लोकराज भट्ट
हरेक मानिस सुविधाभोगी बन्दै गएको छ । अझ सहरमुखी बन्ने स्वभाव जन्मजात जस्तै बनेको छ । त्यसमा पनि ठूलो लगानी गरेर डाक्टर बनेकाहरु अधिकांश व्यक्ति सुविधाभोगी छन् । दुःखी गरिबको सेवा गर्ने पेशा भए पनि उनीहरु राजधानीमै सेवारत हुन चाहन्छन् । प्राइभेट प्राक्टिस गरेर दाम र नाम दुबै कमाउन सकिने भएकाले पनि उनीहरु साम, दाम सबै लगाएर पनि काठमाडौ केन्द्रित हुन् चाहन्छन र हुन्छन् । अधिकांस डाक्टरको बुझाईमा राजधानी बाहिर जानु भनेको सजाय पाउनु हो । बरु जागिर छोड्न तयार हुने तर राजधानी बाहिर जान नचाहने डाक्टरको कमी छैन् । सरकारी सेवामा कार्यरत कर्मचारीको तुलनामा बाहिर जान अटेरी गर्ने जात डाक्टर नै हो भन्ने पर्न थालेको छ । करकापले गएछन् भने पनि कसरी हुन्छ चाँडो मिलाएर फर्किहाल्ने चलन जस्तै भएको छ ।
राजधानी बाहिरका अस्पताल अथवा स्वास्थ्यकर्मी अधिकांश समय चिकित्सक बिहीन बनेका समाचार त्यत्तिकै बनेका होइनन् । यो रोग जुनियर डाक्टरहरुमा मात्र होइन सिनियरमा पनि उत्तिकै छ । तर त्यही भिडमा यस्ता चिकित्सक पनि छन् जस्ले आफ्नो सेवाको ३८ वर्ष राजधानी बाहिरै विताएका छन् । सुब्बास्तरको रेडियोग्राफरबाट स्वास्थ्य सेवा सुरु गरेर एकै पटक स्वास्थ्य मन्त्रालयको सबैभन्दा माथिल्लो बाह्रौ तह (प्रमुख विशेषज्ञ) मा बढुवा भएपछि मात्र डा.सुशील प्याकुरेलले राजधानी टेकेका छन् । औलामा गन्न सकिने त्यस्ता चिकित्सक मध्ये एक हुन डा.प्याकुरेल । ३८ वर्ष गाउँ गाउँमा विताएर उनी हालै मात्र स्वास्थ्य मन्त्रालय छिरेका छन् ।
जागिरका दौरानमा डा. प्याकुरेलले २० भन्दा बढी जिल्लामा त जिल्ला जनस्वास्थ्य प्रमुख भएर सेवा गरे । कत्ति जिल्लामा मेडिकल अधिकृत भए । पछिल्लो पटक उनी मध्यपश्चिम, पूर्वाञ्चल र अन्तमा सुदूरपश्चिम क्षेत्रिय स्वास्थ्य निर्देशनालको निर्देशक भएर जिम्मेवारी सम्हाले । उनलाई प्राथमिक स्वास्थ्य केन्द्रदेखि जिल्लासम्म, अञ्चल अस्पतालदेखि क्षेत्रिय निर्देशनालयसम्मको सबै अनुभव छ । भोगाइ छ । त्यहाँ हुने गाह्रो साह्रो थाहा छ । स्वास्थ्यमा कार्यरत दातृ निकायसँग कसरी जनताको हितमा काम गर्न सकिन्छ भन्ने अनुभव छ । जनता के चाहन्छन ? त्यो थाहा छ । डा. प्याकुरेलले देशका दर्जनौ जिल्लामा काम गरेकाले कुनै पनि स्वास्थ्यकर्मीलाई उनका बारेमा चिनाउनु पर्दैन । अहिले देश संघीयतामा गएको छ । स्वास्थ्य क्षेत्रलाई पनि संघियतामा लैजानु पर्ने चुनौति छ । स्वास्थ्य मन्त्रालयको नेतृत्वका लागि अब डा. प्याकुरेल जस्तै राजधानी बाहिरको नेपालको स्वास्थ्य बुझेको व्यक्ति आवश्यक छ । डा. प्याकुरेलले भद्रपुरमा विसं २०३६ सालमा रेडियोग्राफरबाट जागिर सुरु गरेका हुन । काम गर्दै जाँदा उनले अध्ययन विदामा एबबीबीएस उतीर्ण गरे २०४६ सालमा । डाक्टर भएपछि उनी भोजपुर, दोलखाको जिरी, तनहूँ, तेह्रथुम, नुवाकोट, गोर्खा, संखुवासभा, विराटनगर, सुर्खेत, दिपालय लगायत देशका अधिकांश जिल्लामा सेवा गरे । उनले देशका दर्जनौ जिल्लामा रहेर सेवा गरिसकेका छन् ।
