पाल्पा, २९ मंसिर : नेपालमा स्वास्थ्य उपचार पद्दतिमा आधुनिक प्रविधिले जटिल रोगको उपचार छिटो, छरितो र भरपर्दो बन्दै गएको छ । नयाँ प्रविधिले नेपालमा चिरेर शल्यक्रिया गर्ने चलन विस्तारै हराएको र एउटै प्वालबाट शल्यक्रिया हुने काम अघि बढेको छ ।
नेपाल शल्य चिकित्सक समाजको ११औँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा पाल्पा, तानसेनमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष तथा प्रा डा सिएल भट्टचनले विश्वले अवलम्बन गरेको प्रविधि नेपालको शल्य चिकित्सा क्षेत्रमा अवलम्बन गर्ने र देशका जनताले पाउने स्वास्थ्य सेवालाई निरन्तरता प्रदान गर्दै लैजाने मूल उद्देश्य रहेको बताउनुभयो । उहाँले पहिलेजस्तो एउटै चिकित्सकले सबै बिरामीलाई उपचार गर्नुपर्ने बाध्यता हटेको र सम्बन्धित विषय अध्ययन गरेको चिकित्सकले मात्र सम्बन्धित क्षेत्रका बिरामीको उपचार गर्ने बताउनुभयो ।
समाजका महासचिव रुपेश मुखियाले नेपालको स्वास्थ्य प्रणाली व्यवस्थित तथा समयसापेक्ष वृद्धि गर्दै लैजानका लागि २१औँ शताब्दीमा नयाँ प्रविधिको प्रयोग नेपालमा समेत बढेको बताउनुभयो । उहाँले नेपालमा जटिल रोगको उपचार नयाँ प्रविधिका कारण सहज बन्दै गएको बताउनुभयो । लुम्बिनी मेडिकल कलेजका अध्यक्ष गोपाल पोखरेलले जटिल रोगको उपचारमा बिरामी आर्थिक समस्या भोग्न परेकाले बीमाबाट राज्यले बिरामीको समस्या हल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले नेपालको स्वास्थ्य उपचार क्षेत्र महँगो बन्दै गएकाले गरिब तथा विपन्न समुदायका मानिसलाई उपचारमा समस्या हुने भएकाले समाधानतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
चिकित्सक राष्ट्रिय सम्मेलन आजदेखि
नेपाल शल्य चिकित्सक समाजको ११औँ राष्ट्रिय सम्मेलन तानसेनको लुम्बिनी मेडिकल कलेज प्रभाषमा आजदेखि शुरु हुँदैछ । भोलिसम्म चल्ने सम्मेलनमा नेपालभरका २०० भन्दा बढी शल्य चिकित्सकको सहभागिता रहनेछ । सम्मेलनमा शल्य चिकित्सा विधाअन्तर्गत रहेका जनरल सर्जरी, न्यूरो सर्जरी, ग्यास्ट्रो सर्जरी र युरोलोजी सेवा आदि विषयमा ३२ वटा आमन्त्रित प्रवचन, ११ वटा अवार्ड पेपर, ३६ वटा प्रिपेपर र १६ वटा पोस्टर डिस्प्ले गरिनेछ । त्यस्तैगरी दुईदिने पूर्ण शैक्षिक तथा प्राविधिक विषयगत वर्कसपले नेपालभित्र यस विधामा कार्यरत प्राध्यापक, सह–प्राध्यापक, उपप्राध्यापक तथा आवासीय चिकित्सकलाई नयाँ प्रविधि बारेमा जानकारी हुनेछ ।
Leave a Reply