डा. सञ्जय गौतम
मानव शरीरमा भएका विभिन्न अंगहरूमध्ये पेटमा अवस्थित प्याङक्रियाज नामक अंगले इन्सुलिन आवश्यकताअनुसार उत्पन्न गर्न नसके वा इन्सुलिनले राम्ररी काम गर्न नसकेको अवस्थामा मधुमेह देखा पर्दछ । हामीले खाएको खानाबाट खानाको परिकारअनुसार चिनी उत्पादन हुने गर्छ । शरीरको रगतमा भएको उक्त चिनीको मात्रालाई नियन्त्रण गर्न नसक्ने अवस्थालाई मधुमेह भनिन्छ । मधुमेह नसर्ने रोग भए पनि एक हो । तर यसलाई नियन्त्रणमा राख्न भने सकिन्छ । मधुमेहबाट बच्न हरेक व्यक्तिले पाँचवटा सूत्र पालन गर्नुपर्छ ।
१. जीवनशैली परिवर्तन
मनमोजी रूपको जीवनशैलीलाई मधुमेहले स्विकार्दैन । खानपान, रहनसहन बानी व्यहोरामा तपाईंले केही परिवर्तन गर्नैै पर्ने हुन्छ । तर यसको अर्थ कठोर जीवनयापन गर्नुपर्छ भन्ने होइन । सबैभन्दा ठूलो कुरा मधुमेह रोगलाई सहज रूपमा स्वीकार्नुपर्छ । मधुमेही रोगीले पनि नियमित औषधि सेवन गरी परिवर्तित जीवनशैलीको कारणबाट मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ । योगाभ्यास, सहनशील, सादा जीवन र उच्चविचार शैलीले मधुमेह नियन्त्रण गर्न सकिन्छ । चिन्ता र भयमुक्त वातावरणमा हाँस्ने हँसाउने मनस्थितिमा रहनु मधुमेहीका लागि लाभदायक हुन्छ ।
२. आहार
मधुमेहीले आहारमा विशेष ध्यान दिनुपर्छ । नियमित निर्धारित समयमा खाना र खाजा खानुपर्छ । लामो समयस
म्म नखाइकन भोको बस्नु हुँदैन । चिनी र चिनी भएका खाद्यवस्तु जस्तै चिनी हालेको चिया वा कफी, हर्लिक्स, कोकाकोला, पेप्सी, आदि खानु हँुदैन । यसका अलावा आइसक्रिम, मह, चकलेट, सक्खर, चाकु, जाम खानु हुँदैन । खाना खाँदा एकैपटक टन्न नखाई दिनको तीन चारपटक खाना खाइरहनुपर्छ । एकपटक भात र अर्को पटक रोटी खानु राम्रो हुन्छ । खानपानमा विचार गर्न नसकिए औषधि सेवनले मात्र यसबाट नियन्त्रणमा राख्न सकिँदैन ।३.
औषधि सेवन
मधुमेहको किसिमअनुसार टाइप एक र दुईमा चिकित्सकको सल्लाहमा मधुमेहीले औषधि सेवन गर्नुपर्छ । इन्सुलिन इन्जेक्सन लिनुपर्ने भएमा इन्जेक्सन लिन्न भन्नु हँुदैन । खाने औषधिजस्तै बानी परेपछि इन्सुलिन लिन झन्झट महसुस हुँदैन । चिकित्सकसँंग नियमित परामर्श लिइरहनुपर्छ । समयसमयमा रगत परीक्षण गराई रहनुपर्छ । चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ । औषधि बीचमा छोड्नु हँुदैन । अब त निको भइसक्यो भन्दै औषधि खान छोड्नु हँुदैन ।
४. व्यायाम
व्यायामले शरीरमा भएको इन्सुलिनको उचित प्रयोग हुन्छ । मधुमेहीले व्यायाम गर्दा आफ्नो शरीरको क्षमताअनुसार हलुका व्यायाम मात्र गर्नुपर्छ । मौसमअनुसार बिहान आधा घन्टादेखि एक घन्टासम्म नरोकी एकै गतिमा फूर्तिसाथ फटाफट हिँड्नु मधुमेहीका निमित्त राम्रो व्यायाम मानिन्छ । व्यायाम भने बीचमा छुटाउनु हुँदैन । यसले मधुमेहीलाई आत्मविश्वास प्रदान गर्छ ।
५. नियमित रक्त परीक्षण
नियमित रक्त परीक्षणले मधुमेहीहरूको उपचारमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । मधुमेहीहरूले यदि रगतमा चिनीको मात्रा घटबढ छैन भने १५ दिनमा एकदेखि दुई पटकसम्म रक्त परीक्षण गर्ने तर रगतमा चिनीको मात्रा घटबढ भइरहेमा कम्तीमा हप्ताको दुई पटक अनिवार्य रक्त परीक्षण गर्नुपर्छ ।
Leave a Reply