७५ वटै जिल्ला पुग्ने औंलामा गन्न सकिने डाक्टरहरु मध्ये एक प्याकुरेल पनि हुन । उनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को छात्रवृतिमा थाइल्याण्डको बैंककबाट एमपीएच गरेका हुन । डा. प्याकुरेल पढाइ र सेवामा सँधै अब्बल ठहरिए । कहिले पनि उनको फाइल बढुवा भएन । सँधै खुल्लाबाट बढुवा हँुदै गए । अहिले मात्र उनी बाह्रौं तहमा फाइल बढुवामा परेका हुन्, त्यो पनि प्रकृयागत वाध्यताले । किनकी बाह्रौं तहमा फाइल बढुवा मात्र हुन्छ । उनलाई योभन्दा पहिले काठमाडौं आउन नपाएकोमा कुनै गुनासो छैन । भन्छन, ‘डाक्टर दुई किसिमका हुन्छन, एक पैसा कमाउनका लागि, अर्को सेवा गर्न ।’ सेवा गर्न चाहनेमध्ये अधिकांशलाई राजधानीको मोह नहुने उनको ठम्याइ छ । काठमाडौंमा बसेका सबै पैसामुखी हुन भन्ने उनको मान्यता भने होइन । तर धेरै जसोको ध्याउन्न यही हुने बुझाइ उनको छ । गाउँबाट पढ्दै माथि उठ्दै यहाँसम्मको यात्रा पार गरेकोले उनलाई बाहिर बस्नै आनन्द आयो । भन्छन, ‘मलाई सायद दायित्वबोध बढी भएर होला की ?’ आफू बाहिर बस्दा खुशी भएको उनी बताउँछन् । दुर्गममा बसेर जनताको सेवा गरेकै परिणाम स्वरुप राज्यबाट सम्मान पाएको, जनताको आशिर्वाद पाएको र सबैभन्दा ठूलो त आत्मसन्तुष्टि पाएको डा.प्याकुरेल बताउँछन । दुर्गममा काम गरेकै नम्बरका कारण अहिले आफू स्वास्थ्य सेवाको सबैभन्दा माथिल्लो आहोदामा पुगेकोमा उनलाई गर्व छ ।
अब उनको एउटै इच्छा छ, मन्त्रालयको सचिव भएर माथिदेखि तलसम्मको जनतामूखी स्वास्थ्य नीति बनाएर लागू गर्ने । त्यसको लागि आफू उपयुक्त भएको उनको दावी छ । आम जनताको स्वास्थ्यमा सुधारकालागि पनि अबको स्वास्थ्य सचिव यस्तो व्यक्ति हुनु पर्छ, जसले केन्द्रदेखि गाउँ स्तरका समस्या नजिकबाट बुझेको होस । स्थानीय निकायसँग सहकार्य गर्नसक्ने र दाताबीच मिलेर काम गर्न सक्ने । संविधानले स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा राखेर मात्र नहुने बताउँदै डा. प्याकुरेल त्यसलाई व्यवहारमा उतार्ने नेतृत्वकर्ता सचिव हुनुपर्ने मत राख्छन । स्वास्थ्य क्षेत्रमा केन्द्र, क्षेत्र र जिल्ला बीचको दुरी कसरी कम गर्न सकिन्छ भन्ने राम्रो अनुभव डा. प्याकुरेलसँग छ । उनीसँग गाउँ, जिल्ला र क्षेत्रको अनुभव छ । त्यसका लागि उनको मान्यता छ, हरेक प्रदेशमा रहने निर्देशनालयलाई पावरफूल बनाउनु पर्छ । सबै कुरामा केन्द्रको मुख ताक्ने प्रवृति हटाउनु पर्छ । आफू बसेको ठाउँको स्वास्थ्य सेवा सुधार पनि गरेका छन् उनले । पछिल्लो २ वर्ष उनी सुदूरपश्चिमको निर्देशक बसे । त्यहाँको स्वास्थ्य अवस्था अन्य क्षेत्रको भन्दा धेरै माथि उठाउनमा उनको भूमिका ठूलो रह्यो । सुदूरपश्चिममा छाउपडी र बालविवाहका कारण केही समस्या भए पनि समग्र स्वास्थ्य अवस्थामा सुधार आएको उनको दावी छ ।
Leave a Reply