पदमराज जोशी,
तिनवटै तहको निर्वाचनपछि देश संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । संविधानले प्रदान गरेको स्वास्थ्य अधिकारलाई व्यवहारमा उतार्ने जिम्मेवारी अब जनप्रतिनिधिको काँधमा आएको छ । केन्द्रीय अस्पतालबाहेकका अधिकांश स्वास्थ्य संस्थाको सञ्चालन र व्यवस्थापन गर्ने अधिकार संविधानले स्थानीय सरकारलाई सुम्पेको छ । त्यसका लागि बजेट पनि स्थानीय निकायलाई नै सुम्पेको छ । पहिलो पटक स्वास्थ्य संस्था स्थानीय सरकारलाई जिम्मा दिएपछि केही समस्या देखिएका छन् । विशेषगरी औषधि र उपकरण समयमा खरिद गर्न नसक्दा देशका अधिकांश स्वास्थ्य संस्थामा औषधि अभाव देखिएको छ ।
औषधि खरिद गर्नका लागि स्थानीय निकायले बजेट विनियोजन गरे पनि समयमै औषधि खरिदका लागि टेन्डरलगायतका प्रक्रिया समयमा नथाल्दा अहिले देशका अधिकांश भागमा औषधि अभाव देखिएको छ । स्थानिय निकायले औषधि खरिदका लागि बजेट विनियोजन गरे पनि थोरै रकम बिनियोजन गर्दा र समयका खरिद प्रकृया नथाल्दा आवश्यकता अनुसार औषधि खरिद गर्न सकिएको छैन । यो समस्या देशका अधिकांश जिल्लाका स्थानीय स्वास्थ्य चौकीदेखि जिल्ला अस्पतालसम्म देखिएको छ । यस किसिकका समस्याको हल तत्कालका लागि मात्र खोजेर पुग्दैन । फेरि बेलैमा ध्यान नदिने हो भने औषधि, उपकरण अभावका घटना भइरहने छन् । विकास भनेको बाटोघाटो, स्कुल भवन बनाउने र पुल बनाउनु मात्र होइन । शिक्षा, स्वास्थ्य र वातावरणमा ध्यान दिन सकिएन भने विकासले मृत रूप लिन पाउँदैन । स्वास्थ्य र शिक्षामा हुने लगानीलाई पनि विकास मान्नु पर्दछ । स्वस्थ व्यक्तिले मात्र देश विकासमा टेवा दिन सक्छ । त्यसलै अब स्थानीय निकायको दायित्व भनेको बिरामीका लागि बढी शैयाको अस्पताल निर्माण गर्नु मात्र होइन । कुनै व्यक्ति पनि रोगी हुनै नदिने समाज निर्माण गर्नु जरुरी छ । त्यसका लागि स्थानीय सरकारले विज्ञहरूको परामर्शमा दीर्घयोजना अगाडि सार्नु पर्छ ।
केन्द्र सरकारले पनि जिल्ला अस्पतालहरूलाई स्थानीय निकाय मातहत राख्नुभन्दा त्यसको व्यवस्थापन आफैंले गर्नुपर्ने अवस्था छ । स्वास्थ्य चौकीसम्मको व्यवस्थापन स्थानीय निकायलाई दिए पनि अहिले नै जिल्ला अस्पतालको जिम्मेवारी स्थानीयलाई दिँदा समस्या देखिएको छ । जिल्ला अस्पतालसम्मको व्यवस्थापकीय र आर्थिक जिम्मेवारी केन्द्र सरकारले नै लिनु पर्छ । स्थानीय सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ । सडक बनाउने काम मात्र विकास हो निरोगी समाज निर्माण गर्नु विकास होइन भन्ने मानसिकताबाट मुक्त हुनु जरुरी छ । व्यक्ति स्वस्थ्य भए परिवार स्वस्थ्य हुन्छ, परिवार स्वस्थ्य भए समाज स्वस्थ्य हुन्छ र स्वस्थ्य समाज भए मात्र देश स्वस्थ्य हुन्छ । स्वस्थ्य देशले मात्र विकासमा फड्को मार्न सक्छ ।
Leave a Reply