको आकार दिनभरका लागि उपयुक्त हुन्छ । कपडाजस्तै जुत्ताभित्र लेखिएको नम्बर अर्थात् आकार ब्रान्डअनुसार फरकफरक हुन सक्छ । यसैले उपयुक्त जुत्ताको छनोट गर्दा नम्बरमा भर पर्ने गर्नुहुन्न । जुत्ता तपाईंका खुट्टामा आरामदायक रूपमा फिट भएको सुनिश्चित गर्नुस् । जुत्ताको आकार हेर्नुस्, यो तपाईंका खुट्टाको आकारजस्तै हुनुपर्छ ।

जुत्ता लगाउँदा लगाउँदै केही समयमा फैलिएला भनेर नठान्नुस् । यस्तो गर्दा तपाईंले किनेको जुत्ता पछि पनि राम्ररी फिट नहुन सक्छ । किन्ने बेला नै तपाईंका खुट्टामा जुत्ता राम्ररी फिट भएको हुनुपर्छ । तपाईंका खुट्टाका औँला फिट हुन जुत्तामा पर्याप्त गहिराइ हुनुपर्छ, मुख्य रूपमा यदि तपाईंलाई ह्यामर टो वा अर्को समस्या छ भने । औंला नजिक साँघुरिएका जुत्ताले दलेर घाउ बनाउन सक्छ । किन्ने बेला जुत्ता लगाएर उभिनुस् र तपाईंको खुट्टाको सबैभन्दा लामो अर्थात् माझी औंला र जुत्ताको किनाराबीचको अन्तर तपाईंको एउटा औंलाको चौडाइ जति नै छ भनेर सुनिश्चित गर्नुस् ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाँझोपनको समाधान के ?
Next article मन्द बिष हो जंक फुड

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133997
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

128
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web